• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एक स्वरले भनौं– नो व्रत प्लिज !





गायिका सोफिया थापाले गाएको गीत ‘नो ब्रत प्लिज’ बोलको गीतसँगै त्यसको नृत्य भिडियो सार्वजनिक भयो । सार्वजनिक भए लगत्तै एकथरि धार्मिक अतिवादीहरुको प्रतिक्रिया सोफिया थापामाथि यसरी खनियो मानौं समाज सुधार, धार्मिक सुधार, परिवर्तन र समानताको गीत गाएर उनले अक्षम्य अपराध गरिन् । उनले जानकारी गराए अनुसार गीतको विरुद्धमा विश्व हिन्दु युवा संघको नाउँमा विज्ञप्ति मात्र आएन, बरु उनलाई धम्कीपूर्ण सन्देश र कलहरु पनि आए ।


एकपछि अर्को गर्दै देखिएका सामाजिक साँस्कृतिक परिदृष्यहरु देख्दा यस्तो महसुस हुँदैछ कि यो इतिहासकै सबैभन्दा भद्दा सामाजिक–साँस्कृतिक प्रहसन चलिरहेको समय हो । हामीले गणतन्त्रको निम्ति संघर्ष ग¥यौं । लाग्थ्यो नयाँ व्यवस्थाको आगमनसँगै धेरै हदसम्म सामन्तवादी, अवैज्ञानिक, विभेद र दमनकारी संस्कृतिहरु अन्त्य भएर जानेछन् ।

तिनका केहि अवशेषहरु मात्र बाँकि रहलान् । तर लाग्दैछ कि गणतन्त्रको बगैंचमा नयाँ चेतनाका बचेखुचेका फूलहरु पनि कोपिलामैं चुडेर निमिट्यान्न पारिदैंछन् । मध्ययूगीन चेतनाको बनमारा झारको खेती तमास लाग्दो गरि फस्टाउँदैछ । यस्तो अतितमुखी बनमारा संस्कृतिका संरक्षकहरुलाई हौस्याउँने स्रोत चाँहि के होला ?


हिन्दु धर्मभित्र भएका विकृति र विसंगतिहरुको अन्त्य नगरी धर्मलाई जोगाउँन सकिन्न भन्ने मान्यतासहित भारतमा कुनै समयमा स्वामी विवेकानन्द, दयानन्द सरस्वती जस्ता व्यक्तिहरुले धर्मसुधार आन्दोलन चलाए । तर यतिखेरका नेपाली हिन्दु धार्मिक ठेकेदारहरुमा दशकौं अघिको धर्मसुधार आन्दोलनको चेतना पनि घुस्न सकेको देखिन्न । यिनीहरुको घोर अतितमुखी दृष्टिकोण, चेतनास्तर र व्यवहार देख्दा यस्तो लाग्दैछ हिन्दु धर्ममाथि यदि खतरा छ भने अरु कसैबाट होइन यिनै अतितमुखी लम्पट प्राणीहरुबाट छ । यिनीहरुकै कारणले हिन्दु धर्मको अवसान धेरै टाढा छैन ।


यति कुरा गर्दै गर्दा अर्को एउटा पक्षमाथि पनि बोल्नैपर्छ । त्यो के भने नेपालमा पञ्चायती कालभन्दा अगाडिदेखि नै ईशाइकरणको ध्ययसहित विभिन्न क्रिश्चयन मिशनरी संस्थाहरु क्रियाशील छन् । उनीहरुको गतिविधि अहिले धेरै गुणा बढेर गएको छ । उनीहरुले आफ्नो मिशन सफल बनाउँन नेपाली समाजमा विद्यमान वर्गीय, जातीय भेदभाव, वर्गीय असमानता, लैंगिक शोषण–उत्पीडनलाई पनि उपयोग गर्दै मानिसहरुलाई धर्म परिवर्तन गराउँने र चर्चहरुको माध्यमबाट संगठित गतिविध गर्ने काम गर्दै आएका छन् ।

यसलाई अन्य क्षेत्र(आर्थिक,राजनीतिक, सामाजिक–साँस्कृतिक जस्तै) साम्राज्यवादी धार्मिक हस्तक्षेपको एउटा रुपमा लिन सकिन्छ । नेपालका उत्पीडित वर्ग, जाती, लिंग र समुदायका मानिसहरुलाई मुक्त गर्ने अस्त्र न हिन्दु धर्म हुनसक्छ न त क्रिश्चयन या अन्य कुनै धर्म । यो त एउटा भडखारोबाट मुक्त हुने नाउँमा अर्को भड्खारोमा हाम फाल्नु मात्र हो ।

