• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संस्मरणः जीवन भोगाइका ती दिन




खडानन्द शर्मा

त्यो भन्दा अगाडीका कुनै घटना यादछैन मलाई । म ठिक २ बर्ष पुगेकै महिना तीस साल फागुन हो, हाम्रो घर डाडीगाउँमा मान्छेहरू एक एक गर्दै थपिदै गए । घर अगाडि देखि पर डाँडासम्म सेतो नैनसुतको कपडा फिजियो, के कारणहो मलाई थाह थिएन । अरू ठुला मानिसहरूमाझ शोक थियो होला तर हामी केटाकेटीलाई त्यसको मतलवै भएन ।टोल भरिका भुराभुरी करिव पाँच सात जनालाई हाम्रो काकाले खेरखार पारेर तल माहिला बाजेको घरको भङमुनि हुल्नु भयो । झ्याँई झ्याँई दमाहा बज्न थाले । कारण के रहेछ भने, मरेको मानिस देख्यो भने बच्चा तर्सन्छन र सातो मिसिन्छ । त्यस दिन मेरो बज्यै बितेकोले यो सबै भएको रहेछ । बोई भए नभएको मेरो मानसपटलमा छैन । उहाँको अनुहार पनि मलाई याद छैन । म जन्मेर थाह पाउने भएदेखिन यो नै पहिलो घटना हो ।

त्यसै दिन रहेछ मेरो ठूलो बहिनी जन्मेको पनि । उ जन्मे पछि मेरो पनि आमासँग रहने हक खोसिएछ र मेरो साथी बाजे हुनुभयो । म बाजेसँगै खाने खेल्ने सुत्ने गर्न थालेँ । बाजेलाई हामी बुबु भन्थ्यौँ । हाम्रो संयुक्त परिवार थियो । परिवार मिलेकोले होला गाईवस्तु पनि धेरै पालेका चाँपा र लाङसीवाङ धानखेत पाखोमा थर्पु डिमुर गैरा, डाँरा डाडीगाउ, मङ्रापानी, भलचिरा लेक चँयारी र ताँवले यतिठाउँ सम्पति डुलाउनु पर्थ्यो । पछि ३५ सालमा हाम्रा बाबाहरू ३ भाइ छुट्टिँदा प्रत्येकलाई २र२ वटा र एउटा बुबुको भागमा भैंसी, एकएक हल गोरू , आठदस आठदश बाच्छाकुछा सितका गाई, अन्नका भकारीका हिसाबले र नेपालगन्ज हाटबाट बोकेर ल्याएको नुन बाईस पाथीका दरले बाँडेको म थाह पाउँछु ।

प्रत्यक घरमा मौरीका ओछा, बार्दली भरी टनक्कै रूख खोपेर बनाईएका घार । घरको भण्डार कोठा भित्र ठूलाठूला माटोका मटिया भरी बर्षौँ जम्मा पारी राखेको घीउजस्तो दानादार मह । बाबाहरूको एकताले भरिएको पौरख । त्यत्रो ठूलो परिवारले खाने र गाईवस्तुलाई दिने दाना पिस्न जानू पर्ने साँखखोला घट्ट । तीन आँख्ले र किटकरी तारा हेरेर रातको प्रहर थाहा पाउँदै उज्यालो हुनु पहिल्यै ८र१० पाथी पिसेर अर्नी खान घर ।आमैहरूले राती राती हामी भाउहरूलाई पिठ्युमा बोकेर धानकुट्न ढिकीबोट । उज्यालो नहुँदै धान कुटेर चुलोदैलो पोत्न घर । आजभोली त सम्झँदै अर्कै लागेर आउने क्या !

