• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बोगटीस्मृति दिवसः डा. भट्टराइको नजरमा बोगटी




माओवादी जनयुद्धका पश्चिम नेपाल कमाण्डर पोष्टबहादुर बोगटी ‘दिवाकर’को निधन भएको छ बर्ष पूरा भएको छ । छैटौं स्मृति दिवसका अवसरमा हामीले बोगटीलाई सम्झने प्रयास गरेका छौं । सहयौद्धा डा. बाबुराम भट्टराइले बोगटीलाई कसरी मूल्यांकन गर्नुहुन्छ, हामीले यहाँ प्रस्तुत गरेका छौंः

कुनै पनि क्रान्तिकारी आन्दोलनको विकासमा समाजको उत्पीडनमा परेका समूह वा वर्गको सामूहिक योगदान सर्बाधिक महत्वपूर्ण हुनेगर्दछ तैपनि व्यवहारतः आन्दोलन अगाडि बढ्ने क्रममा उक्त आन्दोलनको नेतृत्व केही नेतामा केन्द्रीकरण हुन्छ र उनीहरु बढी स्थापित हुन्छन् । केही आन्दोलनमा यस्ता केही पात्र पनि हुन्छन्, जसले कम चर्चा पाएर अरु सबैले भन्दा बढी योगदान गरिरहेका हुन्छन् ।

माओवादी पार्टी र कम्युनिष्ट आन्दोलनमा कमरेड पोष्टबहादुर बोगटी ‘दिवाकर’ यस्तै पात्रमध्ये एक हुनुहुन्थ्यो । पदीय जिम्मेवारीकै हिसाबले हामी भन्दा कम जिम्मेवारमा रहनुभयो । यद्यपि मैले आज इमानदारीपूर्वक भन्नुपर्छ कमरेड बोगटीको योगदानबिना न प्रचण्डको यो उचाई हुन्थ्यो, न बाबुराम लगायतका नेताहरु स्थापित हुन्थे । हामीले इमान्दारितापूर्वक इतिहासमा रेकर्ड गराउनुपर्छ, यसलाई होनहार कमरेडहरु, जसले आफु पृष्ठभूमिमा गुमनाम बसेर पार्टी र क्रान्तिलाई अगाडि बढाए ।

धेरै नेता कार्यकर्तालाई कमै थाहा छ, जब पार्टीभित्र अफ्ठ्यारा क्षण आउँथे, कुनै जनवर्गीय संगठन वा भूगोलभित्र विवाद र अन्तरविरोध हुन्थ्यो, त्यो समस्या हल गर्न गाह्रो हुँदा सबैभन्दा पहिले हाम्रो दिमागमा बोगटीजीको नाम आउँथ्यो । जनयुद्ध सुरुवात गरे लगत्तै २०५३ मा हाम्रो मुख्य आधार इलाका रोल्पा, रुकुम, सल्यान जाजरकोटको जिम्मेवारी लिनुभएका कमरेडहरु कारबाहीमा पर्नुभयो । अध्यक्ष कमरेड प्रचण्ड र मैले यहाँ कसलाई पठाउने भन्ने छलफल गर्यौं । हाम्रो दिगामा झ्वाट्ट नाम आयो बोगटीजीको ।

उहाँ त्यति ठूलो चर्चामा आएको व्यक्ति हुनुहुन्थेन तर हामीलाई विश्वास भयो यो घडीमा आएको यो जिम्मेवारी उहाँले पूरा गर्न सक्नुहुन्छ । हामीले उहाँहालाई २०५३ को शुरुमै मुख्य आधार इलाकाको इन्चार्ज बनाएर पठायौं । त्यसपछि जनयुद्धको मुख्य आधार इलाकाको मुख्य कमान्डर बोगटीजी हुनुभयो । धेरैले त्यतिबेलाको कमाण्डरको रुपमा अरु मान्छेको नाम लिन्छन् तर त्यो यथार्थ थिएन । शान्ति प्रक्रियापछि मधेसमा समस्या पर्यो, हामीले त्यहाँ पनि समस्या समाधान गर्न बोगटीजीलाई पठायौं ।

यसरी विभिन्न मोर्चामा समस्या हुँदा हाम्रो पहिलो ध्यान बोगटीजीमा जान्थ्यो । हाम्रो पार्टीमा बेलाबेला बिभिन्न बहसहरु भए । एक आपसमा ठूलाठूला आरोप–प्रत्यारोप चल्यो । हामीले कथित आरोपित र अनियमितताको छानबिन गर्ने आयोग बनायौं र त्यसको इन्चार्ज बोगटीलाई बनायौं । उहाँमा निष्ठा, इमान्दारिता, प्रतिभा हुँदैनथ्यो भने त्यति ठूलो जिम्मेवारी पार्टीले दिँदैन्थ्यो । उहाँले जुनसुकै जिम्मेवारी पनि बहन गर्नुभयो, त्यसैले बोगटीजीविनाको माओवादी आन्दोलन संभव थिएन । किनकि पार्टी आन्दोलनमा विभिन्न प्रवृत्तिहरु भइरहन्छन् । दायाँबायाँ अतिवादी प्रवृत्ति पनि हुन्छन् तर बोगटीजीमा त्यो अतिवादी प्रवृत्ति कहिल्यै देखिएन । सन्तुलित ढंगले क्रान्ति पार्टी र आन्दोलनप्रति निष्ठाका साथ अगाडि बढ्नुभयो ।

