• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लद्दाखमा पोखिएको भारतीय दादागिरीको लज्जा




लेखक शेरबहादुर केसी

चाहे देशभित्र होस् वा देशबाहिर ! जुनसुकै समुदाय, जाति, क्षेत्र, लिंग र धर्म,सम्प्रदायका मान्छे नै किन नहुन्, मार्नु, मारिनु कदापि राम्रो होइन । तथापि हाम्रो यो उत्कट कामना एवं न्यायपूर्ण आवाजलाई अस्त्रशस्त्रको उन्मादमा आफूलाई शक्तिशाली दावा गर्ने राष्ट्रका अन्ध शासकहरुले कहिलै सुनेनन् बरु यसलाई निरिहताको संज्ञा दिंदै अस्त्रास्त्रको होडमा नलाग्ने नेपाल जस्ता सार्वभौम राष्ट्र र स्वाभिमानी जनतामाथि बलात् रूपमा जबर्जस्त युद्ध थोपर्दै आइरहेको तीतो यथार्थ हो ।

टाढा किन जाने ? क्षेत्रीयबाट विश्वशक्ति बन्ने दाउमा रहेको बताउने लामो समय उपनिवेशको शिकार बनेको भारतले युगौंदेखि स्वतन्त्र अस्तित्व जोगाएको हाम्रै देश नेपालका सीमाक्षेत्रमा नेपालीहरुको इमान्दारिता एवं सहनशीलताको फाइदा उठाउँदै शृङ्खलाबद्ध अमानवीय दमन र अत्याचारमा उत्रिरहेको छ । उता पाकिस्तान लगायत विभिन्न छिमेकी मुलुकमा वर्षौंदेखि यस्तै विवाद झिकेर अस्तब्यस्त बनाएको छ ।

के दुई देशबीचको सम्बन्ध सुमधुर बनाउने नाममा नेपालीहरुको छातिमाथि बुट बजार्दासम्म,अनुमति बेगर बद्री सहितका प्रहरीको जत्था नेपाली भूमिमा परेड खेल्दासम्म, दिनदहाडै सीमा अतिक्रमण हुँदासम्म र नि:शस्त्र एवं निहत्था गोविन्द गौतमहरु अनहाकमा मारिंदासम्म अनि द्विपक्षीय सन्धि,सम्झौताको ठाडो उपहास गर्दै हाम्रा नागरिकहरु डुबानमा पुरिंदासम्म पनि कि हामी चुपचाप बस्दिरहनुपर्ने हो र !


तिमीले थिचोमिचो गरिरहन पाए नेपाल-भारत सम्बन्ध त रोटीबेटीको हो नि भन्दै हाम्रो पीडामाथि आनन्द लिंदै बुकुर्सी मार्ने ! दुई देश बीचको सम्बन्ध बारे कस्तो अचम्मको ब्याख्या छ है ! यसरी सम्बन्ध बचाउनका लागि आपसी समझदारी विकासमा जोड नदिई निरन्तर अन्याय सहनुपर्छ भन्नु दास मनोवृत्तिको उपज हो । जबसम्म स्वाधीन राष्ट्रको सहअस्तित्व अस्वीकार गर्दै हेपाहा र मिचाहा प्रवृत्ति जारी रहन्छ तबसम्म एकतर्फी रटान जति लाए पनि सम्बन्ध कदापि सुध्रिन सक्दैन।

हामीकहाँ विश्वशक्ति बन्न हतियारबद्ध लडाईं गर्नुपर्छ भन्ने जुन परम्परावादी चेतना छ यसलाई भत्काएर निर्माणतर्फ लैजानुपर्छ । अब छिमेकी मुलुकको एक इन्च जमिन मिचेर, जनतामाथि दमन थोपरेर होइन चीनजस्तै अत्याधुनिक प्रविधि,आत्मनिर्भर अर्थतन्त्रको विकास र चमत्कारिक समृद्धिले विश्वशक्ति केन्द्र बन्ने सपना देखौं ।

शायद वीपी कोइराला भारतले गर्ने यस्तै छलछाम, जालझेल र धोकाबाट आजित भएरै होला २०३३ सालमा मेलमिलापको नीति लिई स्वदेश फिर्ता भएको हुनुपर्छ । आफ्नो प्रधानमन्त्रीत्व कालमा छिमेकी भारतसँगको कुटनीतिक सम्बन्धलाई मजबुत बनाउन र द्विपक्षीय हितका खातिर गरिएका सन्धि, सम्झौता र त्यसपछिका विभिन्न सन्धिहरु पनि देश र जनताका निम्ति घातकसिद्ध भएकाले दुई देशको आपसी विश्वासमा खडेरी परिरहेको यथार्थतालाई नकार्न सकिन्न ।


पछिल्लो समय पनि भू- कम्पका बेला ठूलो धनराशी सहयोग गर्ने आश्वासन मात्र होइन रकम नै घोषणा गर्यो तर व्यबहारमा बाहुबलको प्रयोग गर्दै नाकाबन्दी गर्यो । त्यही भू- कम्पले थला परेको मौका छोपी हाम्रो हो भन्दै चीनलाई समेत झुक्याएर लिपुलेकहुँदै मानसरोवर जाने बाटो खोल्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर गरियो ।


