• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वृहत कम्युनिष्ट एकताः आजको आवश्यकता




शुरामणि बेलबासे

कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले कम्युनिस्ट लिगको आग्रहमा जब सन १८४८ फरवरी १८ मा पहिलो कम्युनिष्ट घोषणपत्र लेखे र कम्युनिस्ट लिगद्धारा सार्वजनिक गरियो, त्यसपछि संसारमा कम्युनिष्ट आन्दोलन फैलिन शुरु भएको हो । त्यसपूर्व करीव २६०० वर्ष पहिले प्लेटो र गौतम बुद्धले समानताको कुरा उठाएका थिए । प्लेटोले त साम्यबादको अबधारणा नै प्रस्तुत गरेका थिए, यद्यपि उनको साम्यबाद दासहरुको लागि थिएन । यूटोपियनहरुले साम्यबादको कुरा उठाए र उनीहरुमध्ये केहीले त सामूहिक बस्ती र सामूहिक कामको समेत प्रवन्ध गरेका थिए तर उनीहरुको चाहना पवित्र भए पनि साम्यबादी समाज स्थापनाको लागि दर्शन, सिद्धान्त, नीति, योजना र कार्यक्रम सही थिएन, उनीहरु असफल भए ।

कार्ल माक्र्सले प्राचीन र काल्पनिक साम्यबादीहरुका विचारका आधारमा बैज्ञानिक समाजवाद–साम्यवादको सिद्धान्त प्रतिपादन गरे । त्यस्तै हेगेल र फायरबाखको द्वन्द्ववाद र ऐतिहांसिक भौतिकवादका आधारमा ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शनको प्रतिपादन गरे । बेलायती अर्थशास्त्रीहरुको सिद्धान्तको अध्ययनबाट शोषण कसरी हुन्छ र यसको अन्त्य कसरी गर्न सकिन्छ भन्ने अर्थशास्त्रको सिद्धान्त प्रतिपादन गरे । माक्र्सको यही सिद्धान्तलाई विश्वभरिका कम्युनिष्टले अबलम्वन गरेर अगाडि बढ्न खोजेको देखिन्छ । माक्र्सवादी सिद्धान्त सारमा मानव हितको निम्ति निर्मित सिद्धान्त हो । यो सिद्धान्तले मानव–मानवबीचको भेदभाव, शोषण र असमानतालाई हटाइ सम्पूर्ण मानवलाई समानतासहितको समृद्धि दिलाउन चाहन्छ ।

माक्र्सबादी सिद्धान्तको प्रतिपादन भएपछि यस सिद्धान्तका प्रतिपादक कार्ल माक्र्स र उनका सहकर्मी एंगेल्सले सिद्धान्तको अभ्यास भने गर्न पाएनन्, उनीहरुले पेरिस कम्युनको असफल अभ्यास मात्र देखे, जो उनीहरुको विचारबाट निर्देसित थिएन तर त्यसलाई बचाउन सकेजति प्रयास गरेका थिए । माक्र्सको मृत्यु भएको ३५ वर्षपछि सोभियत रुसमा कम्युनिष्ट क्रान्ति सम्पन्न भयो । सोभियत रुस मा कम्युनिष्ट क्रान्ति सम्पन्न भएपछि विश्वमा उपनिवेश अन्त्य र कम्युनिष्ट क्रान्तिको लहर सँगसँगै चलेको थियो ।

