कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रतिनिधिसभा विघटनले राष्ट्र, राष्ट्रियता, संविधान र सङ्घीयता खतरामा पुगेको बताउनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले यस गम्भीर परिस्थितिलाई सुल्झाउने जिम्मेवारी न्यायालयको काँधमा आइपुगेको बताउनुभयो ।
मुख्यमन्त्री शाहीले भन्नुभयो, “मुलुकमा स्थायी सरकार, समृद्धि र विकासका लागि मध्यावधि निर्वाचन समाधान होइन । ।” प्रतिनिधिसभा विघटनको नजीर बस्नु राम्रो नभएको उहाँले बताउनुभयो ।
उहाँले अहिले सामना गरिरहेको अवस्थाबाट अघि बढे देशमा धेरै प्रधानमन्त्री बन्ने तर मुलुक अस्थिर राजनीतिको चङ्गुलमा फस्ने तर्क गर्दै यसले मुलुकको विकास १० वर्षपछि धकेलिने जनाउनुभयो ।
मुख्यमन्त्रीले रणनीतिक महत्वका योजना बन्न नसके पनि कर्णालीमा शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारको विकास हुँदै गएको जनाउनुभयो । उहाँले कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पनि केही दिनपछि विस्तार गरिने जनाउनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।