विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी परिवर्तन गाउँ समिति रोल्पाले जनयुद्धको समयमा जनमुक्ति सेनाका तत्कालीन कम्पनी कमान्डर सहिद रूपलाल ओली ‘लखन क्षेत्री’ स्मृतिमा परिवर्तन गाउपालिका वडा नं ३ हाइबाङ्मा स्मारक चौतारी निर्माण गरेको छ । लखन क्षेत्रीले धादिङको कृष्णभीरमा सहादत प्राप्त गर्नुभएको थियो ।
स्मारक उद्घाटन कार्यक्रम नेकपा परिवर्तन गाउँ समितिका सेक्रेटरी महेशको अध्यक्षता, नेपाल कम्युनिस्ट पार्टी रोल्पाका सेक्रेटरी दिनेशविक्रम चन्द ‘मानव’ को प्रमुख आतिथ्य, नेकपा रोल्पाका सल्लाहकार गणेश, सहिद परिवारका केन्द्रीय सदस्य प्रज्वल, युवा सङ्गठन नेपाल परिवर्तन गाउँ समिति अध्यक्ष एवम् युवा सङ्गठन नेपाल रोल्पा जिल्ला सदस्य सुरेन्द्र, परिवर्तन गाउँपालिका ३ का अध्यक्ष झपिराम डाँगी, सहिद लखनका बुबा कमलप्रसाद ओली, सहिद नेपबहादुर केसी ‘परिवर्तन’ की जीवनसँगिनी कलावती केसी, सहिद लखनका भाइ नरसिंह ओलीलगायतको आतिथ्यमा सम्पन्न भएको हो । उक्त कार्यक्रमको सञ्चालन नेकपा परिवर्तन गाउँ समिति सदस्य बलप्रसाद बुढाले गर्नुभएको थियो ।
सहिद लखनका बुबा कमलप्रसाद ओलीले नेपाल कम्युनिस्ट पार्टीले आफ्नो छोराको सम्झनामा चौतारो बनाइदिएर सम्मान गर्दा आफूलाइ ज्यादै गर्व लागेको बताउनुभयो । सहिदका अधुरा सपनाहरू जसरी पनि पूरा गर्न उहाँले आग्रह गर्नुभयो । सहिदपत्नी गौमाली ओलीको बिशेष अनुरोधमा निर्माणमा गरिएको सहिद चौतारीमा स्थानीयले श्रमदान गरेका थिए भने परिवारले शिलालेख बनाएको थियो । बाँकी चौतारी निर्माणको खर्च नेकपाले नै ब्यहोरेको थियो ।
२०३४ साल असार ७ गते साबिकको इरिबाङ गाविसको हाइबाङमा जन्मिभएका लखन क्षेत्रीको २०६१ साल मङ्सिर १ गते धादिङको कृष्णभीर भिडन्तमा सहादत भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।