उपनिवेश अन्त्य पछि सम्पन्न चीन, क्युवा, भियतनाम, कोरिया र लाओस बाहेकका क्रान्तिहरु स्थापित हुन र समाजवाद–साम्यवादको गन्तव्यमा पुग्न सकेनन् । सन् १९९० को दशकमा पुगेपछि संसारभरका मुक्तिकामी जनताको आशा र भरोसाको केन्द्र बनेको सोभियत समाजवाद नै विफल भयो । संसारको कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुग्यो । कम्युनिष्ट आन्दोलनले असफलता भोग्नुमा नेतृत्वको गैरसर्वहाराकरण अर्थात वर्गीय चरित्रमा रुपान्तरण हुनु देखिएको छ ।
सर्वहारा श्रमजीवि जनताको मुक्तिको लागि गरिएका क्रान्तिहरुले खासमा ती निमुखा जनताको जीवनमा फरक ल्याउन नपाउंदै नेतृत्व एलिटहरुको मात्र नेता बन्न पुग्यो । कम्युनिष्ट पार्टी, कम्युनिष्ट आन्दोलन, कम्युनिष्ट पार्टीद्वारा संचालित राज्यसत्ता र कम्युनिष्ट अर्थतन्त्र एलिटहरुको उत्थान र बिकासमा सिमित हुन पुग्यो । कम्युनिष्ट आन्दोलनले सैद्धान्तिक धरातल भुल्यो ।

राज्यसत्ताविहीन, वर्गविहीन समाजको बिकास हुनुपर्ने कम्युनिष्ट राज्यमा अभिजात वर्गको विकास भयो । यसैको परिणामस्वरुप गौरवपूर्ण क्रान्तिबाट स्थापित कम्युनिष्ट सत्ताहरु ढले । कम्युनिष्ट पार्टी र यसद्वारा संचालित राज्यसत्तामा देखिएका समस्या समाधानका लागि विभिन्न विचारकहरुले आफ्ना मतहरु अघि सारेका छन् । पछिल्लो समयमा माक्र्सवादको स्थानीयकरणमा जोड दिइएको छ तर पनि कम्युनिष्ट आन्दोलनमा देखिएका आजका समस्याको खास समाधानको उपाय पत्ता लाग्न सकेको देखिंदैन ।

सन् १९२० देखि १९९० को दशकसम्म सशस्त्र क्रान्तिलाई क्रान्तिको मोडेलका रुपमा अबलम्वन गरिएको थियो । त्यसपछि शान्तिपूर्ण क्रान्तिको मोडेललाई क्रान्तिको मोडेलका रुपमा लिन खोजिएको छ । यी दुबै मोडेलबाट सत्तासीन कम्युनिष्ट आन्दोलनका अगाडि धेरै प्रश्नहरु उठेका छन्, जसको उत्तर खोज्ने प्रयत्न नेपालमा मदन भण्डारीले गरेको देखिन्छ ।

मदन भण्डारीले कम्युनिष्ट आन्दोलनलाई नयाँ शीराबाट उठाउन ‘जनताको बहुदलीय जनवाद’ प्रतिपादन गर्नुभएको थियो । जबज कम्युनिष्ट आन्दोलनमा देखिएका जडसूत्रवाद र विसर्जनवादका समस्याहरु समाधानका लागि अघि सारिएको सिद्धान्त हो । जबजको प्रतिपादनपछि नेपालको कम्युनिष्ट आन्दोलनले स्पष्ट दिशा लिएको देखिन्छ । सोभियत समाजवादको असफलतापछि अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा अन्योलको अवस्था उत्पन्न भएको थियो ।

नेपालमा पनि कसरी अघि बड्ने अलमलको स्थिति थियो । भर्खर जनआन्दोलन सम्पन्न गरिएको थियो, अन्तरिम संविधान निर्माण गरी देशमा आम निर्वाचन गरिंदै थियो । आन्दोलनमा सहकार्य गरेका केही बामपन्थी पार्टीले निर्वाचन बहिस्कार गर्दै सशस्त्र क्रान्तिको घोषणा गर्दै थिए भने केहीले कम्युनिष्ट पार्टीलाई विघटन गरेको घोषणा गरिरहेका थिए ।

