मदन भण्डारी राष्ट्रिय राजमार्गको मध्यभागको रेखांकन टुंगिएको छ । यो राजमार्ग शुरुमा दाङ हुँदै जाने भनिएको थियो भने पछि रोल्पा हुँदै जाने भएको थियो । अब भने रोल्पा र दाङ दुबैलाई समेट्ने गरी दुई सडक बन्ने भएका छन् ।
मदन भण्डारी राष्ट्रिय राजमार्गको मुख्य सडक (एनएच जिरो नाइन) रोल्पा हुँदै जाने छ भने सो राजमार्गको अर्को सडक दाङहुँदै रिडी–बलकोट–हंसपुर–प्यूठान, प्यूठान–सुर्खेत सडक (एनएच वान नाइन) अघि बढ्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार मुख्य सडक रिडी–तम्घास–सिमलटारी–सौतामारे–मच्छी–बिजुवार–चकचके–खुङग्री–लिवाङ्ग–घर्तिगाउँ–सुखाओडार–पातीहाल्ने–थारमारे बागचौर–सितलपाटी–खलंगा–कुभिण्डे दह–बालुवा संग्रही–बोटेचौर–भेडावारी–धुलीयाबिट–विरेन्द्रनगर पुग्नेछ ।
त्यस्तै दाङ भएर जाने सडक गुल्मीको रिडीबाटै फाट्ने छ । गुल्मी रिडीबाट फाटेर पुनः प्युठान बाग्दुलामा मिसेर पुनः सडक फाट्ने छ । रोल्पाहुँदै जाने सडक रिडीबाट तम्घास जाने र दाङहुँदै जाने सडक रिडीबाटबलकोटतर्फ लाग्ने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार रिडी–बलकोट–सन्धिखर्क–गच्छागैरा–रतनमारे–गोखुंगा–बागदुला–देवीस्थान–लोहारपानी–घोराही–तुलसीपुर–पुरन्धाराहुँदै बोटेचौरमा गएर रोल्पा सल्यानहुँदै गएको सडकसँग मिल्ने छ । यो सडक रिडीदेखि बोटेचौरसम्म फरक फरक ठाउँमा गए पनि बोटेचौरमा भने एक ठाउँमै मिल्ने छ ।
सुर्खेतको बोटेचौरदेखि पश्चिम भने साविककै रुटमा बड्डीचौर, डोटीको सिमचौर, वीपीनगर, कैलालीको सहजपुर, डडेलधुराको बुडर, जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ ।
राजमार्ग झापाको शान्तिनगरबाट सुरु हुनेछ र सुनसरीको धरान, चतरा, उदयरपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा, नवलपरासीको गैंडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको रिडी पुग्नेछ ।
यो राजमार्गको अवधारणा आउँदा शुरुमै गुल्मीको तम्घास, शिमलटारी, प्युठानको बागदुला, देवीस्थान, दाङको घोराही, तुलसीपुर, पुरनधारा, सुर्खेतको बोटेचौर पुग्ने गरी बनाइएको भए पनि रोल्पा र सल्यानका नेताहरुको जोडबलमा राजमार्गको एउटा खण्ड रोल्पा सल्यानहुँदै जान संभव भएको हो ।
उपराष्ट्रपति नन्दबहादुर पुनले नै भौतिक योजनामा मन्त्रालयमा बिशेष चासो राख्दै कुनै पनि राजमार्गले नछोएका रोल्पा र सल्यानहुँदै यो सडक लैजान ध्यानाकर्षण गराउनुभएको थियो ।
त्यसपछि रोल्पा र सल्यानका नेताहरुले निरन्तर पहल गर्दै आएका थिए । सल्यानका युवा नेता रमेश मल्लले लामो विवाद र वहसको बीचबाट ढिलो भए पनि भएको यो निर्णय स्वागतयोग्य भएको बताउनुभएको छ । एक बर्ष पहिले नै राजनीतिक तहमा टुंगो लागेको यो विषयले अहिले आवश्यक प्रक्रिया पूरा गरेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।
साविक राप्तीलाई आधार मानेर हेर्दा सल्यान र रोल्पालाई अहिलेसम्म कुनै पनि राजमार्गले छुन सकेका थिएनन् । दाङमा महेन्द्र तथा हुलाकी राजमार्ग थियो भने माओवादी शान्ति प्रक्रियामा आएपछि ‘जनयुद्धको उपहार’स्वरुप बनेको मध्यपहाडी लोकमार्गले रुकुमलाई छोएको छ ।
सो मार्गले रुकुमपूर्वको ५९ र रुकुमपश्चिमको ६४ किलोमिटर छोएर दुबै जिल्लाको भाग्यरेखा नै कोरेको छ । पछिल्लो समय निर्माण थालिएको मदन भण्डारी राजमार्गले प्यूठानलाई छुने भएपछि रोल्पा र सल्यान फेरि पूर्वपश्चिम जोड्ने राजमार्गबाट बिहीन हुने देखिएका थिए ।
जसको उच्चस्तरबाटै बिरोध भएपछि राजमार्गको पुनः रेखांकन गरिएको हो । यसबाट रोल्पा र सल्यानका बासिन्दाहरु खुशी देखिएका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।