पछिल्लो समय देशका विभिन्न स्थानमा लकडाउन खुकुलो भए पनि कोरोना संक्रमितको संख्यामा भने उल्लेख्य कमी आउन सकेको छैन । अहिले पनि झण्डै बीस प्रतिशत संक्रमित बाँकी रहेका छन् भने दैनिक दुईदेखि तीन हजारसम्म संक्रमितको संख्यामा बृद्धि भइरहेको छ ।
कोरोना संक्रमणको दोस्रो लहर शुरू भएपछि १६ वैशाखदेखि देशका अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको थियो । संक्रमण क्रमशः घट्दै गएपछि लकडाउन खुकुलो बनाइए पनि संक्रमितको संख्या पुनः बढ्न थालेको प्रति विज्ञहरुले सावधानी अपनाउन जोड दिएका छन् ।
निषेधाज्ञा खुकुलो पार्दै गर्दा मुलुकभर कोरोना संक्रमण दर भने २० प्रतिशतभन्दा माथि नै छ । जोखिम अझै कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड राम्ररी पालना नभए तेस्रो लहर आउन सक्ने चेतावनी जनस्वास्थ्य विद्हरुले दिइरहेका छन् ।
संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले विगतबाट पाठ सिकेर आगामी कदम चाल्नुपर्ने बताउनुभयो । ‘विश्वव्यापी रुपमा अहिले पनि कोरोना भाइरसको महामारी कायमै छ, अन्य मुलुकमा पनि उतारचढाव देखिरहेको छ । उचारचढाव हुने कारक तत्व धेरै छन् । कोरोना भाइरस उत्परिवर्तन भएर नयाँ–नयाँ शक्तिशाली भेरियन्ट देखिने रहेछ । नयाँ–नयाँ उत्परिवर्तनका कारण यसले जनस्वास्थ्यमा गम्भीर समस्या ल्याउँदो रहेछ । त्यसैले नयाँ–नयाँ देखिने भेरियन्टहरुबारे निरन्तर अध्ययन गर्नु आवश्यक छ’– उहाँले भन्नुभयो ।
तर नेपालमा यसको अध्ययन हुँदैन भने खोपमा पनि जोड दिइएको छैन । भेरियन्टको अध्ययनमा सरकारले ध्यान नदिंदा संक्रमण बढेपछि मात्रै आत्तिने स्थिति आएको विज्ञहरुको भनाई छ ।
‘दोस्रो लहरमा धेरै जनाले कोरोना संक्रमणका कारण आफ्नो आफन्त गुमाउनुपर्यो । जनस्वास्थ्यविद्हरुले यसको जोखिमबारे बारम्बार चेतावनी दिँदा पनि त्यसको ख्याल गरिएन । सावधानी अपनाउन अनुरोध भएकै हो । तर सर्वसाधारण नागरिकबाट पनि बेवास्ता भयो । सरकारबाट पनि बेवास्ता भयो । सरकार पक्षले पनि भीड जम्मा गरेर नाराजुलुस र प्रदर्शनलाई प्रोत्साहन दियो’– डा. पुनले भन्नुभयो ।
दोस्रो लहर विस्तारै पार गर्दै गर्दा पनि गतिलो समीक्षा हुन सकिरहेको छैन । पहिलो लहरमा भन्दा दोस्रो लहरमा भेटिएको डेल्टा भेरियन्ट बढी संक्रामक देखियो । एन्टिबडीको क्षमतालाई पनि कमजोर बनाउने क्षमता डेल्टा भेरियन्टमा देखिएको अनुसन्धानले देखाइरहेको छ ।
भाइरसमा देखिने उत्परिवर्तनका कारण अघिल्लो भन्दा यो भेरियन्ट बढी संक्रामक देखिएको डा. पुनको भनाई छ । जसले गर्दा दोस्रो लहरमा बढी मानवीय क्षति बेहोर्नुपर्यो । जुन धेरैले अनुमान गरेभन्दा विपरीत थियो ।
