नेकपाको बिभाजनपछि निर्वाचन आयोगमा सेटिङको चर्चा चलिरहेको बेला सो पार्टीको विवाद मिलाउने जिम्मा एक जना नवनियुक्त आयुक्तले पाएका छन् । निर्वाचन आयोगले दल तथा दल विभाजनसम्बन्धी जिम्मेवारी नवनियुक्त आयुक्त रामप्रसाद भण्डारीलाई दिएको छ ।
नवनियुक्त आयुक्त भण्डारीले जिम्मेवारी पाएलगत्तै राजनीतिक रूपमा विभाजित नेकपाको विवादसम्बन्धी कागजातको अध्ययन थालेका छन् । भण्डारी ओलीपक्षीय महासचिव बिष्णु पौडेलनिकट मानिन्छन् । अध्ययनका लागि आयोगले आयुक्त भण्डारीलाई तीन दिनको समय दिएको छ ।
दुई आयुक्त थपिएपछि आयोगले शुक्रबार जिम्मेवारी बाँडफाँड गरेको थियो । त्यसैअनुसार कानुनी पृष्ठभूमिका भण्डारीलाई दल तथा दल विभाजनसम्बन्धी जिम्मेवारी दिइएको हो । ‘उहाँको कानुनी पृष्ठभूमि भएका कारण कानुनसम्बन्धी जिम्मेवारी दिइएको हो । माननीयज्यूहरूको छलफलले जिम्मेवारीका विषयमा छलफल गरेर उक्त निर्णयमा पुग्नुभएको हो,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘यसलाई नियमित प्रक्रिया भनेर बुझ्नुपर्छ । संवैधानिक आयोगको जिम्मेवारीमा रहेको व्यक्तिले कुनै निश्चित निर्णयमा असर पु¥याउने भन्ने हुँदैन ।’
भण्डारीसँगै डा जानकीकुमारी तुलाधरले बुधबार शपथ लिएकी थिइन् । भण्डारी र तुलाधर आयुक्त हुनुपूर्व आयोगमा दिनेश थपलिया प्रमुख आयुक्त तथा नरेन्द्र दाहाल र ईश्वरी पौड्याल आयुक्त थिए । नेकपा विवाद चाँडो नसल्ट्याए वैशाखका लागि तोकिएको निर्वाचन सम्भव नहुने पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले बताउँदै आएका छन् । नेकपा विवाद टुंग्याउन कम्तीमा ४५ दिन लाग्ने अनुमान गरिएको छ ।
निर्वाचन आयोगले नेकपाको प्रचण्ड–माधव समूहले आधिकारिकताका लागि पेस गरेको दाबीउपर अध्ययन अघि बढाएको छ । नवनियुक्त आयुक्त भण्डारीले अध्ययन प्रतिवेदन बुझाएपछि विवाद कसरी टुंग्याउने भन्ने विषयमा आयोगले निर्णय गर्ने आजको नयाँ पत्रिकामा खबर छ । यसअघि निर्वाचन आयोगको काम प्रभावित गर्न नेकपा विवाद हेरिरहेका उपसचिवको सरुवा गरिएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।