• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुम (पश्चिम) घटनाबाट सृजित सवालहरु




कोरोना भाइरसबाट सृजित संकटसङ्ग जुध्न घोषणा गरिएको लकडाउनले लगभग स्थिर जस्तो देखिएको नेपाली समाजलाई रुकुम पश्चिमको चौरजहारीमा छ जना युवाको ज्यान जाने गरी घटेको निर्मम घटनाले चलाएमान बनायो । जेठ महिनाको चर्को गर्मीका वीच घटेको उक्त घटनाले देश भरीका दलित, अधिकारकर्मी तथा आम नागरिकको मुटु नै चर्कीयो, भयभित भयो । रुकुम र जाजरकोट जिल्लालाई जोड्ने भेरी नदिले ती दुई जिल्लाका नागरिकहरुको बीचमा ठुलो दरार ल्याईदियो, मनहरु छुट्यायो । अन्तरजातीय प्रेम सम्बन्धलाई दबाउन सिङ्गो गाँउ नै एकजुट भएर जाईलाग्दा ती युवाहरुको ज्यान गएको र घटनामा संलग्न लाई कानूनी कारबाही शुरु गरी सकिएकोले पिडितले न्याय पाउने र पिडकले सजाय पाउने लगभग निश्चित नै छ । तर २१ औं शताव्दीको खुला र बहुलवादी भनिएको समाजमा अहमतावादी र जातीवादी प्रकृतीको जघन्य अपराध हुनुले यो घटना मानब सभ्यता कै कलंकका रुपमा चित्रित भएको छ र हाम्रो वास्तविक सामाजिक सांस्कृतिक अवस्थालाई उजागर गरिदिएको छ । कुनै घटना घट्नु र दोषिले सजाय पाउनु नियमित कानूनी प्रक्रिया नै हो । तर यो घटनालाई पिडितले न्याय पाउने विषयमा मात्र सिमित गरियो भने नेपाली समाज प्रति भने सदैब अन्याय भै रहेन छ ।किनकि यो घटना असामान्य प्रकृतीको जघन्य अपराध हो, मानब सभ्यता माथिको ठुलो चुनौती हो । हाम्रो संबैधानिक र कानूनी व्यवस्था माथिको खुल्लम खुल्ला हमला हो । हामिले ल्याएको परिवर्तन र व्यवस्था माथिको हस्तक्षेप हो । तसर्थ यस घटनाले नेपाली समाजमा केही वहसहरु सृजना गर्नु आवश्यक छ अर्थात त्यस्ता विषयमा बहस हुन जरुरी छ । नत्र भने अझैं धेरै वर्ष सम्म अन्तरजातीय प्रेम र विहे गरेकै कारण धेरै दलितहरुले ज्यान गुमाउनु पर्नेछ ।

नेपालमा दलितको बास्तविक अवस्था
कुनै पनि जघन्य अपराध हुनुको पछाडी त्यो समाजको समाजिक सांस्कृतिक अवस्थाले ठुलो प्रभाव पार्दछ । रुकुम (पश्चिम) मा घटेको उक्त घटनाले नेपाली समाजको सामाजिक संरचना र त्यसमा दलितहरुको अवस्थाका बारे वहस सिर्जना गरिदिएको छ । नेपालका लगभग सबै क्षेत्रमा दलितलहरुको वसोबास रहेको छ । सबै ठाँउका अधिकांश दलितहरु रोजगारीका लागि छिमेकी मुलुक भारत जाने तथा गाँउ मै पनि सिकर्मी, डकर्मीको काम गर्ने र परम्परागत रुपमा अपनाउदै आएका फलामका औजार बनाउने, वाद्यवादनका सामाग्रीहरु वनाउने लगायतका पेशा व्यवसाय समेत गरीरहेको अवस्था छ । नेपालको अधिकांश ठाँउमा अहिले पनि जातीय छुवाछुत र विभेद कायम छ ।“विष्ट” हरु सबै उमेर समूहका दलित पुरुषलाई दाई र दलित महिलालाई दिदि भनेर सम्बोधन गर्दछन र आदरार्थि शव्दमा “तिमी” भनेर सम्बोधन गरीन्छ । समाजका केही कथित टाँठाबाठा “विष्ट” हरुले दलितहरुलाई “त” भनेर सम्बोधन गरेको पनि अझैं भेटिन्छ । श्रम गरे बापत पारिश्रमिकको रुपमा “खलो प्रथा” पनि विद्यमान छ ।दलितहरुलाई खानेपानीका मुहान र मन्दिरहरुमा प्रवेश निषेध गरेका समाचारहरु पनि बेला वखत आईरहेका हुन्छन । दलितहरु हिन्दु धार्मिक कार्यहरु जस्तै जन्म, विवाह, मृत्यु लगायतका संस्कार ब्राह्मण जातीबाट गराउन बञ्चित छन् । फलस्वरुप ठुलो संख्यामा दलितहरु इसाई धर्म प्रति आकर्षित भएको देखिन्छ ।राजनैतिक तथा प्रशासनिक क्षेत्रमा समेत दलितको न्युन उपस्थिति रहेको छ । विगतको आन्दोलनले प्राप्त गरेको आरक्षणका सम्बन्धमा समेत शिक्षित भनिएकै व्यक्तीहरु बाट तुच्छ टिप्पणी हुने गरेको तितो सत्य छ । विगत सशस्त्र द्वन्दको समयमा भने दलितहरुको अवस्थामा केही सुधार ल्याउने प्रयास गरीएको थियो । सो समयमा जनयुद्धमा सहभागी थुप्रै व्यक्तिहरुले अन्तरजातीय विवाह गरेका उदाहरणहरु भेटिन्छन । तर पनि पछिल्लो समयमा समेत नेपालमा सबैभन्दा कठिन सामाजिक आर्थिक अवस्था दलितहरुको नै रहेको छ । हामिले सभ्यताका जति ठुला गफ गरे पनि मानब सभ्यतालाई नै कलंकित पार्ने खालका अपराध नेपालमा दिनहुँ भै राखेका छन । व्यवस्थामा जे जती परिवर्तन भए पनि व्यवहारमा दलितहरु अझैं दमन र शोषणको चरम उत्पिडनमा रहेको तितो सत्य रुकुम (पश्चिम) को घटनाले पुष्टी गरेको छ ।