यो आज पनि सक्रिय नै छ । तर यसकै कारणले हिन्दु धर्म संकटमा पर्दैछ भन्नु चाँहि भ्रम मात्र हो । बरु हिन्दु धर्मका ठेक्का लिएर बसेकाहरुको अतिवादी र मूर्खतापूर्ण हठको कारणले चाँहि हिन्दु धर्म आफै खतरामा छ । कसैले पनि समयानुकूल आफूलाई सुधार्दै, आफूभित्र भएका कमी कम्जोरीहरु हटाउँदै जानु गलत हो भन्नेजस्तो मूर्खता प्रदर्शन गर्छ भने उसको निम्ति सबैभन्दा खतरा ऊ आफै हो ।

फेरि धर्म भनेको अपनाउँन, परिवर्तन गर्न र छोड्न पनि सकिने स्वेच्छिक कुरा हो । तर एकथरि मानिसहरुमा अहिलेपनि परम्परागत हिन्दू शासकीय रवैयाको धङधङी छ । गायिका सोफियामाथिको धम्की त्यसैको उपज हो ।


जस्तो कि हिन्दु सामन्तवादभित्रको कुरा गर्दा जात व्यवस्था र त्यसको आधारमा मानवीय भेदभाव, शोषण–उत्पीडन, सामाजिक विभाजन र उँचनीचको भावना मानव सभ्यताकै इतिहासमा सामाजिक जहरको भूमिका खेल्ने व्यवस्था हो । यो लैंगिक उत्पीडन, विभेद, क्रुरता र अत्याचारको स्रोत नै हो । हिन्दु सामन्तवादको यस्तो विधि विधानमाथि प्रश्न उठ्नु कुनै पनि विवेकशील मानिसका लागि टाउको दुखाइको विषय होइन ।

अतितमुखी, शोषणकारी व्यवस्था पूजकहरुले सोचे जस्तो सबै मानिसहरु सत्ताकै सती जान्थे भने आजसम्मको भएको जम्मै परिवर्तन काल्पनिक विषय मात्र हुन्थ्यो होला । प्रश्न यो ब्रम्हाण्डकै अस्तित्वको बारेमा त उठ्ने गर्छ भने मक्किएका, सडेगलेका, थोत्रा अनि पत्रु भैसकेका चाल चलनहरको बारेमा उठ्नु नितान्त सामान्य कुरा हो । कथित ‘महान पर्व’को नाउँमा दाशत्व मात्र थोपर्ने तिज पर्वमाथि कलात्मक प्रश्न गरेर गायिका सोफिया थापाले प्रशंनीय कार्य गरेकी छन् ।


एउटा स्पष्ट हुनैपर्ने कुरा के हो भने हिन्दु सामन्तवादले परम्परा, संस्कृति, संस्कार र पर्वहरुको नाउँमा स्थापित गरेका मूल्य र मान्यताहरु कसैको पक्षमा छन् भने ती शोषक वर्गको पक्षमा छन् । पितृसत्ताको पक्षमा निश्चय पनि छन् । जसले आज पर्यन्त महिलालाई मानव या पूर्ण मानव बन्न दिएको छैन ।

दलित र महिला दुबैको मुक्ति र आत्मसम्मानको निम्ति पनि ती मूल्य–मान्यताहरु दुश्मन नै हुन् । कम्तिमा सोफिया थापाले त्यो तहमा तीजलाई राखेकी त छैनन् । उनले तिज पर्वको नाउँमा नारीहरुमाथि वर्षौंदेखि थोपरिएका दाशत्वहरुलाई परित्याग गर्दै तीज मनाउँनुपर्ने कुरा गीतमार्फत व्यक्त गरेकी छन् । यो त आफूलाई शिक्षित ठान्ने पढालेखा नयाँ पुस्ताको लागि पनि धेरै गतिलो सन्देश हो । जो आफूलाई आधुनिक त ठान्छ, तर बिना तर्क र बिना प्रश्न दाशयुगीन मान्यताहरुको सति जान पनि तयार हुन्छ ।


विश्व हिन्दू युवा संघ र हिन्दु जागरण नेपालको नाउँमा सार्वजनिक विज्ञप्ति र फोनमार्फत आएका धम्कीहरुमा उनीहरुको ‘धर्म र सस्कृतिमाथिको आक्रमण’ भन्ने चिन्ता रहेछ । सँगैसँगै उनीहरुले विज्ञप्ति र फोनल कलमार्फत त्यो गीत सामाजिक सञ्जालबाट हटाउनुपर्ने ‘फरमान’ जारी गरेका रहेछन् । जबकि उनीहरु साँच्चिकै हिन्दु धर्मको संरक्षण चाहन्छन् भने त यस्तो गीत गाउँनेलाई त बधाई पो दिनुपर्ने हो ! उनीहरुको रवैया देख्दा नै लाग्छ धार्मिक अन्धता कति अन्धो र डरलाग्दो हुन्छ !

