• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘क्रान्ति आमा सीता मेडम’ प्रति भावपूर्ण श्रद्धाञ्जली




नरेन्द्र केसी
नेपाललाई गणतान्त्रिक विहानीको उपहार दिन सफल दश बर्षे माओवादी जनयुद्ध कुनै एक व्यक्तिका कारण सफल भएको थिएन । यसमा हजारौंले प्रत्यक्ष बलिदान दिए भने लाखौंले रगत पसिना बगाए । सँगसँगै कतिपय यस्ता पात्र पनि छन्, जो पर्दाभित्र रहेर निरन्तर क्रान्तिमा योगदान दिइरहे । तीमध्ये एक हुनुहुन्छ– सीता महरा ।

माओवादी जनयुद्धको उद्गमस्थल हो– रोल्पा रुकुम । रोल्पा रुकुममा पनि कतिपय यस्ता पात्र छन्, जसले क्रान्तिकारी यौद्धाहरु जन्माए । रोल्पा अहिले दर्जनौं नेताहरुको जिल्लाको रुपमा चिनिन्छ, उनीहरु त्यतै नेता भएका होइनन् । उनीहरु सबैलाई क्रान्तिकारी बनाउने जस कुनै नेतामा जान्छ भने त्यसको जस जान्छ– कृष्णबहादुर महरामा । त्यसैले सबै नेताहरुलाई महरालाई नेता मात्र मान्दैनन्, अहिले पनि ‘महरा सर’ भनेर सम्बोधन गर्दछन् ।

यो कुनै औपचारिकताको शब्द होइन, औपचारिक शिक्षादेखि कम्युनिष्ट क्रान्तिमा होम्न योग्य बनाएकै कारण अहिले पनि उपराष्ट्रपति नन्दबहादुर पुन, उर्जामन्त्री बर्षमान पुनदेखि नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सम्मले प्रयोग गर्ने सम्मानको शब्द हो– महरा सर । एक जना विज्ञान शिक्षक ‘महरा सर’लाई ‘क्रान्तिकारी यौद्धा र कमाण्डरहुँदै राज्यको भिभिआइपी ‘सम्माननीय’सम्म पु¥याउन कसैको महत्वपूर्ण योगदान छ भने जीवनसाथी सीता महराको छ ।

श्रीमान क्रान्तिमा होमिएपछि शुरुशुरुमा घरमै बसेर छोराछोरी हुर्काउने प्रयत्न गर्नुभयो उहाँले । तर, सरकारको कठोर दमन सहनुपरेपछि उहाँ पनि साना नानीबाबुसहित भूमिगत हुनुभयो ।

भूमिगत हुँदा उहाँ निकै ‘लो प्रोफाइल’मा पनि बस्नुभयो । दाङको तुलसीपुर बजारको दक्षिणतर्फ कोठा गरेर बस्ने बेला संगत गरेकाहरु त्यतिबेला सीताले बिभिन्न बहाना गर्दै आफू र छोराछोरीको सुरक्षा गरेको सम्झन्छन् ।

लामो समयसम्म श्रीमान नआउँदा छिमेकीले सोधीखोजी गर्दा श्रीमान् ट्रक चालक रहेको र कामले आउन नभ्याउने जवाफ दिंदै छोराछोरीको हेरचाह गर्नुभयो । श्रीमान त्यतिबेला जनयुद्धको तुफानी केन्द्र राप्ती उपब्यूरोको ‘चालक’ भए पनि ट्रक चालकको श्रीमतीको रुपमा आफूलाई चिनाएर उहाँले छोराछोरीको सुरक्षा दिनुभयो । विस्तारै छोराछोरी ठूला हुँदै गएपछि उहाँ पनि क्रान्तिमा होमिनुभयो र छोराछोरीलाई पनि क्रान्तिमै होम्नुभयो ।

छोरा निर्मल महरा जनमुक्ति सेनाकै कमाण्डर हुुनुभयो भने कान्छा छोरा राहुल पनि जनमुक्ति सेनामै जानुभयो । जेठी छोरी उन्नतिलाई पार्टी काममै लगाउनुभयो भने कान्छी छोरी प्रगति सामना सांस्कृतिक परिवारको स्थापित कलाकार नै बन्नुभयो ।

यसरी सबै परिवारलाई नै क्रान्तिमा होमेर आफू पनि निरन्तर पार्टी काममै रहनुभयो ‘सीता मेडम’ । धेरैले सीता मेडम भने पनि उहाँ क्रान्ति आमा हो, जसको प्रत्यक्ष सहयोगमा क्रान्तिकारी यौद्धाहरु जन्मे ।

नेपालमा नेताहरुलाई श्रीमतीले बिगारेको खुबै चर्चा चल्छ । श्रीमान २०४८, २०६४, २०७० र २०७४ सालमा सांसदमा निर्वाचित हुनुको साथै शान्ति वार्तामा संयोजक र सदस्य, पटकपटक मन्त्री, त्यो पनि शक्तिशाली उपप्रधान तथा गृहमन्त्री र प्रतिनिधिसभाको सभामुखसम्म पुग्दा पनि सीता मेडमले कतै निजी र पारिवारिक स्वार्थका लागि श्रीमान्को पदको दुरुपयोग गर्नुभएन ।

आफू निरन्तर सहयोगी भूमिकामा रहेर श्रीमान र छोराछोरीको राजनीतिक जीवन तथा देशको परिवर्तनमा जीवनभरि लागिरहने क्रान्तिआमा सीता मेडमले अल्पायुमै धर्ती छाड्नुभएको छ ।

गएको दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं लगेर नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार आज बिहान ६स्२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ। सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित हुनुहुन्थ्यो।
सीता महरा वि.सं. २०१८ साउन १३ गते शुक्रबार बुवा मुक्तबहादुर थापा र आमा खिर्मादेवी थापाको कोखबाट रोल्पाको गजुल धौलेगाउँमा पहिलो सन्तानको रुपमा जन्मिनुभएको थियो।

कृष्णबहादुर महरासँगै २०३५ सालमा विवाह भएको थियो। उहाँका दुई छोरा र दुई छोरी रहेका छन्। महरा भूमिगत भएपछि तत्कालीन राज्यले धेरैपटक शारिरीक मानसिक यातना दिनुका साथै केही दिन हिरासतमा पनि लिएको थियो।

२०५४ साउन २९ गते राती रोल्पा मेबाङस्थित घरमै आएर नाबालक छोराछोरीलाई घरमा थुनेर गिरप्तार गर्न थालेपछि उनी प्रहरीको घेरा तोड्न सफल हुनुभएको थियो। त्यसपछि घरभित्र थुनिएका छोराछोरी पनि घरपछाडिको ढोकाबाट भागेर बाँचेका थिए। त्यहीँ दिनदेखि घर छोडेका महरा परिवार नै पूर्णकालीन कार्यकर्ताको रुपमा जनयुद्धमा सहभागी भएका थिए।

‘क्रान्ति आमा सीता मेडम’ प्रति भावपूर्ण श्रद्धाञ्जली ।

Facebook Comments