प्रदेश ५ मा कोरोना उपचारका लागि बनाइएका आइसोलेशन अस्पतालले मात्रै धान्न नसकेपछि जिल्ला जिल्लामा आइसोलेशन सेन्टर बनाउन थालिएको छ । जसले ब्यवस्थापनमा सहज हुँदै गएको छ ।
प्रदेशभरि चार वटा आइसोलेशन अस्पताल छन् । दाङ र बाँकेमा एक एक तथा रुपन्देहीमा दुइ वटा आइसोलेशन अस्पताल छन् । यी अस्पताल भरिभराउ भएपछि अहिले आइसोलेशन सेन्टर बनाउन थालिएको छ ।
शनिवारसम्म प्रदेशभरि ४२ वटा आइसोलेशन सेन्टर बनाइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । जसमा ७४५ जना विरामी राखिएको छ भने सेन्टरबाटै १३ जना निको भएर घर फर्किसकेका छन् । त्यस्तै चार वटा आइसोलेशन अस्पतालमा ११५ जना संक्रमित छन् भने १११ जना निको भएका छन् । अहिलेसम्म यो प्रदेशमा निको हुनेको संख्या १२४ जना पुगेको छ ।
अन्य अस्पतालहरुले आइसोलेशन बेड बनाएको दाबी गरे पनि संक्रमितको उपचार भने गरिरहेका छैनन् । प्रदेशभरि ४८ अस्पतालले ४९५ आइसोलेशन बेड बनाएको दाबी गरे पनि अहिलेसम्म जम्मा १२ जना संक्रमित मात्रै अन्य अस्पतालमा रहेका छन् ।
शनिवारसम्म प्रदेशभरि संक्रमितको संख्या १०६१ पुगेको छ । १६ हजार बढीको स्वाब परीक्षण गर्दा त्यति संख्यामा संक्रमित भेटिएका हुन् । शनिवारसम्म २१ हजार एक सय ६८ को स्वाब संकलन गरिए पनि पाँच हजार २१ जनाको नतिजा आउन बाँकी छ ।
प्रदेशभरि शनिवार साँझसम्म ३८ हजार छ सय ७३ जना क्वारेन्टाइनमा बसेका छन् भने संक्रमित ९३३ को उपचार भइरहेको छ । अहिलेसम्म यो प्रदेशमा बाँके, अर्घाखाँची, गुल्मी र पाल्पामा गरी चार जनाको मृत्यु भइसकेको छ ।
संक्रमितको जिल्लागत विवरण
कपिलबस्तु जिल्लामा ५२३
बाँके जिल्लामा २६७
रुपन्देही जिल्लामा ११२
दाङ जिल्लामा ७४
बर्दिया जिल्लामा ४१
नवलपरासी जिल्लामा १९
पाल्पा जिल्लामा ८
गुल्मी जिल्लामा ६
अर्घाखाँची जिल्लामा ५
रुकुमपूर्वमा ३ जना
प्युठानमा ३ जना
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।