थर्पुको घरजग्गा साहिँलाबा (कान्छा ठूलै भएका बितेकाले साँहिला भन्थ्यौँ) को भागमा डाडीगाउँ २ ठाउमा ठुलोबा र हाम्रो बाबाको भाग चाँपाको खेतमा सरकार लागेर तरकारी फारामको कब्जामा, लाङसीबाङको खेत ३ भाग बराबर यसरी भयो बाँडफाँट । परिवार पनि घट्यो सम्पत्ति पनि छोटो भयो यता प्रत्यक परिवारमा जनसंख्या पनि बढ्यो जमाना पनि आधुनिकतर्फ उन्मुख भयो ।

सबै कुरा सम्पन्न नै जस्तो थियो त्यो बेला । हाम्रो घरमा दुईवटा कुरा अभाव हुन्थ्यो सँधै । एउटा रूपैयाँ पैसा र अर्को लुगा कपडा । मै हुँ भन्नेहरूका घरमा पनि सायद त्यस्तै थियो गाउँघरमा । जसले पचास सय रूपैयाँ अरूलाई मान्छे हेरेर ब्याजमा दिन र अनिकालमा दुईचार मुरी बत्या अन्न लाउन सक्यो, त्यो नै साहुमा गनिन्थ्यो । कसैसँग हजार रूपैयाँको कारोबार भयो भने त्यो हजारिया साहु आहा १११ को पुग्न सक्ने त्यहाँ । साहु घरमा आउने भन्ने बित्तिकै हाम्रा बाजे पनि लक्कम । आफुले कहिल्यै बेसाउन र पैसा कार्न नपरे पनि हाम्रो बाजे साहुमा पर्दैनथे ।

हामी बच्चासँग त झन कहाँबाट आउनु र पैसा कहिलेकाँही काँडा बिझेको सेप्टी झिक्दा बाजेले थैली सुर्क्याउँदा तामाको बीचमा प्वाल परेको ९भुने पैसा० एक पैसा, डाँफेको चित्र अङ्कित दुईपैसा, पित्तलको गाई त्रिशूल अङ्कित पाँच पैसा, धानको बाला र गोरखनाथ लेखिएका चारआाना र आठानाका ढ्याकहरू देख्न पाईन्थ्यो । जसलाई सुकी र मोहर भन्ने गरिन्थ्यो । भारू पाँच दस पैसा र सुकी मोहरहरू पनि बराबर चलनमा थिए । कागजी नोटमा मोरू १ लेखिएका राजा महेन्द्रले काटेका रूपैया बडो जतनका साथ बाजेका बाकसमा रूमालले बेरेर राखिएका हुन्थे ।

अरू आजभोलीका जस्ता विद्युतीय उपकरण कुनै पनि उपलब्ध थिएनन । नेपालगञ्जदेखि बोकेर ल्याएको धागोबाट प्रायजसो घरघरमै बुनेका ठेटुवाको नै सबैजसोको पोशाक हुन्थ्यो । कसैकसैले घरमै कपास लगाई चर्खामा धागो बनाई कपडा बनाउँथे । कपडा बुनेको त मैले देखेन तर ठेटुवाको तान थियो हाम्रो घरमा पनि । विवाह उत्सवमा जाँदा मेला जात्रा जाँदा ठूला मानिसहरूको पहिरण नैनसुत कपडाको सुरूवाल भोटी नैनसुतकै टोपी र १० हात कपडाको पगरी हुन्थ्यो भने घरमा कामकाज गर्दा ठेटुवाकै दमाईदाइले हातैले सिलाएको फेरेभोटो ठेटुवाकै टोपी र लङ्गौटी अनि हुनेखानेहरूको जुम्ली पटुका नत्र ठेटुवाकै पटुका । भाङगोको लोक्ताको वा पुवा (अल्लो) को गादो अनिवार्य । कालापार आवतजावत गर्नेहरूको चाहिँ अरू रंगीन कपडा पनि हुन्थ्यो र खिकावाल धरी पनि प्रचलनमा आईसकेको थियो ।

आईमाईहरूको पोशाकमा उत्सवहरूमा जाँदा लगाउने ठूला वा साना बुट्टा भएको चोली, कालो वा पँहेलो मसुरे छिटको गुन्यु सेतो खिकावाल वा नैनसुतको धरी र माथी नैनसुत वा पापलिन कपडालाई रातो रङमा रङगाई कपाले ९टावेलको रूपमा० अनि माछा वा पानको बुट्टा भएको मलमलको खास्टो । घरमा रहँदा त छँदैछ उहीँ ठेटुवा । प्राय महिलाको काममा जाँदा घलेक गादो पार्ने चलन पनि थियो । एका बिहानै काममा जाँदा मकैका खाजा, सानो आँसी र फर्कदा च्याउ, न्युरो अथवा बारीको तरकारी, पोको पार्न हुने र दिउँसो ग्वाला जाँदा यसो मुख छोपेर ढल्किन खुबै दाउ दिने घलेकले ।