ब्राह्मणवाद
ब्राह्मणवादका सम्बन्धमा एउटा अत्यन्त विवादीत विषय छ, ब्राह्मण जातीमात्र ब्राह्मणवादी हुन्छन् या अन्य जाती पनी ब्राह्मणवादी हुन्छन् रु यो विवादमा वहश गर्नु अगाडी ब्राह्मणवादका बारेमा बुझ्न जरुरी हुन्छ । जातीवादी समाजमा आफ्नो जातीलाई अरुभन्दा श्रेष्ठ ठान्नु वा श्रेष्ठता भएको दम्भ हुनु ब्राह्मणवाद हो । एउटा निश्चित कुरा चाँही के हो भने हिन्दु वर्ण व्यवस्था भएको समाजमा मानिसहरुलाई जातीमा विभाजन गर्ने कार्य ब्राह्मणहरुले नै गरेका हुन र आफुलाई सबैभन्दा ठुलो जाती भएको महशुस गरी ब्राह्मणवादको सुरुवात गर्ने पनि ब्राह्मण नै हुन् । जातीवादी समाजलाई कायम राख्न र आफ्नो तथाकथित श्रेष्ठतालाई बचाई राख्न ब्राह्मणहरुले अत्यन्त वठ्याँई पूर्ण तरिकाले सबै जातीलाई उच निचमा विभाजन गरी एउटा भन्दा अर्को ठुलो हुने व्यवस्था निर्माण गरे । जसले कुनै पनि जाती अर्को कुनै जाती भन्दा ठुलो हुने र त्यसैमा खुशी भई जातीवादी समाजको विरोध नगर्ने अवस्था सृजित भयो । उदाहरणको रुपमा ठकुरी वा क्षेत्रीहरुमा जनजाती भन्दा ठुलो भएको, जनजातीहरुमा दलितभन्दा ठुलो भएको र दलितहरु भित्रै पनि एउटा भन्दा अर्को ठुलो जाती हुने दम्भ छ । यसरी सबै जाती भित्र अन्य कुनै जाती भन्दा श्रेष्ठ भएको महशुस हुने वा त्यस्तो श्रेष्ठताको दम्भ हुने अवस्था भएको हुँदा सबै जातीमा ब्राह्मणवादी विचार कायम छ भन्ने एक थरीको तर्क छ । भने अर्को तिर ब्राह्मणहरुले आफुलाई मात्र सबै भन्दा उच्च जातको ठान्ने, ब्राह्मण भन्दा ठुलो जाती नहुने वा आफुलाई देवताकै रुप मान्ने भएको हुँदा ब्राह्मणवाद ब्राह्मण जातीमा मात्र कायम छ, अन्य जातीमा हुने उच्चताको अनुभव ब्राह्मणवादले विकास गरिदिएको जातीवादी सोच मात्र हो भन्ने अर्को थरीको तर्क रहेको छ । जे होस यी तर्क र तथ्यहरुको आधारमा के भन्न सकिन्छ भने नेपाली समाज ब्राह्मणवाद र जातीवाद दुबै समस्याले ग्रस्त छ । रुकुम पश्चिमको यो घटना व्राह्मणवाद र जातीवाद दुवैको घृणीत उपज हो । ब्राह्मणवाद ब्राह्मण जातीमा मात्र नभएर अन्य जातीमा पनि छ भन्ने तथ्यको पुष्टी पनि हो ।

