रोल्पाको गंगादेव गाउँपालिका ३ बडाढुङाका ५१ बर्षीय कालिराम खत्री (काशीराम) निरन्तर ब्यवसायिक खेतीमा लागिरहनुभएको छ ।
गोभी खेतीबाट निरन्तर ताजा तरकारी बजारमा पठाइरहेका खत्री अहिले किबी खेतीमा जुट्नुभएको छ । विगत चार बर्षदेखि उहाँ किबी खेतीमा जुट्नुभएको छ । तत्कालीन जिनावाङ गाबिसले १७ बोट किबीको विरुव दिएको थियो ।
दुइ बोट भाले र १५ बोट माउ विरुवा रोपेका खत्रीका किबीका विरुवा संख्याका हिसाबले त बढेका छैनन् तर खेती भने सोचेभन्दा कयौं गुणा बढिरहेको छ । यो खेतीको बारेमा खासै जनकारी नभए पनि लहलहैमा खेती शुरु गरेका खत्रीअ हिले भने खुशी हुनुभएको छ किनकि उहाँको खेती झनपछि झन फष्टाउँदै गएको छ ।
भए होला नभए मासेर तरकारी खेती गरौला भन्ने सोंचले उहाँले खेती गरेको बताउनुभयो । लगाएको दोश्रो बर्ष सात वटा मात्रै फल दिएको किबी तेस्रो बर्ष भने पैतीस किलो फल्यो । यो बर्ष भने उहाँले पाँच क्विन्टल बिक्री गर्ने अपेक्षा गर्नुभएको छ ।
‘लगाउने मन त थियो तर नयाँ खेती कस्तो हुने हो भनेर लगानी गर्न सकिनँ’ उहाँले भन्नुभयो– ‘अहिले फलेको देख्दा भने खुशी लागेको छ, अब लगानी बढाउने छु ।’
शुरुमा दुई रोपनीबाट सुरुवात गरिएको किबी खेती यसपालि बढाएर छ रोपनीमा लगाउने खत्रीको योजना छ । ‘गतबर्ष थोरै मात्रै फल्यो । दुई सय पचास प्रतिकेजीको दरले गाउँमै बिक्री भयो’– खत्रीले भन्नुभयो– ‘यस बर्ष उत्पादन बढेकाले मूल्य भने कम हुनसक्छ तर उत्पादन धेरै बढ्ने आशा गरका छौं ।’
तरकारी छिमेकी जिल्ला सल्यान र दाङमा बिक्री भए पनि किबी नौलो फल भएकाले यहाँ त्यति बजारको सम्भावना नदेखेर काठमाण्डौको ब्यापारीसँग सम्पर्क स्थापित गरेको उहाँले बताउनुभयो ।
यो खेतीका लागि शुरुमा लगानी लागे पनि त्यसपछि धेरै लगानी गर्नु पर्दैन । चैतमा फूल्ने किबी मङ्सिरमा खानको लागि तयार हुन्छ । अर्का अगुवा इन्द्रबहादुर खत्रीले पनि किबी खेती गर्नुभएको छ । बजार पायो भने राम्रो अन्यकिसानले पनि खेती गर्ने संभावना रहेको छ ।
यो क्षेत्र स्याउका लागि प्रख्यात छ । अब किबीको पनि खेती हुन थालेपछि किसानहरु थप आशावादी भएका छन् ।
उत्पादन भएको मात्रै बिक्री भए पनि प्रशस्त आम्दानी गर्न सकिने स्थानीयको विश्वास छ । गत बर्ष तीन ट्रक गोभी फले पनि लकडाउन र बाटो अभावले बिक्री नभएको पीडा यो ठाउँले भोगेको छ । लुम्बिनी प्रदेश सकारको चार लाख सहयोगमा दुइ हजार नौ सय मीटर टाढा चामेखोलाबाट ड्याम बनाएर पानी ल्याएपछि यहाँ सिंचाइ सुविधा पनि पुगेको छ । यद्यपि पानी पर्याप्त भने छैन ।
किबी आर्थिक हिसाबले राम्रो सम्भावना बोकेको खेती हो । यो एक प्रकारको फल हो, यसको आकार पाकेको टमाटर जत्तिकै हुन्छ । बोटको लहरा हुन्छ, त्यही झाङ्गिएको लहरामा किबी फल्छ । किवी फल लहरा प्रजातिको भएकाले यसको बोटलाई सपोर्ट चाहिन्छ । त्यही सपोर्टमा झाङिन्छ, फूल्छ र फल्छ ।
फलको बाहिर खैरो झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमागुदी देखिन्छ । हरियो रङभित्र निकै मसिना दाना हुन्छन । बाहिरको बोक्रा फालेर भित्रको गुबी खाने गरिन्छ । बोटमा नपाक्ने हुँदा खसेर नोक्सान हुँदैन । यहाँको किबी पूर्ण अर्गानिक रहेको स्थानीयको भनाइ छ । यहाँको हावापानीमा राम्रो उत्पादन हुने स्थानीयको विश्वास छ । यो फल खानको लागि स्वादिलो हुनुको साथै पोषिलो र औषधीय गुणसमेत भएको मानिन्छ ।
बिदेशमा धेरै अघिदेखि नै खेती र प्रयोगमा रहे पनि नेपालमा भने केहीबर्षदेखि मात्रै किबीको ब्यवसायिक खेती शुरु गरिएको हो । बिदेशमा फलामको खम्बाहरु गाडेर त्यसमा फलामकै तारले माथिबाट उनेपपछि त्यसमा राम्रो सँग फैलिने गरे पनि नेपालमा मझौला रुख किबीका सहारा बन्ने गरेका छन् । बोटमै केही पाके पनि खास पाग्दैन । काँचोमा यसको फल अमिलो हुन्छ ।
यसलाई टिपेर गुम्साएर राखेपछि केही दिनमा पाक्दछ र गुलियो हुन्छ । पाइकिसकेको फललाई एक डेढ महिनासम्म यत्तिकै पनि राख्न सकिन्छ भने फिँजारेर हावा र घामदेखि जोगाएर राखेमा दुई तीन महिनासम्म पनि बिग्रदैन । यसलाई ताछेर चाना सलादको रुपमा पनि प्रयोग गरिन्छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।