पार्टीको विषयमा राय सुझाव लिन पार्टीका सिनियर कमरेड कमेडहरुलाई २०७१ २४ भदौको बेलुका मेरो निवासमा बोलाएको थिएँ । यो नै उहाँसँगको अन्तिम राजनीतिक कुराकानी हुन पुग्यो । त्यतिबेला हामीले तीन चार घण्टा लामो छलफल गरेका थियौं । अरु कमरेडहरु विदा भइसकेपछि उहाँले बडो गम्भीर भाव भन्नुभयो– कमरेड, म हमेसा यो पार्टी क्रान्तिकारी रहोस्, एकताबद्ध भइराखोस्, कमरेड प्रचण्ड र तपाईंको बीचमा एकता भइराखोस् भन्ने मान्छे हुँ तर कहिलेकाहीँ दुवै पक्षबाट शंकाको दृष्टिले हेर्दा बडो दुःख महसुस हुन्छ । मैले भने– कमरेड त्यसमा तपाईं निश्चिन्त हुनुस्, कमरेड प्रचण्ड र मलाई बोगटी को हो भन्ने राम्ररी थाहा छ । यो पार्टी एकताबद्ध बनाउन तपाईंको कति भूमिका छ र हामीलाई अफ्ठ्यारा क्षणहरुमा घच्घच्याएर तपाइँको भूमिकाबारे हामीलाई कुनै दुविधा छैन ।

भदौ २६ गते बिहान बालुवाटारमा तीनदलको बैठक थियो । त्यहाँ जानुभन्दा पहिले हामीले अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा भेट गरेका थियौं । तीन दलको बैठकमा गर्नुपर्ने छलफलको बारेमा कुराकानी गरेपछि उहाँले सामान्य कुरामै अनायस भन्नुभयो– ‘कमरेड मेरो त परिवारमा बाबुबाजे ७० कोही पनि नाघेको छैन सायद मेरो पनि यस्तै होकि !’ मैले तुरुन्तै भनें– तपाईंले के कुरा गर्नुभएको यस्तो, जतिबेला भन्दा बाबुबाजे ६५–७० बर्ष बाँच्थे त्यतिबेला नेपालीको औसत आयु ४०–४५ को मात्र हुन्थ्यो तर अहिले हाम्रो औसत आयु ७० वर्ष पुगेको छ, हामी त सहज ८०–९० बर्ष बाँच्छौं ।

बिडम्बना, त्यसैदिन राति उहाँलाई मस्तिष्कघाट भएछ । थाहा पाउनेबित्तिकै अध्यक्ष र म गंगालाल अस्पताल पुग्यौं । हामी दुबै जनाले उहाँको वहालाई रबीजी भनेर बोलाउँदा उहाँले हेर्ने कोशिस गर्नुभयो । उहाँको पुरानो नाम रवि थियो, हामी पनि रबीजी भन्थ्यौं । तर उहाँ हामीसँग बोल्न नसक्ने अर्धचेत अवस्थामा हुनुहुँदोरहेछ । हामीले ठान्यौं, उहाँलाई हृदयघात मात्र भएको छ तर उहाँलार्य मस्तिष्कघात पनि भएछ।

कम्युनिस्टहरू अक्सर भन्ने गर्छन्, कम्युनिष्ट हुन दुइ वटा गुण हुनुपर्छ लाल र निपुण । बोगटी एउटा सामान्य किसान परिवार बताउनुभएको, सामान्यस्कुले शिक्षामा मात्र लिनु भएको व्यक्ति तर उहाँमा क्रान्तिप्रति जुन निष्ठा थियो, त्यसले गर्दा उहाँले कठिन भन्दा कठिन काममा पनि विज्ञता हासिल गर्नुभयो ।

जनयुद्धकालमा उहाँले भेट्यो कि नयाँ किताब के छन्, पढ्नुपर्ने के छ भनेर सोध्नुहुन्थ्यो । अंग्रेजी पढ्न गाह्रो हुँदाहुँदै पनि उहाँले हिन्दी र नेपाली भाषामा दर्शनशास्त्र देखि राजनीतिशास्त्रका सबै विषयमा असाध्यै गहन र रुचिपूर्वक पढ्नुभयो । उहाँको सैद्धान्तिक स्तर र उहाँले गरेका तर्क सुनेर हामी पनि हैरान हुन्थ्यौं । साँच्चिकै लाग्थ्यो मान्छे लाल भयो भने निपुण हुन समय नलाग्दो रहेछ ।

सम्पूर्ण निष्ठाका साथ आन्दोलनमा समर्पित भएपछि असम्भव जस्तो लाग्ने विषय पनि संभव हुँदो रहेछ । कमरेड दिवाकरले व्यवहारिक रुपमा पुष्टि गरेर हामीलाई यस्तो शिक्षा दिनुभएको छ । यही शिक्षकलाई हामीले जीवन व्यवहारमा प्रयोग गर्दा नै उहाँ प्रति चाँचो श्रद्धाञ्जली हुनेछ ।

(साभारः मूल प्रवाह मासिक, बर्ष १४, अंक २, २०७१ कार्तिक)

Facebook Comments