• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अझै पनि दलित समुदाय खलाँतीको भरमा, घर धान्न बालीघरेको सहारा




कुलदीप न्यौपाने/प्युठान
प्युठानको नौबहिनी गाउँपालिका ५ डाम्रीका दिलबहादुर सुनार आरनमा हसियाँ तताउदै हुनुहुन्छ । श्रीमती सौरी सुनार खलाती चलाउन व्यस्त । धेरैका लागि अनौठो लाग्ने यो दिलबहादुरको भने यो पूख्र्यौली पेशा हो ।

केटाकेटी उमेरदेदेखि बाउबाजेलाई सघाउदै आएको यो पेशा अहिले उहाँका लागि पेट पाल्ने र परिवारको खर्च धान्ने आधार बनेको छ । उमेर छिप्पिदै गए पनि उहाँ निरन्तर खलातीको हावासँगै जीवन चलाइरहनुभएको छ ।

श्रीमतीले दिएको खलातीको हावासँगै आगो सल्काउँदै फलामका औजार बनाइरहनुभएका दिलबहादुरले भन्नुभयो– ‘यही काम सिकें, यसबाटै जीवन धानिरहेको छ, अब जीवन यसमै बित्छ होला ।’

दुःखको कुरा छ के छ भने उहाँको यो श्रमको कुनै मूल्य भने छैन । माथिल्ला भनिने जातिबाट सिजनमा आउने थोरैथोरै अन्नबालीबाट उहाँको परिवार जेनतेन चलेको छ । दलित समुदायका हितका लागि राज्य र अन्य सरोकारवालाले ठूलाठूला कुरा गरे पनि यहाँका दलितलाई अझै बालीघरे प्रथाले छाडेको छैन ।

नेपालमा बालीघरे प्रथालाई दलितमाथि आर्थिक शोषण गर्ने आधारको रुपमा लिइन्छ तर पनि यो हट्न सकिरहेको छैन । आफुले थाहा पाएदेखि यो काम थालेको बताउने दिलबहादुर उमेरले साठी बर्षको हुनुभयो । घर छेउमा जोडिएको सानो झुपडीमा उहाँको आरन छ । त्यसमै छ दशक पार गरेका दिलबहादुर भन्नुहुन्छ– ‘अब यही आरनमा जुनी बित्ने त होला ।’

सनासोले औजार समाउदै पिटिरहँदा अनियन्त्रितरुपमा आगोका झिल्काहरु उठिरहेका छन्, जसरी उहाँको दु्ःखको यात्रा अनिश्चित छ । श्रीमतिलाई केही सजिलो छ । आरनको पछिल्लो भागमा बसेर उहाँले सिरानीको खोल जस्ता देखिने हातको कुहिना र हत्ल्केलामा मिलएर निरन्तर हावा निकालिरहनु भएको छ । नयाँ पुस्ताका लागि अनौठो लाग्ने यो प्रविधिलाई खलाती भनिन्छ ।

खलाती आरनमा काम गर्दा आगोमा हावादिने सिरानीको खोल जस्तो छालाको थैलो हो । बाख्रा काटेपछि मासु निकालेर सिंगो छालालाई यही काममा प्रयोगका लागि खलाती बनाइन्छ । आगोले खलार्ती नजलाओस भनेर बीचमा चेप्टो ढुंगा राखिएको छ ।

यो दम्पत्तिका तीनभाई छोरा र एउटी छोरी छन् । एउटा छोरा बाग्दुलास्थित एक ब्यवसायमा मजदूरी गर्छन् । दुइ भाइ साना छोरा र श्रीमतीले पालैपालो खलाती चलाउन सघाउँछन । दुई कक्षामा पढ्ने छोरीले पनि फुर्सदको समयमा खलाती चलाइदिने सुनारले सुनाउनुभयो ।

‘खलाती चलाउने आरनमा एक्लै काम गर्न सकिदैन’– दिलबहादुर थप्नुहुन्छ– ‘खलाती चलाउने र औजार तताउने पिट्ने एकसाथ गर्नुपर्छ, त्यसैले सहयोगी चाहिन्छ ।’ गाउँपालिकाले पंखा भएको औजार दियको थियो तर त्यो दुई बर्ष पनि टिकेन । ‘ मेसिन बिग्रिएपपछि कहाँ बनाउन जानु, यो त यही बनाउन सकिन्छ । बरु खलाती नै सजिलो देखियो’– दिलबहादुरले भन्नुभयो ।

पछिल्लो पुस्तामा गाउँघरमा आधुनिक प्रविधिको बढ्दो आकर्षणले यस्ता किसिमका घरेलु प्रविधि लोप हुँदै गएका छन् । तर, दिलबहादुर भने आफ्नो दुःखसँगै अझै यो परम्परागत पनि जोगाएर राख्नुभएको छ ।

केहीबर्ष अगाडिसम्म निकै चलनचल्तीमा रहेका यी र यस्ता घरेलु प्रबिधि विस्तारै कम हुँदै भने गएका छन् । यी प्रविधिलाई आधुनिकतासँग जोड्न सके नयाँ पुस्ताका लागि यी नासो बाँकी रहनसक्ने छन् ।

Facebook Comments