घरमा ओढने ओछ्यान सबैजसोका घरमा अभावै हुने । हाम्रोमा पनि त्यस्तै थियो । ठेट्वाको एकसरो छेउ सिलाएको बर्की हुन्थ्यो भने दोहोरो पाल खप्ट्याएको सिरक । पुस माघमा कतै पाहुना जान नपाए र नआए हुन्थ्यो भन्ने लाग्दथ्यो । गर्मी मैनामा त मान्द्रो गुन्द्री ओछ्याएर टारिन्थ्यो। भेडा पाल्नेहरूको घरमा भने काम्लो ९कम्बल० हुन्थ्यो ।पुसमाघ त कैले जाला झैँ हुने । हिउँ परेकोबेला त झन आधा रात दाउरा बालेर बस्नु पर्ने बाध्यता।

जातीय छुवाछुत त हुनेनै भयो आफ्नै घर भित्र पनि छुवाछुत जब्बर । हामी केटाकेटीले छोएको बा आमा बाजे ठुला मान्छे या जनै हालेको पुरूष र विहे गरेकी महिलाले नखाने । झुक्किएर कतै भान्सामा बच्चा गयो भने त्यो भान्सा रद्द । पुसमाघमा आगोताप्ने केटाकेटीलाई नो चान्स । घरमा प्रायजसो चार पाँचवटा गाई भैंसी दुहुना भै रहने ।

दूधलाई बाहिरको मान्छेदेखि सकेसम्म लुकाएरै राख्ने चलन थियो । ठूलो कराहीमा चुलोमा तताउँदा तताउँदै बाहिरको मान्छे कोही घरमा आयोभने नतातिदै उतारेर ढाकढुक पारिन्थ्यो । अन्धविश्वास यति कि फलानोरफलानीले दूध देखेको हो भैसीले दूध घटायो । चोख्या लायो । त्यसको उपाय फेरि दुहुनजानु अघि डाडुको बीड आगोमा रात्तो हुन्जेल ततायो दूध दुहेर ल्याएको गाबुमा चुर्लुम्म स तेरो चोख्या लाउने घाँटी पड्किन्याए ‘‘ त्यसको मन्त्र।

डाक्टर र अस्पताल झन कहाँहुनु, मैले ६ कक्षा पढ्नेबेला मात्र मेरो कुकरे दाँतको भित्रबाट अर्को दाँत जिउँदारो आएको फाल्न खलंगा गएकोबेला मात्र देखेको डाक्टर गोविन्द विष्टलाई ।

मेरोबाजे अलिअलि नाडीको होरपार पाउने मान्छे, गाउँमा कोही बिरामी परेमा नाडीछाम्न लगाउँथे । उहाँ कि त खानपान विग्रेको कि त लागुभागुले समाएको सल्लाह दिनुहुन्थ्यो । लागू पनि खुबै लाग्ने त्योबेला । मेरो ठुलोबाबा साँच्चिकै काम्ने धामी हुनुहुन्थ्यो । बाहिरबाट मान्छे बोलाउन आउँदा मेरो त धेरै जस लाग्दैन अरूलाई बोलाउ भनेर टार्ने तर घरमै भैँसीले दूध दिएन, उहाँको भाषामा झास्सझुस्स, गोरालागेको मईमसान ले भेट्योभने बाहिरैबाट काम्दै घरभित्र पस्ने । डग डग डग डग घरको थारो हल्लिने गरि काम्दै सुईईईईए सुस्केरा हाले पछि अब यो घरमा अनिष्ट भो भनेर अरू सदस्यले तिलजौँ पाती खोज्न बानी परेका । आहुँ आहुँ जाहेर बाबू भन्न थालेपछी म डरले यिनी ठुलाबा हैननकी जस्तो लाग्ने । फलानी बोक्सीले उठाएको बर्मस्से मसान र गोरालागेको भँयार खपटभै मरयोछ भन्दै थामिए पछि । बल्ल मेरो सास आउने ।

