महान्यायाधिवक्ता अग्नि खरेलले रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको अनुसन्धानमा कुनै दबाब नरहेको स्पष्ट गर्नुभएको छ । उहाँले अनुसन्धान र अभियोजनमा तलमाथि हुन नदिने पनि प्रतिबद्धता जनाउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा उहाँले भन्नुभयो– ‘घटनामा बाहिर प्रचारमा आएजस्तो अनुसन्धानका क्रममा देखिएको छैन । कतिपय विषय सञ्चार माध्यममा व्यक्तिगत कुरासँग जोडेर पनि आएका छन् । मैले युट्युब र अनलाइन मिडिया पनि फलो गरिरहेको छु, त्यो पुष्टि हुने प्रमाण देखिएको छैन ।’
उहाँले यो मुद्दालाई बिग्रन नदिइने बताउँदै भन्नुभयो– ‘म विश्वास दिलाउन चाहन्छु, अभियोजनको मामिलामा तल माथि हुन कुनै ठाउँमा दिइने छैन, त्यस्तो कुनै आधार पनि छैन ।’ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा घटना हुँदा नवराज विकसहित ५ जनाको भेरी नदी किनारमा शव भेटिएको थियो भने एक जना अझै वेपत्ता छन् ।
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले माया प्रेमको विषयबाट रुकुम घटना उब्जिएको बताउनुभयो । घटनामा पीडित पक्षले २० जनाविरुद्ध किटानी जाहेरी दिएको र १८ जना पक्राउ परेको उहाँले बताउनुभयो ।
उनीहरुविरुद्ध अनुसन्धान गर्न अदालतबाट १० दिनको म्याद लिएको पनि महानिरीक्षक ज्ञवालीले जानकारी दिनुभयो । घटनाको गाम्भीर्यतालाई हेरेर संघीय प्रहरी इकाइ नेपालगञ्जबाट एसएसपीको नेतृत्वमा टोली पठाएको, केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीबाट पनि टोली पठाइएको उहाँले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश प्रहरी प्रमुख पनि घटनास्थलमा पुगेर पीडित परिवारलाई भेटेको र घटनाको अनुसन्धान गर्न निर्देशन दिएर फर्किसकेको महानिरीक्षक ज्ञवालीले संसदीय समितिमा जानकारी गराउनुभयो । पाँच जनाको शव आफन्तलाई बुझाइएको र एक जनाको खोजीमा गोताखोर लागेको उहाँले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।