नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले विज्ञप्ति जारी गर्दै स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’का बारेमा आएका समाचारहेको खण्डन गरेको छ ।
प्रेस संयोजक बिष्णु सापकोटा ‘जुगल’द्वारा जारी विज्ञप्तिमा निरन्तर एकताको पक्षमा लागेका नेताको बारेमा आएका समाचार गलत भएको उल्लेख छ ।
‘केही दिनयता हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’का बारेमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित/प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको छ’– विज्ञप्तिमा भनिएको छ– ‘आन्तरिक बैचारिक बहसहरु एक जीवन्त पार्टीका बिशेषता हुन् । तिनै बहसको सम्बन्धमा मिडियामार्फत नेताहरुमाथि लगाइएको आरोप र दुष्प्रचार निन्दनीय छ ।’

पार्टी एकतादेखि आजसम्मको काममा प्रभाकरले अध्यक्ष प्रचण्डलाई सहयोग गर्दै आएको स्पष्ट गर्दै विज्ञप्तिमा थप भनिएको छ– ‘अहिलेको पार्टीभित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताको पक्षमा लाग्नुभएको हो । कमरेड प्रभाकरमाथि अध्यक्ष प्रचण्डसँग जोडेर गरिएका भ्रामक प्रचारहरुलाई खारेज गर्दछौं ।’
केही अनलाइनहरुमा नेता प्रभाकर अध्यक्ष प्रचण्डसँग असन्तुष्ट रहेको, आन्तरिक छलफल नगएकोजस्ता समाचार प्रकाशितप्रसारित भएपछि प्रचण्ड सचिवालयको यस्तो खण्डन आएको हो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