बुबु ग्वाला जान तयार भए पछि म पछिपछि लाग्थेँ । ल बोक झण्डै म जत्तिकै अग्लो भुसपातले तकेको स्याँकु बोक्न बाजेले भने पछि बोक्नै पर्यो । वरपर जताततै अहिलेका जस्ता जग्गा कान्ला थिएनन वनैवन थियो । हेर्ने भनेको दिउँसै लाग्ने बाघ थियो । अSSहै बाजे कुर्लिए पछि वनै थर्किन्थ्यो । ठुलो घाँरोको आवाजले गाईगोरू नदेखिए पनि यतै छन भनेर सहजै अनुमान गर्न सकिन्थ्यो । कुनै अग्लो टाकुरीमा टुक्रुक्कै बसे पछि बाजेले टोपी निकालेर घुँडामा राख्दै मेरा टाउकामा के सकसक गर्छ हेर्दे तो भने पछि आज्ञा पालन गर्न कपालका रौँ एकएक केलाउँदै म हेर्दै जान्छु ।

क्यै भेटिन्नन, अलि हेर । बीच बीचमा बुबुको अ ‘‘ है को ठुलो स्वर सँगै बाजे नातीको गफ हुन्छ । ॐ नमस्चण्डिकायै मार्कणड्यौ वाचः भन । म दोहोर्याउँछु । १० फेरा भन, म त्यसै गर्छु । यद्गुह्यं परमम लोके ‘‘ ‘ फेरि १० पल्ट भन, बुबुले भन भनेपछि भन्नै पर्यो । यो भनेको के हो र किन भनिराख्ने मेरो सोध्ने हिम्मतै परेन । बीच बीचमा मैले बुझ्ने भाषाका कथा र फेरि मैलै नबुझ्ने भाषाका श्लोक ।

कराग्रे बसते लक्ष्मी करमध्य सरस्वती, करमुलेस्थितो ब्रम्हा प्रभाते कर दर्शनम् । यो ५० चोटी भन् ‘बुबुको उर्दी , बिराउँदै सच्याउँदै म । हो यो बिहान उठ्ने बित्तिकै हात हेरेर भन्ने हो । हजुर ‘ मेरो सहमति । लौ गाई गन त कतिवटा छन रु बाजेको प्रश्न एक दुई चार सात आठ दस मेरो उत्तर । धत् यसरी हैन यसरी उहाँको गन्ती सिकाउने तरिका ।

एउटा गाईका दुईटा सिङ दुईटा गाईका कति सिङ रु चारवटाका नि रु हेर्दै गन्दै म । बुढाले गन्ती र दुनोट सिकाएका छन भन्ने मलाई के थाहा ११ अब यति जानिस भने म तँलाई एक डाडु दुधमा आधा डाडु थपि दिन्छु ।एक र आधालाई डेढ भन्छन । डेढ डेढ कति रु मैले अक्षर नचिन्दै भिन्नका हिसाब सिकाई भ्याएछन बुबुले ।

सँगै सुत्दा उठ्दा पनि यो भन उ भन फेरि भन भनी भनी म चार बर्ष पुगुन्जेल चण्डीको दुर्गाकवच खर्र आउने भैगेछ ।
…………………………..
बुबु मेरो निकै मिहिनेती मिहेनतमै विश्वास । घरायसी काम होस या घर बाहिरको । बान्नो लाउने, दार ताछ्ने डोको बर्रयो सुपो मान्द्रो चोयो चेर्तो सबैमा कसैलाई नपत्याउने । माछ्मी,सानचौर, लोरीवाङ, हाँसीवाङसम्मका जजमान पनि र घर गृहस्थी पूरै धानेका । जाँगर कति भाकाहुन म अचेल सम्झन्छु र हुक्किन्छु । त्यो जमानामा पनि पढाइ लेखाइ पनि भयाकै, कसैको आश नमान्ने आफ्नै पौरखमा विश्वास ।