दोस्रो लहरमा खोप नलगाएका धेरै व्यक्तिहरुको मृत्यु भएको पाइएकले अब खोपमै जोड गर्नुपर्ने विज्ञहरुको सुझाव छ । ‘दोस्रो लहरमा संक्रामक देखिएको डेल्टा र डेल्टा प्लस भेरियन्टका लागि पनि खोप बढी प्रभावकारिता देखिएको अनुसन्धानले देखाएको छ । भ्याक्सिनमा सबैको अर्जुन दृष्टि हुनु जरुरी छ । भ्याक्सिन ल्याउन र लगाउन सरकारको अर्जुनदृष्टि हुनुपर्छ भन्ने पाठ सिकाएको छ । दोस्रो लहरमा जस्तो समस्या झेल्न नपरोस् भन्नका लागि खोपलाई प्राथमिकता दिनुपर्छ’– डा. पुन भन्नुहुन्छ ।
अब झन् सतर्कता चाहिन्छ
निषेधाज्ञा खुकुलो पारिएसँगै हाम्रो दैनिकी सामान्य हुँदै गइरहेको छ । यो बेलामा विशेष सतर्कता अपनाउनु जरुरी हुन्छ । भाइरसमा हुने नयाँ–नयाँ उत्परिवर्तन र त्यसले दिने चुनौतीको आधारमा रणनीति तयार गरेर अघि बढ्नु जरुरी रहेको विज्ञहरुको भनाई छ । ‘हामीले जनस्वास्थ्यका मापदण्ड भने कडाइका साथ पालना गर्न भने कदापि बिर्सनु हुँदैन । दोस्रो लहरले ल्याएको महामारीबाट हामीले पाठ सिक्नुपर्छ । त्यो कसरी फैलिएको थियो भनेर हेक्का राख्न सक्नुपर्छ’ डा. पुनको सुझाव छ– ‘भ्याक्सिनमा सबैको अर्जुन दृष्टि हुनु जरुरी छ । भ्याक्सिन ल्याउन र लगाउन सरकारको अर्जुनदृष्टि हुनुपर्छ भन्ने पाठ सिकाएको छ । दोस्रो लहरमा जस्तो समस्या झेल्न नपरोस् भन्नका लागि खोपलाई प्राथमिकता दिनुपर्छ ।’
किन घट्न सकेन संक्रमण ?
नेपालमा निधेषाज्ञा लगायतका स्वास्थ्य सतर्कताका कारण कोभिड नियन्त्रण हुने अनुमान गरिएको भए पनि परीक्षण गरिएकाहरूमा दैनिक सङ्क्रमण दर भने लगभग २० प्रतिशतमा स्थिर रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार नेपालमा असार १ गतेयता १,५८,९६५ जनामा परीक्षण गरिएकोमा ३३,६१६ मा सङ्क्रमण पुष्टि भएको छ। यो सङ्ख्याले सङ्क्रमण दर औसतमा २१ प्रतिशतभन्दा माथि रहेको देखाउँछ। सङ्क्रमण दर एन्टिजन परीक्षणमा १७।५ प्रतिशत र पीसीआर परीक्षणमा २३.५ प्रतिशत रहेको छ।
कन्ट्याक्ट ट्रेसिङ लगायतका कार्यहरू नभएको र सामान्य लक्षण भएका व्यक्तिहरू परीक्षण नगरी घरमै बसेकाले यो तथ्याङ्कबाट मात्रै सङ्क्रमणको सही अवस्था थाहा पाउन गाह्रो रहेको विज्ञ बताउँछन्। तर मन्त्रालयले कोरोनाभाइरसको लक्षण भएकै व्यक्तिहरू मात्रै परीक्षणका लागि अस्पताल पुग्ने हुँदा पनि सङ्क्रमण दर बढी देखिएको बताउँछ।
तेस्रो लहरको जोखिम
छिमेकी भारतसहित नेपालमा पनि तेस्रो लहरको खतरा रहेको विज्ञहरूले बताइरहेका छन्। भारतमा सङ्क्रमण दर असारमा तीन प्रतिशतको हराहारीमा रहेको छ। दोस्रो लहरमा सङ्क्रमण उच्च हुँदा पनि त्यहाँ सङ्क्रमण दर २३ प्रतिशत नाघेको थिएन।
यस्तो अवस्थामा कोभिड नियन्त्रणका लागि लागु गरिएका प्रतिबन्धात्मक व्यवस्थाहरू खुला हुँदा जोखिम उच्च रहने बताइएको छ। गत वर्ष सामान्य अवस्थामा सङ्क्रमित हुनेहरूको सङ्ख्या उच्च विन्दुमा पुगेर घटेको भए पनि यसपटक भने निषेधाज्ञाकै बीचमा सङ्क्रमण उच्च विन्दुमा पुगेकाले अवस्था खुकुलो हुँदा फेरि एकपटक सङ्क्रमण बढ्न सक्ने विज्ञहरुको भनाई छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।