प्रशंसा भण्डारी
मेरो घर ,मेरो जन्मसँगै मुखबाट निस्किएको रोदनको आवाजले रंगिएका भित्ताहरु,मैले चार हात खुट्टा टेकेर हिड्न सक्ने भए पछि मेरो हात र घुडाको स्पर्शले सुगन्धित बनेको मझेरी म खेल्न, दौड्न सक्ने भए पछि मसँग मुस्कुराउँदै साइनो गाँसेका बलिया सम्बन्धहरु ।
घरलाई बेरेको आँगन ,मेरो पहिलो खेलको मैदान । सबै सँगै बसेर खाना खाने हाम्रो भान्सा कोठा , चुलोको छेउमा आमा अनि वरपर हामी , बुबाले सुनाएका ठट्यौली शब्दमा हाम्रो हाँसो ,घर नै झुम्ने गर्दथ्यो।
मेरो घर आज बुढो भए छ ।मेरो घर साच्चै सहनशील छ।
अझै पनि आमाले सुनाइरहनु हुन्छ । हामी सानो हुँदा आफै ढुङ्गा माटो बोकेर सृजना गर्नु भएको ,दिन रात खटिएर बनाएको मेरी आमाको महल ।
आमाले बच्चा बाेकेर जग हालेकाे माटाेले तला पिटेकाे र पछि बाबाले छानाे थपेकाे मेराे सुन्दर घर। जहाँ मेरा हजारौं सपनाहरू यही घरमा उम्रे , हुर्के र फक्रिनका लागि म सहर पसें ।
बर्षकाे एकपटक दशैमा घर पुग्दा र त्याे पनि थाेरै दिन घरमा बस्दा उज्यालो अनुहार लगाउने मेराे घर गत सालदेखि लकडाउनका कारण मेराे आमा जस्तै लाग्न थालेकाे छ। सानाे छँदा साथीसंगातीले मारपिट गर्दा रुँदै कराउँदै आमाकाे काखमा शरण लिदा सुरक्षित भएको आभास भएझैं काेभिड-१९ काे महामारीको समयमा घरमा आउँदा विगतमा आमाको छेउमा गएजस्तै अहिले सुरक्षित भएकाे अनुभूति हुन्छ।
जब घरबाट बाहिर निस्कन थाल्छु उहीँ पुरानो घरले मलाई भनिरहेको जस्ताे लाग्छ लखर लखर कहाँ हिडेकाे? खुरुक्क घरमा बस्ने ज्ञानगुणका कुरा पढ्ने। ताजा र मिठा कुरा पकाएर खाने । स्वस्थ हुने सुरक्षित रहने ।
हुन पनि हाे मान्छे जति ठूलाे भए पनि जति पढे पनि संसार घुमे पनि प्रकृतिलाई जित्न सक्दैन । ऊ प्रकृतिकै भर पर्नु पर्दछ । विश्वका ठूला भनिने मुलुकहरू पनि अहिले आएर अर्गानिक खेतीतिर आकर्षित भएका छन्। हाेमस्टेकाे अवधारणामा लागेका छन् ।
यसकाे मतलव हाे हाम्राे पुरानो घर पुरानो संस्कार र हाम्रा रितिरिवाजहरू मेराे घरजस्तै प्रिय छन् र प्रिय लाग्छन् । यद्यपि बजारमा आलिशान महल छ तर पनि उक्त महल यतिबेला सुरक्षित लाग्दैन । किनकि त्यहाँ हजारौं मान्छेको आवतजावत हुन्छ । काेराेनाकाे संक्रमण हुने खतरा छ ।
कवि माधव घिमिरेले भनेझै यतिखेर लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरा…! त्यसैले मेरी आमाले सिर्जेका पुराना मान्यताहरू मेरी आमाका काेमल हातहरूले लिपेका भित्ताहरू मेरै मुटुजस्तै प्रिय लाग्छन् ।
मेरो आमा जस्तै सहनशील ,केहि नबोल्ने तर सबै कुरा बुझ्ने ,मेरो बुवा जस्तै भरोसावान छ जसलाई देखाएर म अझै पनि गर्व साथ भन्न सक्छु यो मेरो हो ! म जन्मिएको घर ,हुर्किएको घर,खेल्न सिकेको घर, मेरो बालापन देखेको घर, मेरो घर ।
आज काेभिड १९ काे सिजन २ आए पनि म मेरा बा आमाकाे साथमा रहँदा र उहीँ अभिलेखी घरभित्र बस्दा स्वर्गानुभूति भएकाे छ ।
धन्य मेराे घर धन्य मेरा बा आमा !
(फिजियाेथेरापी तेस्रो वर्ष, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं)
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।