दलित र गरीबी
नेपालको सबैभन्दा ज्वलन्त समस्या हो गरीवी । कुल जनसंख्याको करिव ज्ञड प्रतिशत हिस्सा गरीवीको रेखामुनी रहेका मानिसहरुको संख्याले ‌ओगटेको छ ।विश्वव्यापी रुपमा फैलीएको कोरोना भाईरसको महामारीले यो संख्या तीब्र गतीमा बढ्ने अनुमान गर्न थालिएको छ । गरीवी अन्त्यको लक्ष्य लिएर विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेको लामो समय भै सक्दा पनि गरीवी निवारणमा अपेक्षित सुधार हुन नसक्नु गम्भीर विषय बनेको छ । वर्गीय मुक्तीका ठुला ठुला संघर्षहरुले समेत हुँदा खाने वर्गको उत्थान गर्न नसक्नुमा कही कतै नेपालको मुख्य समस्या जातीवादले सृजना गरेको वर्गीय विभाजन हो भनेर समयमै अध्ययन नहुनु वा मुख्य समस्या भन्दा टाढै रहेर समस्या समाधान गर्न खोज्नु पनि हो । गरीवीको तथ्याङ्कलाई अध्ययन गर्ने हो भने जातीगत आधारमा गरीब र धनीको विभाजन भएको प्रष्ट देखिन्छ ।देशमा दलितहरुमा नै सबैभन्दा बढी संख्यामा गरीवी रहेको छ । अर्थात दलितहरु सबैभन्दा बढी सिमान्तकृत छन्, स्रोत साधन, अवसर र लाभ प्राप्त गर्नबाट बञ्चितिकरणमा परेका छन् । यसर्थ नेपाली समाजको सबैभन्दा ठुलो समस्या भनेको जातीवादले सृजना गरेको वर्गीय विभाजन नै हो ।


राजनितीक परिवर्तन र जातीय सवाल
विगत ठण् वर्षको अवधिमा नेपाली राजनितिमा ठुला ठुला आन्दोलन र परिवर्तनहरु भए ।ति सबै परिवर्तनहरुका दलितहरुको ठुलो योगदान समेत रहेको छ । सामाजिक न्याय र समानताका पक्षमा महत्वपूर्ण उपलब्धीहरु हाँसिल भएका छन् । मानिसहरुका सोच र चिन्तनहरुमा व्यापक परिवर्तन आएको छ । नेपालमा घोषित रुपमा जातीय विभेद छैन् । कानूनी रुपमा नै छुवाछुत तथा जातीय विभेदलाई दण्डनीय बनाईएको छ । हरेक राजनितीक परिवर्तनमा जातीय मुद्दाहरु पनि उठेका छन् । जातीय समानता र पहिचानका पक्षमा थुप्रै बहसहरु भएका छन् । यद्यपी नेपाली समाजको बास्तविक समस्याको रुपमा रहेको यो विषयमा हुनु पर्ने जति बहस तथा परिवर्तन भएको पाईदैन । जातीय विभेद र असमानता यती छ की अन्तरजातीय प्रेम सम्बन्ध कै कारण अझैं पनि दलितहरुले अनाहकमा ज्यान गुमाउनु परेको छ । एकाध बाहेक अन्तरजातीय विवाह गर्नेहरु सामाजिक रुपमा वहिस्कृत छन् । नेपालको वर्गीय संरचना समेत जातीका आधारमा निर्माण भएको देखिन्छ । अधिकाशं दलितहरु गरिवीको रेखामुनी जीउन बाध्य छन् । उनिहरुको सामाजिक सांस्कृतिक अवस्था समेत दयनीय छ । दलितहरुलाई समाजको मुल प्रबाहमा ल्याउने गरी स्पष्ट नीति तथा कार्यक्रमहरुको खाँचो छ । राजनीतिक तथा प्रशासनिक क्षेत्र लगायतका राज्य सञ्चालनको मुल प्रबाहमा दलितहरुको उल्लेख्य सहभागिताका लागी उचित पहल कदमी लिनु आवश्यक छ ।

अबको बाटो
देशमा विद्यमान जातीय विभेद तथा छुवाछुत, ब्राह्मणवाद र जातीवादलाई अन्त्य गर्न दलितहरुको मुक्तीको आन्दोलनलाई गरीवी निवारण संगै जोडेर अगाडी बढाउनु पर्दछ ।नेपालमा जातीवादी सोच कायम रहे सम्म गरीवी पनि कायम रहने छ । सामाजिक आर्थिक रुपान्तरण गर्दै सामाजिक न्याय सहितको समाज निर्माण गर्न गरीवी अन्त्य र जातीय विभेद तथा छुवाछुतको पनि संगसंगै अन्त्य गर्नु पर्दछ ।तव मात्र देशमा कोही पनि मानिसले अरुभन्दा ठुलो हुनुको दम्भ र सानो हुनुको हिनता वोध गर्नु पर्ने अवस्था रहने छैन र देशका सबै नागरिकले परिष्कृत र मर्यादित जीवन यापनको अनुभुती गर्न पाउनेछन् र समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानले पूर्णता पाउने छ ।

Facebook Comments