• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नयाँ पुस्ताको आकर्षक गन्तव्य– रुखमुनिको ट्रीज रेष्टुरेन्ट




कुलदीप न्यौपाने
रोल्पा त्रिवेणीका मण्डल घर्ती र अमर श्रेष्ठ प्लस टू पढ्दाका मिल्ने साथी । देशभित्रै केही गरौं भन्ने भावनाले उनीहरु बिदेश जान पनि सकिरहेका थिएनन् र देशभित्र पनि केही गर्ने आँट आइरहेको थिएन ।

दुबैले संयुक्त ब्यवसाय गर्न सकिन्छ कि भनेर धेरै संभावनाको खोजी गरे । एक दिन घुम्दै उनीहरु घोराहीको नयाँ बसपार्कबाट पक्की पुल पार गरेर डुम्मरगाउँतिर जाँदै थिए, फराकिलो ठाउँमा लहरै रुखहरु देखे । ‘ओहो कस्तो राम्रो ठाउँ रहेछ, यस्तै ठाउँमा केही ब्यवसाय गर्न पाए त मज्जा हुन्थ्यो नि !’– झण्डै तीन महिनाअघि उनीहरु दुबैले यस्तै कल्पना गरे ।

फराकिलो ठाउँ र यसमा हुर्कदै गरेका टिकका रुखहरुले घर्ती र श्रेष्ठलाई अझै लोभ्याउँदै लग्यो । बजार नजिकैको रुखको बगैचामा रेष्टुरेन्ट चलाउने, त्यसमा ग्राहकलाई रुखको छहारीसँगै सेवा दिने अचम्मको कल्पनाले लोभ्यायो उनीहरुलाई । ‘रेष्टुरेन्ट त चलाउने तर अनुभव छैन के गर्ने ?’ जहाँ समस्या त्यहाँ उपाय भनेझैं उनीहरुले झ्वाट्टै सम्झे आफूभन्दा केही सिनियर गाउँकै ‘हर्क दाई’ लाई ।

भारत र बिदेशमा समेत होटलमा सीप सिकिसकेका हर्क रोल्पामा सामान्य होटल गरी बसेका थिए । अब तीन भाइको भेटघाट र झण्डै तीन महिनासम्मको रुख बगैचाको अध्ययनपछि एउटा नयाँ योजना बन्यो– रुखै रुखै बगैचामुनि ‘ट्रीज रेष्टुरेन्ट’ चलाउने ।

अहिले आएर यो योजनाले मूर्तरुप मात्र लिएन, बिक, घर्ती र श्रेष्ठले झण्डै २५ लाखको लगानीमा डुम्मनगाउँमा चिटिक्कको ‘ट्रीज रेष्टुरेन्ट एण्ड पार्टी प्यालेस’ सञ्चालनमा ल्याएका छन् । जहाँ ब्यवसाय सँगसँगै पर्यटन प्रबर्धन पनि भइरहेको छ । ‘रुखको छहारीमा ग्राहकलाई राखेर ब्यवसाय गर्दा कस्तो होला भनेर हामीले गरेको कल्पना अहिले पूरा भएको छ’– होटल सञ्चालकमध्येका एक श्रेष्ठ भन्नुहुन्छ– ‘घोराहीमा होटल रेष्टुरेन्ट त धेरै छन् तर सस्तो दरमा फरक इन्जोय दिने हाम्रो मुख्य उद्देश्य थियो, जो पूरा हुँदैछ ।’

नभन्दै यो रेष्टुरेन्ट खुलेको छोटोमा समयमा थेग्न धौ हुने गरी ग्राहक आउने गरेका छन् । ग्राहक पनि थरिथरिका आउँछन् । अधिकांश ग्राहक फोटो र भिडियो खिच्न आउँछन् । त्यसमा पनि ‘टिकटक’का लागि भिडिया खिच्नेहरुको भीड नै हुन्छ ।

संयोग पनि कस्तो छ भने टिकको रुखमुनि टिकटक खिच्ने ब्यवस्था गरिएको छ । त्यति मात्र होइन, रेष्टुरेन्टले नै स्तरीय क्यामराको ब्यवस्था गरेर फोटो र भिडियोहरु उपलब्ध गराउँछ । ‘हामीले हाम्रो पेजमा हाल्छौं र ग्राहकले चाहे फोटो लैजाने ब्यवस्था पनि गरिदिएका छौं’– ब्यवस्थापक भ्यूमान पुनले भन्नुभयो ।

रेष्टुरेन्ट सञ्चालकहरु प्नि बहुप्रतिभाका धनी छन् । आफै कूक, आफै वेटर, आफै क्यासियर र आफै क्यामेरा पर्सनको भूमिका पनि निर्वाह गरिरहेका हुन्छन् । एकै दिन आठ सयसम्म ग्राहक आउँछन् तर अधिकांश सस्तो दरका परिकार भएकाले कारोवार भने कमै हुने गरेको छ । ‘कारोबार विस्तारै बढ्दै जाला तर अहिले कम्तीमा जमानाअनुसारको ब्यवसाय शुरु गरौं भनेर यो जमर्को गरेका हौं’– रेष्टुरेन्ट सञ्चालकमध्येका एक हर्क बिकले भन्नुभयो ।

‘नयाँ जेनेरेसनको स्वभाव र शैली बदलिएको छ, नयाँ पुस्ता खान र आराम गर्न मात्रै भन्दा सेल्फी खिच्न, टिकटक बनाउन साह्रै रुचाउने भएका छन्, त्यो आवश्यकतालाई हेरेर हामीले सिनको पनि म्यानेज गरेका छौं र फोटो खिच्नेसमेत ब्यवस्था छ’– उहाँले भन्नुभयो । झण्डै १२ कट्ठामा जग्गामा लहरै टिकका रुख छन्, त्यसभन्दा मुनि छाताको ब्यवस्था गरिएको छ र छाताभन्दा मुनि रंगीन ध्वजाहरु राखिएको छ ।

रुखसँगै सटाएर कजेटको ब्यवस्था गरिएको छ । अहिले होटल सञ्चालकसहित नौ जनाले रोजगारी पाइसकेका छन् भने ग्राहकको चाप बढिरहेकाले जनशक्ति पनि थप्ने स्थिति आउने सक्ने सञ्चालकहरुको अनुमान छ ।

रुखको संरक्षण गर्ने जिम्मासहित जग्गा लिजमा लिएकाले रुखको संरक्षण पनि भइरहेको छ । ब्यवसायको प्रमुख आधार नै रुख भएकाले रुख काट्ने अवस्था नआउँदासम्म यसमा ब्यवसाय सञ्चालन गर्ने बिक, घर्ती र श्रेष्ठको चाहना छ ।

Facebook Comments