अलि जान्ने टाठाबाठाले लाटासोझालाई घुमाई फिराई ठगठाक गरिखाने जमानामा बुबुले त्यस्तो कैल्यै गरेनन । प्रत्यक्ष राजनीतिमा बाजे कहिल्यै उत्रेनन बरू केही अप्ठेरो पर्दा प्रधानपञ्च र वडा सदस्यहरू राय सल्लाह माग्न बुबु भेट्न आउने, हाटजाँदा गाउभरीका टोलीको नेतृत्व गरि बानियाँलाई ठग्न नदिने र बानियाँबाट माझी पगरी पाउने बाजे । सेरीगाउँ कोलटाकुरा थर्पु घुयलपानी डारीगाउँका एकसय साठी चँयरी गोठका नाईके लिङ्गुहाल्ने चँयरी थानीपानीका देउता बिखुशी भएमा धारधुप अन्छो मन्छो गरि सोझ्याउने डिम्मुर गैरे जेठा बाजे ।

बोद्लाको गादो, जिपाल पटुका कसक्क, त्यैमाथि आफैले बुट्टा कुँदेर बनाई रंगाएको खुर्पेटो, उदिनमा उध्याउँदै नाडीका रौ छुराले झै खर्र ताछ्ने ठूलो आँसी । बोलीमा कडक व्यवहारमा नम्र सिधा नजर हेर्नै नसकिने बुढा । बिहान अँध्यारै ब्यान्तारो नउदाँउँदै उठेर जनै कानमाथी राखि पाईखाना गई गन्मन गन्मन गर्दै न्वाईध्वाई सकेर गायत्री जप्दै आधाघण्टा जति ध्यान । दैनिक शालिग्राम पूजाको शंख तु धु तु धु पारे पछि डिमुरगैरे बाजेले शंख बजाल्या अब उज्यालो हुनलाग्यो भनेर गाउँले बिउँझने गाउँकै अलार्म बाजे ।

उत्तिसको हलुको काठको पातलो फल्ल्योलाई बसुलोले ताछतुछ पारी एकपट्टी समाउने बिँड, बिँडको टुप्पो भुतेले खोलेर डोरी छिराएर खरी झुण्डाउन बनाईएको पाटी तयार भए पछि बाले म तिर हेर्दै बुबुसँग भन्नू भो यसलाई साँक स्कुल हाल्दिनु पर्यो आँखो उघार्ला । गाईखाने विद्या धेरै ता पढाउने हैन २र३ किलास पढाए पनि भयो त । बाजेको स्वीकृति भयो । शैक्षिक सत्र त्योबेला फागुनमा शुरू हुन्थ्यो म त्यसै महिना ठिक चारबर्ष पूरा हुने थिएँ । यो आँखो उघार्ने भनेको के हो रु र साँक कस्तो होला यी दुईवटा कुरा मेरो मनमा खुबै खेलिरह्यो । नियमित स्कुल जानू पर्ने पढ्नु पर्ने मलाई केही थाह थिएन यति मात्र कि बाजे सँग गएर साँक ९साँख० हेरिने भैयो ।

बिहान नयाँ ठेटुवाको घुँडाढाक्ने सम्मको फेरेभोटी, ठेटुवाकै पुरानै लगाईराखिएको टोपी, खिर्रो मसिनो बाटेको भाँगोको लोताको कन्दनी र एकहात लामो लङ्गौटी (जसलाई सभ्य भाषामा पर्धन्नी भनिन्थ्यो) मेरो स्कुले युनिफम तयार भयो । कट्टु हाफपाइन्टको चलन नभएकोले त्यो भन्दा अगाडि भोटी बाहेक केही लगाइन्नथ्यो ।

छड्के धरीमा पगरी गुथी बाजेले पटुका कसेर दलिन माथी कोचेका छालाका ककट्टिएका गोख्खोका जुत्ता निकाल्नु भो । पछाडी कुर्कुच्चाको माथी पट्टि जुत्ताले काट्ने भएकाले जतनका साथ जुत्ता लगाउँदै टालाटुली कोचेर खुट्टा नकाट्ने बनाउनु भो र भन्नू भो ल हिँन। म पनि साँक हेर्न आतुर । कालो मोसोले पोतेर खरी झुण्डाएको पाटी उचाल्दै म अघि लागेँ । बुबु तल हो कि माथि रु दोबाटो भेट्ने बित्तिकै मेरो प्रश्न, माथि हिन माथी बाजेको उत्तर । आधा बाटो हिड्दासम्म म अघिअघि थिएँ । सानो सानो उकालो भेटियो ढाँर बिझेर खुट्टा पनि दुख्न थाले मेरा खुट्टा पाट्टिए बुबु १ बुढाले बोक्छन कि भनेको, लु पछि पछि आइजा भनेर बुबु अघि लागे । करिब १ घण्टामा साँख पुगियो ।