समाजमा विभिन्न थरि धर्महरु छन् । धर्म नमान्ने आस्तिकहरु पनि छन् । थप धर्मलाई धारणको अर्थमा लिने हो भने पनि जसलाई उनीहरुले ‘धर्म र संस्कृति’ भन्दैछन् त्यो कस्को हो ? त्यो त एउटा यस्तो वर्गको हो जसले समाजमा शोषण, उत्पीडन र विभेदलाई नै धर्म र संस्कृतिको रुपमा परिभाषित ग¥यो । गरिखाने वर्गका मानिसहरु(जसभित्र महिला सबैभन्दा अग्रपंक्तिमा आउँछन्)को दिमागलाई उपनिवेश बनाएर शासन ग¥यो ।

एकथरि वर्गको हीत गरेतापनि शक्ति, सत्ता, शासनको बलमा समाजका अधिकांश मानिसको ‘धर्म र संस्कृति’ को रुपमा स्थापित गर्न सफल भयो । के अब पनि उनीहरुले सोचेजस्तै समयलाई अतितमुखी चेतनाको कोठरीभित्र कैद गर्न सम्भव छ ? किमार्थ छैन ।


हो तीज पर्वको मूल मर्म महिलाले लिने व्रत हो । व्रतको मर्म ‘श्रीमानको आयु बढाउन’ या ‘चाहेजस्तो श्रीमान पाउँनु’ हो । तर यसले महिलालाई स्वतन्त्र होइन दाश बनाउँछ । यो कुनै “महान पर्व” होइन । नारीलाई सधैंभरि पितृसत्ताको जाँदोमा पिसिराख्ने विधि–विधानको एउटा कडी मात्र हो । यो समाजको जाली, झेली, शोषक र फटाहा दर्शनको उत्पादन हो । अनि यो कसरी सबैको धर्म र संस्कृति हुन्छ ? हामी यतिखेर कुन युगमा छौं जहाँ दाश युगका मतियारहरु गीतका शब्द र सन्देशहरुमाथि सार्वजनिक सेन्सर गर्दैछन् ?
अबको बोल्ने पालो नारीहरुको हो ।

उनीहरु भर्खर त बोल्न थालेका छन् ! जुन दिन उनीहरुको बोलीले शोषणकारी सत्ताद्वारा निर्मित फर्जी भाष्यहरुको पोल खुल्न थाल्नेछ त्यो दिन त्यो “धर्म र संस्कृति” जिवित रहने छैन जसमाथि उनीहरु खतरा देखिरहेका छन् । अबको बोल्ने पालो दलितहरुको हो । जसका आवाजहरुले दाशत्वको दम्भलाई माटोमा मिलाइदिनेछन् । अबको बोल्ने पालो श्रम, पसीना र रगत लुटाउन विवश गरिखाने वर्गको पनि हो, जसको बोलीले अहिलेसम्मको झेली शासनमाथि धावा नै बोल्नेछ । यो कुरा सृजनाका शब्द र सन्देशहरुमाथि सेन्सर गर्न बसेका जाली दर्शनका भजन गायकहरुले राम्रोसँग बुझ्दा हुन्छ ।


यी पंक्तिहरु लेख्दै गर्दा पनि उनले आफूलाई खबरदारीयुक्त कलहरु आइरहेको बताइन । त्यसैैले म भन्छु–शब्दहरु फगत शब्द र मनोरञ्जनका साधन होइनन् । जहाँ प्रश्न हुन्छ त्यहीं हुन्छ असली सृजना र आविष्कार । त्यसैले पैदा गर्छ मानिसमा अगाडि बढ्ने हुटहुटी । परिवर्तनको सन्देश बोक्ने एउटै सृजनामा यथास्थितिलाई बोक्ने हजरौं सृजनामाभन्दा ठूलो शक्ति हुन्छ भन्ने कुराको सन्देश हो यो । यस्तो गीतको लागि गायिका सोफियालाई वधाई दिदैं एक स्वरले भनौं– “नो व्रत प्लिज !”

[email protected]

Facebook Comments