• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पुस्तक समीक्षाः दुइतिरबाट चुम्न मिल्ने सयपत्री




पढ्दै अन्तसम्म पुगें, हेर्दै शुरुमा आएँ । शब्द र चित्र दुइ वटा शैलीमा लेखिएको मेरो जीवनमा पढिएको पहिलो पुस्तक । गजलकार सुशील गौतम र चित्रकला विमल गौतमद्धारा लिखित सयपत्री एक गजल (अनुपूरक चित्रसहित) पढिसकेपछि लाग्यो यस्तै नयाँपनको नाम नै सिर्जना हो ।

अनौठो जगमा कस्ता अनौठा व्यवहार छन्
काला कर्तुत गर्नेका उज्याला अनुहार छन्

यो मीठो र अन्यायविरुद्धको शेयरबाट शुरु भएको गजलले मलाई शब्द–शब्दबाट जागरुक बनाइरह्यो । सयपत्री गजलका लेखक साहित्यकार सुशील गौतमका विचारले घोचिरहे । जनहत्याले जनवादी बनेकाले राजधानीमा झन् ठूला दरबार बनाएको गुणासो भेटिन्छ ।

भात खाइन्छ जापानी, चीनले दिन्छ गुन्द्रुक
इण्डियाबाट भित्रेका खुर्सानीका अचार छन्

कृषिप्रधान देशको हविगत शब्द र चित्रमा हेर्न पढ्न पाइन्छ । बारी बाँझो छ । तन्नेरी खाडी मुलुकमा काम गर्छ । यता पढेलेखेका जस्ता सत्ताको चाटुकार गर्छन् । बस् उब्जिने केहि पनि होइन । मरेपछि मलामी पनि पाइदैन । सबतिर निराशा छाउँदैछ । सजक हुन सन्देश दिएको छ ।

बढ्दै गरेको खोक्रो सभ्यता र सुन्दरताको पनि कट्टर विरोध गरेको छ । गहनापात तथा फेसनको तामझामले लेखकलाई निकै अफ्ठयारो पारेको छ । उहाँले मन सुन्दर भएपछि बाहिरबाट सिक्री र हार चाहिँदैन भन्ने सन्देश दिन खोज्नुभएको । बाहिर सुन्दरताको बिरोध जनाइएको छ । गलत काम गर्नेहरुलाई निन्दा गर्नुपर्ने हो । उल्टो प्रशंसा र सुशोभित गरेको भनिएको छ ।

सामाजिक र पारिवारिक कुरा पनि गजबमा समेटिएको छ । भित्र–भित्रका कुरा पनि पत्ता लगाएको जस्तो लाग्छ । घर भाँडिएका, श्रीमती श्रीमानका झगडाका कारण पनि गजलमा छन् । उता चर्को गर्मीमा परिवारको अभाव झेल्दै कडा मेहनत गरेको देखि यता घरको खबर पनि छ । सबै महिलामा यो लागु नहोला तर व्यापक बनेको कुरा सत्य हो ।

परदेश गइ लोग्ने घर पैसा पठाउँछन्
आएको धनमा रम्ने केही पत्नी र जार छन् ।

यसैगरी जमिनको उचित व्यवस्थापन गर्न सुझाव छ । सरकारको उचित नीति नहुँदा जमिन उपयोगहीन भएको छ । घर बनाउने र खेती गर्ने ठाउँ छुट्याइन्न । उब्जनी हुने र रुखो पाखोको बर्गीकरण छैन । सिंचाई कुलो लाग्ने अब्बल खेतहरुमा प्लटिङ भएकोमा निकै बिरोध गरिएको छ । गनार खेतमा माटोले पुरेर पिलर ठड्याँदै गरेका तस्विरले कटक्कै मन खान्छन् । ठूला खेतका प्लटहरुमा ठूल्ठूला घर बनेर शहर बसेका दृश्य आँखामा घुम्छन् । पानी जाग्ने मुहानहरु सिमेन्टका घोलले टालिएको छ । जमिन सिंचित हुन पाउँदैन ।

अविवेकी हुँदा जम्मै हरियाली बन मासिए
सुनसान पँधेरा छन्, सुुकेका सिमसार छन्
लवाइखवाई बिग्रेका कुरामा पनि चिन्ता गरिएको छ । अहिले चल्दै आएको जंकफुड (पत्रुखाना) पनि गजलमा समेटिएका छन् । लगाउनेले आङको लुकाउने कुरा देखाउँछ । देखाउनु नपर्नेलाई छोप्न नसक्ने कपडा किन लगाएको होला । पोषिलो नभएको रोग ल्याउने खाना किन खानुपरेको होला । यसरी आधुनिकताका नाममा पतन हुँदै गएकोमा चिन्ता छ । प्रकृतिप्रेममा अधिक शब्द पोखिएको छ । अहिले आएको जलवायु परिवर्तनको समस्या हाम्रै आनिवानीले हो भनेर स्वीकार गरिएको छ ।

