सबैका बाबा परिवारका नियम, कानून, प्रत्यक्ष भगवान्, अन्नदाता, आशाभरोसाका केन्द्रबिन्दु, कर्मदाता, भाग्यविधाता, अनुकरणीय अभिभावक, संरक्षक, ठुलो रुखको छहारी, परिवारको मियो, आदर्श पुरुष एवम् सर्वस्व हुन् । हामी सबैले भोग्दै र देख्दै आएको सत्य हो कि हरेकका बाबासँग विशेष राग र तेज हुन्छ र त्यहीं रागको अगेनो तापेर पारिवारिक जीवन सहज गतिमा निरन्तर तेजोमय भइरहन्छ । परिवारमा बाबाले देखाउने रागबाग सदैब परिवारको उन्नतिप्रगतिसँग जोडिएको हुन्छ । बाबु हुनुको यथोचित हैकम भएन भने त्यो परिवार विरलै उभो लाग्ने सत्य नकार्न सकिदैन । हरेक वर्षमा विशेष दिनहरुमा एक दिन बाबाको मुहार हेर्नका लागि छुट्याइएको हुन्छ । यसरी विशेष दिन निर्धारण गर्नुका आफ्नै विशिष्ट धार्मिक, मानसिक, शास्त्रीय, सामाजिक एवम् पारिवारिक आधार पक्कै छन् ।
हाम्रा जायजन्म, पहिचान, कुलवंश, खानदान, हैसियत, जातथर, धर्मकर्म, संस्कृति, चिन्तन, दृष्टिकोण, शारीरिक संरचना, बौद्धिकता, सहनशीलता, सङ्घर्ष, उत्तराधिकार, सामाजिक प्रतिष्ठा, जीवनका आरोह अवरोह आदि यावत कुराहरु बाबासँग प्राकृतिक, मानसिक, सामाजिक, धार्मिक, साँस्कृतिक एवम् कानुनीरुपमा बाबासँगै जोडिएका छन् । बाबाको दिव्यमुहारको रसपान गर्दै सँगसँगै कर्मपथमा क्रियाशील हुने अवसर सबैले सदैव समानरुपमा पाउन सक्दैन । यही अभावको खड्को पुरा गर्न र बाबाको आन्तरिक र वाह्य मुहारको सकरात्मक प्रभाव ग्रहण गर्नका लागि निर्धारण गरिएको यस दिव्य दिनमा मैले बाबाबाट भोगेका केही रागात्मक अनुभूतिलाई चिमोटेर आफ्नै विगतलाई अन्तरमनले सुम्सुम्याउँन मन लाग्छ ।
मेरा बाबाका पारिवारिक दायित्व, सामाजिक भूमिका, साँस्कृतिक पाटो ,जीवन सञ्चालनका गतिविधि, सीप तथा क्षमता, कार्यकुशलता र दक्षता, लोकसाहित्यिक पाटो, टेकेभागेको माटो,परम्पराको शिरोधार्य, राजनैतिक चिन्तन, अर्थउपार्जनको बाटो, पाएको ख्याति, गुमाएको मति, भरपुर वंशर्वद्धि, सामाजिक हैकम, तत्क्षणका रागबाग, सकारात्मक र नकरात्मक आनिबानी, पुरुषार्थका कथा, जीवन भोगाइका व्याथा, पाएका सन्तुष्टि, भोगेका असन्तुष्टि, अग्रगामी तथा पश्चगामी गतिविधि आदि यावत विषयमा हेरेक शीर्षकमा लामा लामा आख्यान बन्नसक्छन् । यी यावत विषयका पाटोलाई थाँति राखेर यतिबेला सङ्क्षेपमा मैलै बाल्यकालमा देखेभोगेका र बारम्बार सम्झना भइरहने बाबाका पारिवारिक हैकम र रागबागका केही ससाना बाँछिटा कोट्याएर बाबाको बाहिरी र आन्तरिक मुहारको तृप्तीपान गर्न चाहेको छु र यी कुरालाई मैलै सकारात्मकरुपमा नै लिएको छु र लिइरहने छु ।
राग नं १)
–एकदिन बुबाले मोही पार्दै हुनुहुन्थ्यो । मोही छिन्यो (तयार) कि छिनेर भनेर हर्नका लागि मलाई निगालोको भाङ्ग बाल्न भन्नु भयो । मैले भाङ्ग बालेर दिनलाई उठेर पुग्न लागेको बेलामा एक्कासी मैले आवाज निकाल्दै अपनवायु (पाद) छाड्न पुगें । बाबाले त्यहीं निगालोको भाङ्गले टाउकोमा हिर्काउनु भयो । त्यो निगालोको भाङ्ग फुटेर मेरो निधार काटियो र तप तप रगत चुहियो । अझैं पनि त्यस घाउको खत मेरो निधारमा देखिन्छ । मैले नियालेर ऐना हेर्दा सदैव बुबालाई सम्झिरहन्छु ।
