• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यस्ता छन् कर्णालीको बजेटले समेटेका तीन ऐतिहासिक स्थल




कर्णाली प्रदेश सरकारले आगामी आर्थि बर्ष २०७८/०७९ मा प्रदेशका तीन ऐतिहासिक स्थललाई युद्धपर्यटकीय स्थलको रुपमा अघि सार्ने घोषणा गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले असार १ गते प्रदेशसभामा पेश गरेको बजेटमा ‘जनयुद्धकालीन ऐतिहासिक युद्धस्थलहरु कालिकोटको पिली, रुकुमको खारा र जाजरकोटको जुनीमा युद्ध संग्रहालय निर्माण र अन्य सामरिक स्थानमा सम्भाव्यता अध्ययन गरी युद्ध पर्यटन प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालनका लागि आवश्यक वजेट विनियोजन’ गरिएको उल्लेख छ ।

हामीले यहाँ तीन ऐतिहासिक स्थलको भौगोलिक र ऐतिहासिक अवस्थाबारे चर्चा गर्ने प्रयास गरेका छौं ।

पिली
तत्कालिन शाही नेपाली सेना र माओवादी सेनाको अन्तिम भिडन्त भएको ठाउँ पिली कालीकोट जिल्लामा पर्दछ । खाँडाचक्र नगरपालिका–७ मा पर्ने पिली सशस्त्र द्वन्द्वको बेला अन्तिम तथा सबैभन्दा बढी मानवीय क्षति भएको युद्धको रुपमा लिइन्छ । २०६२ साल साउन २३ गते माओवादी र तत्कालिन शाही नेपाली सेनाको दोहोरो भिडन्त १ सय ३ जनाको मृत्यु भएको थियो ।

माओवादी र तत्कालिन शाही सेनाको सबैभन्दा ठूलो युद्ध भएको ठाउँ यही हो । कर्णाली राजमार्ग हुँदै जुम्ला र मुगुको राराताल घुम्न जाने बाटोमा पर्छ पिली । त्यसैले रारा घुम्ने पर्यटकले पिलीमा गाडी रोकेर यहाँ पुग्न सक्दछन् ।

पिली आक्रमणमा १३ श्रमिक, ६२ जना सैनिक तथा २८ जना माओवादी जनमुक्ति सेना मारिएका थिए । स्थानीयले तीन बर्षअघिदेखि नै यहाँ स्मारक बनाउने तयारी थालेका छन् ।

दुवै पक्षका कमान्डरसहित युद्धमा ज्यान गुमाएका सबैको सालिक बनाउने, प्रयोग भएका हतियार, उपकरण संकलन गरेर संग्रहालय बनाउने लगायतका योजना स्थानीले बताएका छन् । पिलीमा भएको लडाईमा मारिनेको फोटो, प्रयोग भएका हतियार र उपकरण संकलन गरेर म्युजियम बनाउने पनि स्थानीयको लक्ष्य छ । पिली गाउँमा पर्यटकलाई लक्षित गर्दै स्थानीयले होमस्टे पनि सञ्चालन गरेका छन् ।
खारा
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा पर्ने खारा जनयुद्धकालका तीन घटनाका कारण चर्चामा छ । पहिलो घटना २०५६ साल फागुन १० गते भएको थियो । तत्कालीन प्रहरीले स्थानीय १५ जनालाई माओवादीको आरोपमा हत्या गरेको थियो भने ८० भन्दा बढी घरहरुमा आगो लगाइएको थियो ।

त्यस्तै खाराको सबैभन्दा चर्चित घटना सैनिक ब्यारेकमाथिका दुई असफल आक्रमण हुन् । २०५९ जेठ १३ मा आक्रमण भएको थियो । सेनाको नाइटभिजन हेलिकप्टरका कारण बिफल भएको सो आक्रमणमा माओवादीतर्फ मात्रै १५० को मृत्यु भएको थियो ।

त्यस्तै खाराको दोस्रो लडाइँ २०६१ चैत २५ रातिदेखि २६ बिहानसम्म भएको थियो । माओवादीतर्फ क्षति भएको यो जनयुद्धकालकै ठूलो लडाइँ हो । जनमुक्ति सेनाका तत्कालीन कमाण्डर पासाङको नेतृत्वमा रहेको जनमुक्ति सेनाको केन्द्रीय कमाण्डले आक्रमण गरेको थियो ।

सर्वोच्च कमाण्डर प्रचण्ड पनि नजिक रहेर भएको यो लडाइँलाई माओवादीले केन्द्रीय सत्तामाथि हस्तक्षेपको उत्कर्षको रुपमा लिएको थियो तर लडाइँ सफल हुन सकेन । सल्यान–रुकुम–मुसिकोट सडकखण्ड निर्माण सुरक्षार्थ खाराको सतिपोलेमा सेनाको टुकडी बसेको थियो, जुन अहिले पनि रहेको छ ।

भूगोलका हिसाबले खारा कर्णाली प्रदेश रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा पर्दछ । यो ठाउँ सदरमुकाम मुसिकोटदेखि ५ कोष दक्षिणमा अवस्थित छ । नेपालको मानचित्रमा हेर्दा खारा २९ डिग्री ४५ मिनेटदेखि ३३ डिग्री १५ मिनेट उत्तरी अक्षांस र ८२ डिग्री २३ मिनेट देखि ८२ डिग्री २७ मिनेट ४५ सेकेन्ड पूर्वी देशान्तरमा रहेको छ ।
जुनी
जाजरकोटको तत्कालीन दह गाविसको जुनीमा नेकपा माओवादीले कम्युन स्थापना गरेको थियो । जसको नाम ‘जुनी कम्युन’ राखिएको थियो । हाल यो जुनीचाँदे गाउँपालिकामा पर्दछ ।

तत्कालीन दंगा प्रहरीले २८ जनाको ज्यान गरेपछि यो ठाउँमा चर्चामा आएको हो । २०५५ साल मङ्सिर १० गते छिमेकीको विवाहमा जन्ती बनेर गएका एकै घरका चार दाजुभाइसहित १४ जनाको माओवादी भएको आरोपमा निर्मम तरिकाले लाइन लगाएर सामूहिक हत्या गरिएको थियो । माओवादी जनयुद्धको पश्चिमको केन्द्रबिन्दु रहेको जुनीले पटकपटक गरी ३१ जनाको ज्यान गुमाइसकेको छ ।

माओवादी जनयुद्धका बेला अत्यन्तै सुरक्षित सेल्टर मानिने जुनीलाई युद्धकै बेलामा तत्कालीन दह गाविस–१ को निपाने–२ को जुर्कलाई मिलाएर जुर्कको ‘जु’ र निपानेको ‘नि’ लाई संयोजन गरी जुनी बनाइएको थियो ।

माओवादी जनयुद्धका क्रममा स्थापना गरिएको यो पहिलो कम्युन पनि हो । शुरुम ा१०४ सदस्यीय परिवार भई कम्युन चलेकोमा विभिन्न समस्याका कारण एक दशकमात्र चल्यो ।

राज्यबाट पीडित तथा पिछडिएको यो गाउँमा २०५६ चैत १२ गते जुनी कम्युनको गरिएको थियो । १४ घरबाट सुरु भएको कम्युनमा सुरुमा ३५÷४० जना बस्थे। तर पछि सदस्य बढ्दै गएको थियो । जनयुद्धको अन्त्य र कम्युनमा पनि सामूहिकताको भावना हराउँदै जाँदा २०६७ बैशाखमा यो बन्द भएको थियो ।

Facebook Comments