• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कविताः संक्रमितहरू हो, घरमै स्वास्थ्यलाभ गर्नू





गोबिन्द रिजाल
एकाबिहानै,
अखबार आईपुग्यो
थप एकथान निराशा बोकेर
अस्पतालमा बेड छैन ।
लौ त रोगीहरू हो, संक्रमितहरू हो
संभावित संक्रमितहरू हो
घरमै स्वास्थ्यलाभ गर्नु
अलिकति अक्सिजन चाहिए
उ त्यहाँ पर जानु
खोला छेउमा
ठिङ्ग उभिएको छ बूढो रूख
र अक्सिजन खानु त्यही रूखको

किनकी,
अचेल वस्तिहरूमा रूख उम्रिदैनन
उम्रिन्छन त केवल घरहरू ।।
कोरोनाले जेलेजस्तै
जेलेको छ त्यही रूखलाई गुर्जोले
एक गिलास मनतातो पानीमा
त्यही गुर्जो खानु,
अलिकति टिमुर र बेसार खानु,
थोरै अकबरे खुर्सानी खानु,
डकार्नु, ख्वाक्क खुक्क गर्नु
तर अस्पताल नआउनु

किनकी,
अस्पतालमा बेड छैन ।।
बेड थप्ने त भनेकै हो
तर के गर्नु ?
जग्गा खोज्दा खोज्दै,
बजेट जोड्दा जोड्दै
बनाँउदा बनाँउदै भवन
र बटुल्दा बटुल्दै धोक्रो अक्सिजनको
मिलाउन बाँकि हुँदै अलिकति
साँझको पाहुना जस्तै
फुत्त आईदियो त कोरोना
सोध्दै नसोधी
अनि, कहाँबाट हुन्छ ?

महाशय,
बेड छैन भन्दा भन्दै
किन आउनु पर्ने तपाईलाई ?
के अस्पताल तपाईको मावली हो ?
ससुराली हो ?
पार्टी प्यालेस हो र अस्पताल
पुरानो कोटमा आईरन दलेर
भोज खान आउनु पर्ने ?
कि डाँडामाथिको रेष्टुरेन्ट हो ?
कुहिरो भित्रको सगरमाथा नियाल्दै
चुस्कि लिनुपर्ने सेन्टिलाईजरको ?
अतिथि गृह पनि त होईन अस्पताल
हाम्रो निम्तोबिनै
किन आउनु पर्यो र ?

कृपया,
मुखमा मुखेला लगाउनु
भट्टीपानी दल्नु हातमा
टाढै बस्नु अर्काको संसर्गबाट
व्यायाम गर्नु, योगा गर्नु
भिडभाडमै किन जानु पर्यो र
बस, यति गरेपछि
अस्पताल आउनै पर्दैन
एकथान म्याट्रेस, थर्मस
अनि कुरुवा बोकेर
किन आउनु र अस्पताल
मैले भनि सकेपछी
डाक्टर छैन,
नर्स छैन,
अक्सिजन छैन
अस्पतालमा बेड छैन ।

Facebook Comments