आफ्नै पार्टीका सांसदले साथ छाडेपछि अल्पमतमा परेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई राजीनामा दिइ मार्गप्रशस्त गर्न चार दलीय गठबन्धनले माग गरेको छ ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगर, नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्री, जसपाका प्रमुख सचेतक पुर्मती ढेंगा मगर र राजमो संसदीय दलका नेता तारा जिसीले विज्ञप्ति जारी गरी यस्तो आग्रह गर्नुभएको हो । साथै अल्पममा रहेको स्पष्ट देखेर पनि पोख्रेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक भन्दै बहुमत सदस्यको तर्फबाट प्रस्ताव दर्ता गराएका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसँग माग गरिएको छ ।
केहीको राजीनामा र केहीको कारवाहीपछि कायम रहेका ७९ सांसदसमध्ये ४० जनाको बहुमत हुने र त्यसमा आफूहरुको ४० तथा एमालेको ३८ सांसद रहेको विज्ञप्तिमा स्पष्ट गरिएको छ ।
विज्ञप्तिको पूर्ण पाठ
लुम्विनी प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता र विशेष अधिवेशनको माग भएपछि विशेष संसदीय अधिवेशनको आह्वान, अविश्वास प्रस्तावको सामना नगरी मुख्यमन्त्री शंकर पोख्रेलको राजिनामा, प्रदेशसभाको बैठक नबस्दै हठात विशेष अधिवेशनको अन्त्य र पुनः शंकर पोख्रेललाई मुख्यमन्त्रीमा नियुक्ति र बलजफती गरेको सपथ ग्रहण नेकपा (एमाले) लुम्विनी प्रदेशसभामा अल्पमतमा रहेकै कारणले राज्य शक्तिको दुरुपयोग गरी गरेको नाटक मञ्चन हो ।
नेकपा एमाले को लुम्विनी प्रदेशमा एकल बहुमत नभएकै कारण २०७४ फाल्गुन ३ गते गठन भएको प्रदेश सरकार संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा वढी दल मिलेर बहुमत पु¥याएर सरकार गठन भएको नजिर कायमै छ । यो कुरा माननीय शंकर पोख्रेललाई थाहा हुंदाहुंदै पनि संविधान र कानूनको अपव्याख्या गरी सपथ ग्रहण गर्नु उहाँको पदलोलुपता, अराजनैतिक र निरंकुश कदम मात्र हैन वैचारिक राजनीतिक नियत नै खराब हो ।
लुम्बिनी प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का माननीय सदस्यहरु दधिराम न्यौपाने र दिनेश पन्थीको दल बदल पछि पद रिक्त भएको, जनता समाजवादी पार्टी नेपालको प्रदेशसभा सदस्यहरु विजयबहादुर यादव, सन्तोष कुमार पाण्डे, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीको दलको ह्वीप उलङघन
पछि पद रिक्त भएको र नेकपा (एमाले) का प्रदेशसभा सदस्यहरु दृघ नारायण पाण्डे र अमरबहादुर डाँगीले राजीनामा दिएको र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट उपनिर्वाचनमा निर्वाचित माननीय बिमला कुमारी खत्री नेकपा (माओवादी केन्द्र) को दलको सदस्य भैसकेको अवस्थामा हाल प्रदेशसभामा
तत्काल कायम प्रदेशसभा सदस्य संख्या नेकपा एमालेको ३८ जना, नेपाली कांग्रेसको १९ जना, नेकपा (माओवादी केन्द्र) को १९ जना, जसपाको २ जना र राजमोको १ जना गरी जम्मा ७९ सदस्य संख्या हो र यसको बहुमत संख्या ४० जना माननीयहरुको सदस्य संख्या हो ।
यसअनुसार प्रदेशसभामा तत्काल कायम रहेका दलहरुको सदस्य संख्यालाई हेर्दा पनि संविधानको धारा १६८ को उपधारा १ बमोजिम एकल बहुमतको सरकार कुनै पनि दलको बन्दैन भन्ने कुरा सामान्य नागरिकले पनि बुझ्न सक्छ ।
तसर्थ नेकपा (एमाले)को लुम्बिनी प्रदेश संसदिय दल नेता मा. शंकर पोख्रेलले एकल बहुमतको प्रदेश सरकार गठन गर्नु गैर कानूनी र असंवैधानिक हो ।
अब मुख्यमन्त्री शंकर पोखरेल माथी विश्वास छैन भनी नेकपा (एमाले) बाहेक प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको तर्फबाट अविश्वास प्रस्ताव प्रदेशसभामा दर्ता भएको अवस्थामा संविधानको धारा १६८ को उपधारा २ अनुसार पनि प्रदेश सरकार नेकपा (एमाले) को दलनेता शंकर पोखरेलको नेत्तृत्वमा बन्न सक्दैन । तसर्थ मुख्यमन्त्रीको रुपमा नियुक्त शंकर पोखरेलले फेरी पनि राजीनामा दिई मार्ग प्रशस्त गर्नु बाहेक आर्को विकल्प छैन ।
हामी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको गठबन्धन अनुसार नेपाली कांग्रेसको १९ जना, माओवादी कन्द्रको १९ जना, जसपाको २ जना र राजमोको १ जना प्रदेशसभा सदस्यहरु गरी ४१ जना प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संख्या ७९ जनाको बहुमत संख्या हो ।
हाम्रो गठबन्धनको तर्फबाट प्रदेशसभाको बहुमत सदस्यहरुको हस्ताक्षर सहित संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशसभा संसदीय दल नेता माननीय कुल प्रसाद केसीलाई मुख्यमन्त्रीको लागि समर्थन गरी माननीय प्रदेश प्रमुख समक्ष २०७८ बैशाख १९ गते पेश गरेको सरकार निर्माणको दावी वैधानिक र संविधान सम्मत छ । तसर्थ प्रदेश मन्त्रीपरिषद गठन गर्ने संवैधानिक कानुन र नियमको पालना गर्दै अवैधानिक मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा, तत्काल प्रदेशसभा बैठकको आव्हान र गठबन्धन दलको नेता माननीय कुल प्रसाद केसीलाई मुख्यमन्त्री पदमा नियुक्त गरी प्रदेश मन्त्रीपरिषद गठन गर्न प्रदेश प्रमुख समक्ष जोडदार माग गर्दछौं ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।