• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा दाङले भन्यो– यो जनता र परिवर्तनको जीत हो




सर्वोच्च अदालतले गरेको ऐतिहासिक फैसलाको स्वागत गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले यो जनता र परिवर्तनको जीत भएको बताउनुभएको छ ।
फैसलालगत्तै सामाजिक सञ्जालमा प्रेस नोट जारी गर्दै जिल्ला इञ्चार्ज जीवन गौतमले न्यायप्रेमी जनतालाई बधाइ पनि दिनुभएको छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीबाट पुस ५ गते चालिएको असंवैधानिक कदम पूर्णतः असफल भएको छ । सर्वोच्च अदालतले संवैधानिक सर्वोच्चतालाई थप स्थापित गर्दै आज प्रतिनिधिसभा पुनर्स्थापना हुने फैसला सुनाएको छ । यो महान् नेपाली जनताको जीत हो’– गौतमले भन्नुभएको छ– ‘यो ऐतिहासिक फैसलासँगै नेपालको न्यायपालिकाले पुनः आफ्नो निष्पक्षता र स्वतन्त्रतालाई अझै माथि उठाएको छ, संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यो एक ऐतिहासिक नजीर र आधार बन्नेछ ।’

नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा लेखिएको संविधानमाथि गरिएको आक्रमण असफल भएको छ र जनताको संघर्षले बिजय प्राप्त गरेको उल्लेख गर्दै उहाँले थप भन्नुभएको छ– ‘यसबीचमा टोल, गाउँ, नगर, जिल्ला, प्रदेशहुँदै काठमाडौंसमेत पुगेर प्रतिगमनबिरुद्ध प्रतिरोधमा उत्रने महान् न्यायप्रेमी जनसमुदाय र नेता कार्यकर्ताहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । साथै नागरिक समाज, कानून व्यवसायी, अधिकारकर्मी, सञ्चारकर्मी, निजी क्षेत्रलगायत जुन जुन क्षेत्रबाट प्रतिगमनका बिरुद्ध आवाज उठाउँदै संघर्षमा उत्रने सबै क्षेत्रप्रति आभार प्रकट गर्दछौं ।’

प्राप्त उपलब्धिलाई जोगाउँदै थप उपलब्धिका लागि अगाडि बढ्ने यो एउटा महत्वपूर्ण खुड्किलो भएको उल्लेख गर्दै उहाँले अधिकारको रक्षा र आर्थिक सामाजिक सांस्कृतिक परिवर्तनसँगै जनताको जीवनमा आमूल परिवर्तन ल्याउने आगामी यात्रामा अहिलेको जस्तै पार्टीका नेता कार्यकर्ता, सम्पूर्ण सचेत तप्कालगायत आम जनसमुदायको अहिलेको जस्तै साथ समर्थन प्राप्त गर्ने विश्वास लिएको जनाउनुभएको छ ।
‘फेरि पनि सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछौं’– उहाँले भन्नुभएको छ ।

Facebook Comments