नेपाली कांग्रेसलगायतका पूँजीवादी पार्टीले कम्युनिष्ट आन्दोलन म्यूजियममा सिमित हुने, कम्युनिस्ट पार्टीले ६० कटेका बुढाबुढीलाई गोली हानेर मार्ने, दिदीबहीनी पनि नमान्ने लगायतका संगीन आरोपहरु लगाउंदै, गाउंघरतिर कम्युनिष्ट कार्यकर्तालाई सांघातिक आक्रमण गर्ने र उल्टै झुटा मुद्दा लगाएर दुःख दिने काम गरिरहेका थिए ।

यस्तो समयमा नेपालको कम्युनिष्ट आन्दोलनलाई बचाएर अगाडि लाने चुनौती थियो । राष्ट्रिय–अन्तराष्ट्रिय प्रतिकूलताका बीचबाट जबजको प्रतिपादन गरिएको थियो । जबज कम्युनिष्ट पार्टी, कम्युनिष्ट आन्दोलन, कम्युनिष्ट राज्यसत्ता र अर्थतन्त्रको लोकतान्त्रिकरणमा जोड दिने एउटा विचार प्रणाली हो । सामूहिक नेतृत्व प्रणाली, बहुपदीय संगठनात्मक संरचनाका आधारमा पार्टी संचालन पद्धति यसमा अवलम्वन गरिएको छ । यस सिद्धान्तका आधारमा जनाधारित कार्यकर्ता पार्टी संभवत एसियाकै अनुसाशित कार्यकर्ताहरुको पार्टीका रुपमा नेकपा (एमाले) को विकास गरिएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को २०७१ साउनमा सम्पन्न नवौं महाधिवेशनपछिको अवधिमा पार्टीले नेपालको राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर प्राप्त गरेको थियो । २०७२ मा संविधानको निर्माण गरियो । संविधान निर्माण गर्दा भारतले नाकाबन्दी लगायो । नेपालको तराई मधेश क्षेत्रमा लामो समयसम्म आन्दोलन भयो । नाकावन्दी र तराई मधेश क्षेत्रको आन्दोलनलाई समाधान गर्ने कार्य नेकपा (एमाले) को नेतृत्वमा सम्पन्न भयो ।

२०७४ बैसाखदेखि असाजसम्म स्थानीय निर्वाचन सम्पन्न गरियो । ७५३ स्थानिय तहमध्ये नेकपा (एमाले) ले एक्लै आधा जति स्थानमा विजय हासिल ग¥यो । स्थानिय निर्वाचनपछि प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुने भयो । निर्वाचनको पूर्वसन्ध्यामा नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र)वीच चुनावी मोर्चा निर्माण गरियो । साझा उमेदवार, साझा घोषणापत्र लिएर निर्वाचनमा जाँदा जनताको अपार विश्वास हासिल भयो ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्र्मा ओलीको नेतृत्वमा संयुक्त सरकार गठन गरियो । २०७५ जेठ ३ मा नेकपा (एमाले) र नेकपा (माओबादी केन्द्र) वीचमा पार्टी एकता भइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण गरियो । माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओली दुई जना अध्यक्षको नेतृत्वमा ४४४ केन्द्रीय समिती गठन गरियो । जनता र कार्यकर्तामा निकै ठूलो हौसला पैदा भयो ।

संसारभरका कम्युनिष्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई बधाई ज्ञापन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको सफलताबाट आफूहरुले प्रेरणा प्राप्त गरेका सन्देश पठाए । नेकपा (एमाले)ले नवौं महाधिवेशनबाट अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को कार्यभार पूरा हुनेमा कम्युनिस्ट आन्दोललनका सबै सुभेच्छुकहरु विश्वस्त थिए ।