राग नं. २)
–दिदी शारदा र म बेलाबेलामा लुकामारी खेल्ने गर्दथ्यौं । म जहाँ लुके पनि दिदीले भेटाउने भएपछि पटक्कै नभेटिने गरि ढुङ्गेघरको छानामा चढेर धुरीमा दुवैतिर खट्टा फालेर घोडा चढेंझैं गरी बसेको थिएँ । दिदी शारदाले जति कोशिष गरे पनि मलाई भेटाउन सक्नु भएको थिएन । मेरो अक्कलदेखि म आफैं छक्क परेको थिएँ र विन्दास पारामा स्वर्गीय आनन्द लिइरहेको थिएँ । त्यही बेलामा बाबा कताबाट आइपुग्नु भयो र अलि टाढैबाट ‘पख पख तलाई पख’ भन्दै कराएँको देखें । मेरो होस सबै गुम्यो । खै कसरी छानाबाट क्षणभर मै तल आर्लिएँ थाहै भएन । आज राम धुलाई खाइन्छ भन्ने डरले हत्त न पत्त झरेर भाग्नका लागि घरको ढोका नेर पुगेको मात्र के थिएँ, बाबाले लठ्ठीले टाउकाहिर्काउनु भयो । म बङ्ग्रङ्ग लडें । लट्ठी पनि भाँचियो । अनि म लडेको बेलाम लात्तीले फचका दिनुभयो । केही क्षण पछि उठेर हेर्दा मेरो जाङेभरि (हापपैन्ट) दिसा लागेको थियो । ‘हग्ने गरि पिटाइ खालास्’ भनेको यस्तो पो रहेछ भन्ने ज्ञानको बोधभयो । अहिले छोराछोरीले लुकामारी खेलेको देख्दा बाबालाई झल्झली सम्झन्छु ।
बुवा शशिराम डाँगी
राग नं. ३ )
–एकदिन दाजु डिलबहादुर र म बाख्रा ग्वाला गएका थियौं । ग्वाला गएको बेलामा एउटा ढलेको रुखको हाँगालाई कसले कति पटकमा छिनाल्ने भनेर ग्वालाहरुका बीचमा बाजि खेल भयो । छिमेकी दाजु भिमबहादुर डाँगीले त्यो हाँगो काट्ने बेलामा हाम्रो ठुलो भर्खरै बनाएर ल्याएको खुर्पा भाँचियो । दाइहरुले आफूहरुले बढी पिटाइ खाइन्छ भन्ने डरले मलाई ‘मैले भाँचेको हूँ ’ भन्नु भन्नू भन्नुभयो । मैले घरमा त्यसै भने । बाबाले पटक्कै पत्याउनु भएन । कुटाइ त कति खाइयो कति । भनेर साध्य नै छैन । खास कुरो पत्ता लगाउने शिलशिलामा म भन्दा पनि मेरो काहिंलो दाजु डिलबहादुरले निकै बढी यातना पाउनु भयो । वास्तविक पोल नखुले पछि दाजु डिलबहादुरलाई खुट्टामा डोरी बाँधेर उधोमुन्टो लगाई झुण्ड्याउनु भयो र तलबाट खुर्सानी पोलेर सुँघाउनुभयो । अति यातना भोगेपछि सहन नसकेर वास्तविक घटना बतायौं । छिमेकी दाजु भिमबहादुरले नै हसिया भाँचेको खुलासा भएपछि त्यो भाँचिएको खुर्पा उहाँकै घरमा लगेर दिनु भयो र अर्को नयाँ खुर्पा बनाउन लगाएरै छाड्नुभयो । अहिले ठुलो खुर्पा देख्दा बाबाको सम्झना आउँछ ।
राग नं ४)
–कुरो दुई तीन क्लासमा पढ्ने बेलाको हो । त्यतिबेला कक्षा तीनसम्म ढुङ्गाको खरीले काठको पाटीमा लेखेर पढ्ने चलन थियो । करिव डेढ घण्टाको यात्रा गरेर मात्र स्कुल पुगिन्थ्यो । बाटोमा ठाउँठाउँमा लेख्ने कमेरे ढुङ्गा भटिन्थे । ती ढुङ्गालाई दुधमा पकाएर राम्रोसँग लेख्ने बनाइन्थ्यो । एक दिन मैले आफुले बोक्न सक्ने गरी भएभरका कमेरे ढुङ्गा झोलाभरि पारेर घरमा ल्याएँ । बाबाले पिट्नुहुन्छ न लैजा भनेर दिदी शारदाले मलाई बारबार भन्नु भएको थियो । यसै विषयमा दिदीसँग मेरो लडाइ बाटोमै पटक पटक भैसकेको थियो । मैले अटेरी गरेर घरमा ल्याएरै छाडें । साझ पख आगो दन्दनी बालेर बलेको आगोको उज्यालोमा बाबाले ‘लौ पढ’ भन्नु भयो । मैले झोला झिक्दा ढुङ्गै ढु्ङ्गाको भारी देखेपछि हामी दुबै दिदीभाइले खुब राम धुलाइ भोग्यौं । त्यतिबेलाको कुटाइले दुई तीन दिनसम्म उठ्न बस्न निकै गाह्रो भएको थियो । ‘दिदी भएर पनि किन भाइको रेखदेख नगरेको, तलाई हामीले यो भाइलाइ हेर्लेस् भनेर पो स्कुल पठाएको’ भनेर मैले भन्दा दिदीले निकै बढी यातना पाउनुभयो । हुन पनि दिदीलाई मेरै गोठालो लाग्नका लागि स्कुल पठाइएको थियो । मेरो धाइआमाकोरुपमा स्कुल जाने अवसर पाए पछि दिदी संधै क्लासमा फस्ट हुनु भयो र समयको बदलावसँगै उहाँले पनि पछि पढ्ने अवसर पाउनुभयो । त्यस समयमा छोरीलाई स्कुल पठाउने चलन पटक्कै थिएन । हाम्रा उमेरका अरु छिमेकी दिदीबहिनीहरुले स्कुलको मुहार नै देख्न पाएनन् । यस अर्थमा दिदीको लागि मेरो जन्म पनि उपलब्धीमूलक नै भयो भन्नुपर्छ । चुन्वाङबाट एस.एल.सी.गर्ने र स्तातकोत्तर तहसम्म अध्ययन गर्ने र सरकारी स्थाइ जागिर खाने पहिलो महिला पनि दिदी शारदा नै हुनुभयो । उहाँको विहे नेकपाका केन्द्रीय सदस्य खेममान खड्कासँग भएको छ । अहिले त्यस बेलाको लेख्ने खरी सम्झियो कि बाबाको कुटाइको याद पनि सम्झना आउँछ ।
राग नं ५)
–एकदिन मैले हाम्रै बारीको कलिलो निगालो काटेर ल्याएँ । त्यो निगालोलाई बन्दुक जस्तो खेलौना बनाएर खेल्ने मेरो उद्देश्य थियो । त्यो देखेर मलाई कसले काटेको हो भनी बुबाले केरकार गर्न थाल्नु भयो । मैले पिटाइ खाइन्छ भन्ने डरले मैले होइन भने । आमालाई सबै कुरो थाहा थियो तर मलाई पिटाइबाट जोगाउनका लागि ‘यसले होइन अरु कसैले काटेर फालेको होला’ भनेर मेरो पक्षमा लाग्ने बित्तिकै त्यहीं निगालोले आमालाई दनादन हिर्काएर थचक्कै बसाल्नुभयो । अहिले कहिं कतै निगालो देख्यो कि बाबाको सम्झना आइहाल्छ ।
यी त केही प्रतिनिधि घटनामात्र हुन् । यी केही भोगाइका उदाहरणबाट मेरो बाबाको राग र रजाईंको अनुमान सहजै गर्न सकिन्छ । यदी हाम्राबाबामा यस्ता किसिमका राग नहुँदा हुन् त अहिले हामी छोराछोरीहरु जुन जुन स्थानमा जे जे गरिरहेका छौं सायद जीवनले अर्कै बाटो पो मोडेको हुन्थ्यो कि ? अभिभावकले कहिले काहीं सन्ततीका लागि कठोर व्यवहार देखाउनु पनि जीवनका सिकाइ र भोगाइको महत्वपूर्ण पाटो हो ; जो यथोचितमात्रामा आवश्यक पनि छ सन्ततिकै भलाई र उन्नति प्रगतिका लागि अभिभवकले देखाएका कतिपय अस्वाभाविक घटनाक्रमहरुलाई सहजरुपमा लिनुपर्छ । आजको विशेष दिनमा मेरा बाबालाई खुब सम्झेको छु । अहिले बाबा ७९ वर्ष हुनुभयो । देख्ने र सुन्ने क्षमतामा केही समस्या देखिए पनि अन्य स्वास्थ्यको अवस्था निकै राम्रो छ । उहाँको काम गराइ कुनै पहलवान् भन्दा कम छैन । उहाँको सुस्वास्थ्य, दीर्घायु र आनन्दित जीवनका लागि सबै ज्ञात अज्ञात रहस्यमय शक्तिसँग पुकारा गर्दै बाबाआमाको पाउमा शिर चढाउँछु । सदैव आशीर्वाद पाइराखूँ बाबा÷आमा ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।