–देशभर करिब २० वटा अक्सिजन उद्योग छन् । काठमाडौं उपत्यकामै आठवटा उद्योग चालू अवस्थामा छन् । तीनवटा बन्द छन् । कतिपय उद्योगमा दुईवटा प्लान्ट पनि छन् ।
–महामारी शुरु भएको डेढ बर्षसम्म अक्सिजनबारे सरकारले कुनै चासो राखेको छैन । जबकि अघिल्लोपटकको लकडाउनमा अक्सिजन उद्योगहरूले पास माग्दासमेत नपाउने अवस्था थियो । अक्सिजन उद्योगमा काम गर्ने कर्मचारीलाई फ्रन्टलाइनमा कार्यरत कहिल्यै मानिएन ।
–अझै पनि अक्सिजन उद्योगले कुनै अनुदान पाएका छैनन् । बाहिरबाट सिलिन्डर आयात गर्दा छुट दिइएको छैन, जबकि मेडिकल क्षेत्रका अन्य व्यवसायलाई आयकर र भ्याटमा छुट र अनुदान सहयोग दिइएको छ ।
–नेपाल अक्सिजनमा आत्मनिर्भर छ । नेपालमा अक्सिजनको बजार अभाव भएर औद्योगिक घरानाहरूले समेत अक्सिजन प्लान्ट बन्द गरे । तर, बजार हुँदो हो त ती उद्योग बन्द हुने थिएनन् । अब सरकारले थोरै सहायता गर्ने हो भने नेपाली उद्योगहरूले पर्याप्त मात्रामा अक्सिजन उत्पादन गर्न सक्छन् ।
–नेपालमा औसत मिलाएर दैनिक १० देखि १२ हजार सिलिन्डर अक्सिजन प्रतिदिन उत्पादन हुन्छ । तर, सबै उद्योग पूर्ण क्षमतामा नचलेका हुन सक्छन् । खासगरी उपत्यकाबाहिरका उद्योगहरू पूर्ण क्षमतामा चलेका छैनन् ।
–अहिले भारतबाट भारतबाट महिनाको दुईदेखि तीन ट्यांकर (प्रतिट्यांकर २० हजार लिटर) यस्तो अक्सिजन आउने गरिएको छ । यो क्रम रोकेर नेपाली उद्योगलाई प्राथमिकता दिनुपर्छ ।
–सात क्युबिक लिटरको एउटा सिलिन्डरले बिरामीको अवस्था हेरी दुईदेखि तीन दिनसम्म पुग्छ । त्यसो हुँदा नेपाली उद्योगको उत्पादन क्षमता उपयोग हुँदा एकै दिन ३० हजार बिरामीलाई सेवा दिन सकिन्छ । तर, सरकारसँग अहिले बिरामी कति छन्, र तीव्र रूपमा बढेको खण्डमा कति बढ्न सक्छ भन्ने तथ्यांक हुनुपर्छ । त्यसअनुसार कति सिलिन्डर चाहिने हो, त्यसअनुसारको योजना सरकारले बनाउनुपर्यो ।
–उत्पादन गरिएकामध्ये २० प्रतिशत मात्रै गोदाममा हुन्छन् । बाँकी सिलिन्डरहरू अस्पताल, डिपो, डिलरमा वा उत्पादनमा रहन्छन् । त्यसो हुँदा जति छिटो सिलिन्डर उद्योगमा पुगे र रिफिलिङ गर्न पायो, त्यति नै धेरै आपूर्ति गर्न सकिने अवस्था हुन्छ । त्यसो हुँदा सबैले अक्सिजन प्रयोग गरिसकेपछि सिलिन्डर घरमा राख्ने होइन कि तत्कालै उद्योगलाई उपलब्ध गराउनुपर्छ । समयमा रिफिलिङ गर्न पाइएन भने एकैपटक ३० हजार बिरामीलाई पुग्ने गरी अक्सिजन पु¥याउन सकिन्न ।
–नेपालमा झण्डै दुई लाख सिलिन्डर हुन सक्छन् , सबै प्रयोग गर्ने हो भने जनताको ज्यान बचाउन सकिन्छ ।
–सामान्य प्रक्रियाबाट नयाँ सिलिन्डर ल्याउन कम्तीमा पनि डेढ महिना लाग्छ । त्यसो हुँदा सरकारले सहजीकरण गरेर छिटोभन्दा छिटो नयाँ सिलिन्डर ल्याउने व्यवस्था गर्नुपर्छ ।
–सरकारले औद्योगिक क्षेत्रमा प्रयोग हुने अक्सिजनलाई बन्द गर्नुपर्छ । अहिले महामारीको अवस्थामा सबैभन्दा पहिला बिरामीलाई अक्सिजन उपलब्ध गराउनुपर्छ भनेर औद्योगिक खपतलाई बन्द गरियो भने अक्सिजनको अभाव होला कि भन्नुपर्दैन । किनभने उद्योगमा दिनको १५ सयदेखि दुई हजार सिलिन्डर खपत हुन सक्छ । त्यसलाई पनि बिरामीकहाँ ल्याउने व्यवस्था गर्नुपर्छ ।
( नयाँ पत्रिका, २०७८ बैशाख १४ मंगलबारमा प्रकाशित नेपाल अक्सिजन उत्पादक संघका महासचिव नारायणदत्त तिमल्सिनासँगको अन्तर्वार्ताको आधारमा तयार गरिएको सामग्री)
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।