• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कक्षा ११ को नयाँ पाठ्यक्रममा कुन कुन बिषय पढाई हुन्छ ?




यसपटकदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु भएको छ । चार महिनाअघि नै सरकारले नयाँ पाठ्क्रम लागु गरे पनि यसबिरुद्ध सर्बोच्च अदालतमा मुद्दा परेपछि अलमल देखिएको थियो । तर, पुस २८ गते सर्वोच्च अदालतले सो रिट खारेज गरेपछि नयाँ पाठ्यक्रम नै सुचारु हुने भएको छ ।

नयाँ पाठ्यक्रम अनुसार ११ कक्षामा नेपाली, अंग्रेजी र सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा गरी तीन विषय अनिवार्य पढ्नुपर्नेछ भने अन्य तीन विषय ऐच्छिक अर्थात मेजर विषयको रुपमा पढ्नुपर्नेछ । अहिलेसम्म तीन ऐच्छिक र दुई अनिवार्य विषय पढ्नुपर्‍थ्यो ।

पाठ्यक्रम विकास केन्द्रले यसपटकदेखि संकाय खारेज गरेको छ । अब पहिले जसरी, विज्ञान, व्यवस्थापन, मानविकी वा शिक्षा, संकाय भनेर छनोट गर्नुनपर्ने केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराई जानकारी दिए ।

ऐच्छिक विषय छनोटका लागि विषयगत चार समूह निर्माण गरिएको छ । विद्यार्थीले ती चार समूहमध्ये तीन समूहबाट आफूले चाहेको विषय छनौट गर्नसक्ने निर्देशक भट्टराईले जानकारी दिए । चार समूहमा ७९ वटा ऐच्छिक विषय छन्, ती मध्ये विद्यार्थीले स्नातक र स्नातकोत्तर तहमा के पढ्ने भन्ने कुरालाई ध्यानमा राखेर ११ कक्षामा विषय छनौट गर्न सक्नेछन् ।

जस्तै स्नातकमा कुनै विद्यार्थीले विज्ञान संकाय पढ्न चाहन्छ भने उसले, गणित, फिजिक्स, केमेष्ट्री, बायोलोजी लगायत विज्ञानसँग सम्बन्धित विषय छनौट गर्नुपर्नेछ ।

त्यस्तै व्यवस्थापनतर्फ जान चाहने विद्यार्थीले अर्थशास्त्र, फाइनान्स, मार्केटिङ, बिजनेस स्टडीज, अकाउण्ट जस्ता ऐच्छिक विषय छनौट गर्न सक्नेछ । यसरी नै स्नातकमा अध्ययन गर्न चाहने विषय अनुसार नै विद्यार्थीले ११ कक्षामा विषय छनौट गर्नुपर्ने उनको भनाई छ । बाँकी रहेको चौथो समुहबाटपनि विद्यार्थीले सय पुर्णाङ्कको थप एउटा विषय पनि पढ्न सक्नेछन् ।

अनिवार्यमा थपिएको सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा

अहिलेसम्म ११ कक्षामा नेपाली र अंग्रेजी गरी दुई विषय मात्र अनिवार्य विषयका रुपमा रहेकोमा यस वर्षदेखि सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा थप गरिएको छ ।

अध्ययन अध्यापनमा सैद्धान्तिकभन्दा व्यवहारिक र प्रयोगात्मक पक्षमा बढी जोड दिनुपर्ने भएकाले ज्ञान, सीप, अभिवृद्धि र मूल्यको विकासमा बढी जोड दिन सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षाको पाठ्यक्रम तयार गरिएको सरकारकाे दाबी छ । समाजको अध्ययनसहित जीवनोपयोगी सीप विकास गराइ मानवीय मूल्य र मान्यतासहित लोकतान्त्रिक समाजमा अनुकूलन हुन सक्ने सक्षम नागरिक तयार पार्ने उद्देश्यले कक्षा ११ र १२ मा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको पाठ्यक्रम तयार गरिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

यस विषयको पाठ्यक्रममा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अवधारणा, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अन्तरसम्बन्ध र विधि, जीवनोपयोगी सीप, मानव समाजको उद्भव र विकास, समाजको विकास र दर्शन, भूगोल र सामाजिक जीवन, विश्व र नेपालको इतिहास, सामाजिक पहिचान र विविधता, संविधान र नागरिक सचेतना, बस्ती, जनसङ्ख्या र विकास, शहरीकरण र बसाइँसराइ, शिक्षा र विकास, स्वास्थ्य सेवा र सामाजिक विकास, अर्थतन्त्र र विकास, समसामयिक घटना जस्ता विषय समेटिएको छ ।

यो विषयको अध्ययन अध्यापनका लागि पाठ्यक्रम विकास केन्द्रले हप्तामा ५ पाठ्यघण्टा र वर्षमा १ सय ६० कार्यघण्टा छुट्याएको छ । सैद्धान्तिक विषयवस्तुमा १ सय २० कार्यघण्टा र व्यावहारिक अभ्यासको लागि ४० कार्यघण्टा गरी वार्षिक १ सय ६० कार्यघण्टा छुट्याइएको केन्द्रले जनाएको छ ।

जीवन उपयोगी शिक्षा पढ्नुका फाइदा
सामाजिक जीवनमा काम लाग्ने व्यावहा‍रिक शिक्षा पढ्न पाउनु नै यो विषयको फाइदा रहेका पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईको भनाइ छ ।

यो विषयमा जीवनमा आवश्यकपर्ने व्यावहारिक शिक्षा र सीप सिक्न पाइन्छ । साथै नेपालको संस्कृति, परम्परा, भौगोलिकता, अर्थतन्त्र लगायतका विषमा पनि ज्ञान लिन सकिन्छ । साथै यो विषयमा अप्ठ्यारो पर्दा चाहिने सीप, समाजमा घुलमिल हुन आवश्यक पर्ने गुण लगायतका विषयको पनि ज्ञान लिन सकिने उनको भनाइ छ ।

यस विषयमा समाजका विभिन्न पक्षलाई प्रयोगात्मक रुपमा चिन्न पाउने व्यवस्था पनि गरिएका कारण यो निकै नै प्रभावकारी हुने दाबी सरकारको छ ।

Facebook Comments