नवराज गौतम प्रधानाध्यापक हुनुहुन्थ्यो । बाजेलाई उहाँले पाउलागी गर्नुभो । मास्सापलाई नमस्कार गर भन्नू भो मैले उपस्थित सबै सरहरूलाई नमस्कार टक्र्याएँ । मास्टर साहेब लाई आजभोली जस्तो सर भनिन्नथ्यो । जानेकाले माड साब नजानेकाले मास्साप । मलाई बाहिरै छाडेर बाजे अफिस भित्र छिर्नु भो । एकै छिन पछि अफिसकोठा बाट ओपेन्द्र पाण्डे सर आएर मलाई पर छेवैको कोठामा लिएर सोध्नु भो तिम्रो नाम के हो रु मैले भनेँ ुखिउरोु ।

पातलो, चाम्रे, ख्याउटे, खिउरो छ भनेर बाजेले मलाई मायाँले मेरो खिउरो नाति भन्नुहुन्थ्यो । हैन तिम्रो नाम खीमलाल शर्मा हो उहाँले भने पछि मात्र मैले मेरो नाम थाह पाएँ । मलाई त्यहि फल्याकमा बसालेर सर बाहिर निस्कनु भो । कोठाको कुनाको छेउमा सानो डिल बनाएर बालुवा भरिएको थियो ओैलाले अक्षर लेख्दै मेटाउदै गर्न सजिलोको लागि त्यो धुलौटो रहेछ । वर पर हेरेँ चिनेको अनुहार कोही छैन मलाई नियास्रो लाग्यो ।

बेर निकै भयो बाजे पनि कता हराउनु भयो १ अरू बानी परेका विद्यार्थी कोहि लेख्छन, कोहि खेल्छन, कोहि चल्छन । मेरा ओठ पिल पिल गर्न थालिगे । बाजेको अँझै पत्तो छैन । थाम्दा थाम्दै मेरो डाको छुटी पो गयो । कुन चाहिँ केटो खुर्र दौडेर अफिस गएर मास्साप फलानो ता रून्छ भन्दिगो । सर आउनु भो मलाई नियास्रोमा झन डर पनि थपियो । घुक्क घुक्क गरिरहेको मलाई के भो भनेर सोध्नु भो मैले क्यै बोलेन । अरूलाई सोध्नु भो यो किन रून्छ रु उनिहरूलाई पनि के थाह म किन रून्छु । मलाई फकाई फकाई सोध्नु भो के भो भन बाबु रु मैले यहि भने पछि यहाँ बसिरहन पर्दैन होला भनेर मसँगै बसिरहेको साथीलाई देखाउँदै भनेँ ‘‘‘ यल्ले हान्यो ।

बिचरा मैले क्यै गरेको छैन मास्साप भन्दा भन्दै आफूभन्दा सानालाई हान्ने तँ बदमास भनेर कानबाट तानेर उसको गालामा सरले चड्काईहाल्नु भो । अब झन भो बर्वाद । त्यत्तिकै दुश्मनी बढ्यो । डरैले मेरो रूवाई बन्द भो । बाजे र हेडसर अफिसबाट निस्कनु भयो । फेरि मेरो डाको छुटिगो । हुन्छ बाजे भोलीदेखि म यसलाई सँगै ल्याउने लैजाने गरूम्ला आज लैजानुहोस हेडसरले भनेपछि म जेलबाट छुटे जस्तै भएँ । बाजेको पछिपछि लुखुर लुखुर घर ‘‘‘‘मेरो पहिलो दिनको पढाइ ।

(शर्मा बालकल्याण मावि झुल्खेत, रुकुमपश्चिममा शिक्षण गर्नुहुन्छ)

Facebook Comments