यसपटक पनि विश्वकै सिङ्गो मानवजाति कोरोना महामारीसँग लडिरहेको र त्यसको प्रत्यक्ष मारमा परेको नेपाललाई काटिएको घाउमा नूनचूक छर्केझैं नेपालको लिपुलेक,लिम्पियाधुरा र कालापानी समेटेर आफ्नो नक्सा मात्र सार्वजनिक गरेन रक्षामन्त्रीले सडक समेत उद्घाटन गरेर अन्तर्राष्ट्रिय समुदाय सामू नाङ्गो हस्तक्षेप प्रदर्शित गर्यो । भारतले शक्तिको आडम्बर प्रदर्शन गर्दै स्थापित मूल्य, मान्यता एवं अन्तर्राष्ट्रिय नियम,कानूनहरुको समेत खिल्ली उडाउँदै नेपाल र विशेषगरी सीमावर्ती क्षेत्रका जनसमुदायलाई कुन हदसम्म ज्यादती गर्दै आइरहेको छ भनिसाध्यै छैन ।


यसो भनिरहँदा नेपाल-भारत सम्बन्ध बिगार्न त्यहाँको जनताको दोष होइन । उनीहरूको हामीप्रति र हाम्रो उनिहरुप्रति सामाजिक सद्भाव छ । यो त मतिभ्रष्ट शासकीय मनोवृत्तिको अभिव्यक्ति हो ।
त्यसैले दादागिरी देखाउनु सर्वथा निन्दनीय छ । यदि यसो गरे अरु एक से एक महादादागिरी जन्मिन्छन् भन्ने कुराको पछिल्लो दृष्टान्त हो चीन-भारत द्विदेशीय विन्दू लद्दाख सैन्य भीडन्त ! जहाँ चिनियाँ जनमुक्ति सेनाद्वारा आधिकारिक समाचार संस्थाले पुष्टि गरे अनुसार २० जना र सामाजिक संजालमा त ६३ जना भारतीय सेना उक्त भीडन्तमा मारिएको विवरण सार्वजनिक भएको छ ।

धान खाने मुसो चोट पाउने भ्यागुतो भनेझैं विचरा ! रोजीरोटीको लागि भर्ना भएका ती सैनिक मारिनु दु:खद कुरा हो । केवल उनीहरू जागिरको मायाले ती शासकवर्गको रक्षाकवज बन्न बाध्य भए । अब उप्रान्त यो दुस्साहस नगरी जारी हिंसालाई वार्ताको माध्यमद्वारा हल गर्न उनीहरूले सरकारलाई सुझाव दिनु वान्छनीय होला । नकि घरबिदामा बसेका गोर्खाली सेनालाई बोलाएर लडाउने रणनीति बनोस् । किनकी घोषित रूपमा युद्धलाई निरन्तरता दिए बत्तीमा परेको पुतलीझैं ठूलो संख्याले ज्यान गुमाउने गरी स्थिति थप जटिल बन्नेछ र विश्व ध्रुबीकरणको दिशामा जाने खतरा पनि उत्तिकै छ ।
नेपाललाईझैं चीनप्रति गिद्देदृष्टि लाउनु अर्थात् लामो हात तिखो आँखा लगाउनुको परिणाम हो चीन- भारत द्वन्द्व । यसले पनि भारतीय शासक वर्गको विस्तारवादी सोंच,अदूरदर्शिता एवं मूर्ख्यांइलाईं थप पुष्टि गर्छ ।

हामीकहाँ विश्वशक्ति बन्न हतियारबद्ध लडाईं गर्नुपर्छ भन्ने जुन परम्परावादी चेतना छ यसलाई भत्काएर निर्माणतर्फ लैजानुपर्छ । अब छिमेकी मुलुकको एक इन्च जमिन मिचेर, जनतामाथि दमन थोपरेर होइन चीनजस्तै अत्याधुनिक प्रविधि,आत्मनिर्भर अर्थतन्त्रको विकास र चमत्कारिक समृद्धिले विश्वशक्ति केन्द्र बन्ने सपना देखौं ।

एउटा कमजोर राष्ट्र नै किन नहोस् आइलागेपछि जाइलाग्ने कुरा स्वभाविक छ भन्ने हेक्का भारत लगायत शक्तिभ्यास गर्ने देशले राख्नैपर्छ । अनावश्यक निहुँ खोजेर, युद्द आरम्भ गरेर जित होइन हार नै हुन्छ । हार्ने युद्ध किन लड्ने ? यसको सट्टा बन्दुक होइन सीमा विवादको सामाधान शान्तिपूर्ण वार्ताबाट खोजौं । छिमेकी मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डता एवं सहअस्तित्वलाई सम्मान/स्वीकार गर्दा नै आफ्नो र सबैको कल्याण सम्भव छ भन्ने सबक यसबाट सिकौं ।

Facebook Comments