अफसोच, नेकपाको दुइतिहाईको सरकार निर्माण भए छि जसरी सिंगो देश विकास निर्माणमा परिचालन गर्नुपर्ने हो, त्यस्तो हुन सकेन । देशमा सदियौंदेखिको सामाजिक कुरीति, जातीय भेदभावको अन्त्यको लागि सिंगो देश जुर्मुराउनुपर्ने हो । सामन्तवादी सत्ताले सृजना गरेका गलत संस्कृतिको ठाउँमा नयाँ जनसंस्कृतिको जग हाल्नु पर्ने हो । हिजोको सामन्तवादी सत्ताले निर्माण गरेका जनविरोधी सामाजिक, आर्थिक र सांस्कृतिक संरचनाहरु फेर्नुपर्ने हो । देशमा रहेको भ्रष्टचार र कमिशनखोरीको अन्त्य गरी पारदर्शी र बैज्ञानिक कर्मचारी संयन्त्रको विकास गर्न लाग्नुपर्ने हो ।

दलाल पूँजीवादको अन्त्य गरी राष्ट्रिय अर्थतन्त्रको विकासका कार्यक्रमहरु ल्याउनुपर्ने हो । नयाँ नेपाल निर्माण गर्न सक्ने युवा जनशक्ति स्वदेशमा रोजगारीको अभावमा देश बाहिर जान विवश छ, स्किल ब्रेन ड्रेन हुन नदिन देशमै रोजगारीको सृजना हुने कार्यक्रम लागु गर्नुपर्ने हो, त्यस्तो भएन । संसारकै प्राकृतिक मनोरम हाम्रो देश, हजारौं जैविक विविधता भएको, जलस्रोतको दोस्रो धनी देश, सगरमाथासहितका सयौं हिमाल भएको, स्वाभीमानीहरुको देश, कम्युनिष्ट सरकार बनेपछि सर्वाङगीण विकासको योजना र कार्यक्रमले हामी रातदिन काम गरेर ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउनुपर्नेमा आज हाम्रो नियती सामन्तवादी सत्ताको जस्तै भइरहेको छ ।

कम्युनिस्ट सरकारका नाममा मुट्ठीभरका मानिसहरु सत्ताद्वारा पोषित भैरहेका र अरु सबै मानिसहरु रोग, भोक र शोकले थिलोथिलो भइ आफैलाई धिक्कार्नुपर्ने स्थितिको सृजना भएको छ । कम्युनिष्ट सरकारले वास्तविक शोषितपीडित जनताको जीवनमा परिवर्तन ल्याउन भरमग्दुर प्रयत्न गर्नुपर्ने हो, त्यस्तो हुन सकेको छैन । पार्टी सत्तासिन भएपछि सिंगो कम्युनिष्ट आन्दोलन नै तहसनहस हुंदै छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व र संविधानमा निर्देशित समाजवादको लक्ष प्राप्तिको लागि नेपालमा बृहत कम्युनिस्ट एकताको विकल्प छैन । यहाँका बामपन्थी तथा लोकतान्त्रिक शक्ति मिलेर मात्र यहांको राजनीतिक परिवर्तन संभव भएको थियो । दुई बामपन्थी दलहरु मिलेपछि जनताले कम्युनिष्ट शक्तिलाई बहुमत दिएका थिए । आगामी दिनहरुमा पनि यहाँका कम्युनिस्ट शक्तिहरु मिल्नुको विकल्प छैन ।

देशको राजनीतिक सङक्रमणकाल अन्त्यका लागि पनि देशमा शक्तिशाली कम्युनिस्ट पार्टी आवश्यकता छ । कम्युनिष्ट शक्तिमा विभाजन आउंदा देशमा पुन राजनीतिक अस्थिरता उत्पन्न हुने छ । त्यसकारण एक्काईसौ सताब्दिमा शान्तिपूर्ण कम्युनिष्ट क्रान्तिलाई सफल बनाउन कम्युनिस्ट आन्दोलनमा देखिएको दक्षिणपन्थी वुर्जुवाकरणलाई रोक्दै सबै माक्र्सबादी कम्युनिष्ट एकठाउँ हुनुको विकल्प छैन ।

Facebook Comments