लरक्क धानका बाला बोक्ने बाला कता गए ?
घडेरी बन्नमा बाध्य सुन फल्ने गनार छन् ।

सारङगी मादल पञ्चेवाजा छोडेर गितारमै हराएकोमा पनि शब्दमार्फत चिन्ता व्यक्त गरिएको छ । मौलिक बाजाले पहिचान दिन्छ । अरुका नक्कल गर्नाले आफू हराईन्छ भन्ने यतिवेलाका मानिसमा छैन । पश्चिमा मुलुकले गरेका सबै सभ्य हुन् । उनिहरु जस्तै गरेपछि मात्रै विकसीत मानिन्छु । बाबु बाजेले गर्दै आएको न छोडे गवाँड हुन्छ भन्ने भ्रममा छ । यसलाई गलत प्रमाणित गर्न गजल संग्रह सक्षम छ । नेपाली पनका आधार बनेको छ । सबै बिग्रीएको छैन । सुधार गर्न सक्ने अनुहार छन् । गरौ भनेर उत्साह दिन्छ ।

म भन्दिनँ सबै बिग्रे पुरै सर्वस्व नाश भो
सम्भार गर्न जानेका तपस्वी क्यै मुहार छन् ।

असमानता र अत्याचारको विरोध गरीएको छ । लेख्ने बोल्नेहरु पनि कसैले न सुनिदिँदा थला पर्दै गएको भनि निराशा व्यक्त गरेको पनि बुझिन्छ । लेखेकै बोलेकै जति नहोला तर केहि भएको छ भनि लेखकलाई आशा गर्न यसै मार्फत अनुरोध गर्छ । हरेकले धेरै सोचेका छौ । आफुले कल्पना गरेको जति कसैलाई भएको छैन होला । जो हामिलाई पनि छैन । जसले समानताका नारा लगाए, अन्याए र अत्याचार विरुद्ध रगत बगाए उनैले अन्याय गर्दैछन् । थिचोमिचोमा पार्दैछन् ।
नेपालको अहिलेको दृश्यभ ने अकल्पनीय र अनौठो देखिएको छ । उनिहरुलाई भने शब्द बानले मज्जा सित घोँच्नुभएको छ ।

खाना नाना र छानाका समस्या कुर्लिए पनि
देशै खाई निदाएका कुम्भकर्णे डकार छन् ।

श्रोत नखुलाएर कपि गरीएको तस्विर देख्दा भने अलिक मन चसक्क बनायो । आफै बनाउनु बाहेक अन्तबाट तानेर हाल्दा यति कुरा ख्याल गरेको भए इमान्दारीता पुष्टि हुन्थ्यो । पढेर रस लिने सामानय पाठक भएको हुनाले केहि शब्दको अर्थ लगाउन सकिन । अलि बढि आदर्शका शब्दहरु भेटिन्छन् । यस अर्थमा निकै उच्चस्तरका र क्रान्तिकारी छन् ।

ए सुशिल नथाकेर कर्म गर्दैरहौ सधै
यद्यपि यी समस्याका भेल हेर्दा अपार छन् ।

अन्तमा विश्वास पैदा गर्ने शब्द हुनुपर्दथ्यो जस्तो लाग्यो । लेखकले विकृति र विसंगति पार पाई नसक्नु देख्नुभएको छ । सुधार अबश्य हुन्छ । बरु हाम्रा पालामा नहोला । कमजोरी पुरै खोतल्न अन्तमा आशा देखाउनेतिर सोच्नुपर्ने हो कि ? मलाई लागेको विषय मात्रै हो । पढ्दैगर्दा अलि पर सम्म गए हुन्थ्यो भन्ने सोचेकै बेला सकिन्छ ।

पढिरहँदा यि चित्रमा रंग भर्न सकेको भए किती राम्रो हुन्थ्यो भन्ने लागि रहन्छ । यति मजवुत कागज छ बरु अक्षर अलिकति बढाएको भए हुन्थ्यो । थोरै मसिना भएकि भन्ने महशुस भयो । विक्रृति विसंगतिमा तिखो व्यंग्य, अन्याए अत्याचार विरुद्ध कडा प्रहार र सुन्दर देशको कल्पना यसको केन्द्रिय भाव हो । अक्षर बोलाउन नजान्नेले पनि चित्र पढ्न मिल्ने विशेष पुस्तक हो । साक्षर र निरक्षर दुवैकालाई लागि फिट खाने पुस्तक मेरो जिवनमा नौलो हो ।

Facebook Comments