मेरो जन्म दिन, बा र आमा

प्रकाशित मिति :  ५ जेष्ठ २०७७, सोमबार

प्रेम प्रशान्त बोहरा

जेठ ५ । मैले मेरी आमाको गर्भबाट यो धर्तीमा पाइला राखेको दिन । यो दिनमा मलाई औधि खुशी हुनु पनि छैन र यो दिनको धेरै धेरै हर्षबढाइ पनि गर्नु छैन । नत फेरि यो दिनमा दुखी नै छु, न त पोख्नु छ पीडा र वेदना । केवल यो दिनमा म यो संसारमा मलाई सबैभन्दा बढी र सबैभन्दा पहिले चाहने, माया, ममता र स्नेह प्रदान गर्ने मेरा बा र आमाको बारेमा केही शब्दहरु लेख्दैछु ।

म यो पृथ्वीमा खाली हात र नाङ्गो शरीर लिएर जोडजोडको रुञ्चे आवाजको चिच्याहटमा जन्म लिदै गर्दा मेरी आमा सुत्केरी व्यथाको प्रसव पीडालाई भुलेर मुसुमुसु हाँस्दै, मलाई छातिमा टाँसेर चुमिरहेकी थिइन होला । जीवनका सबै पीडा भुलेर मेरी आमालाई छोरा उपहार दिएकोमा मौन धन्यवाद दिदै आफ्ना दाजुभाइसँग म छोराको बाबा भएँ भन्दै मेरो जन्मको खुशीयालीमा भुइँ खुट्टा छाडेर मेरा बा प्रचारप्रसार गरिरहेका थिए होला ।

मेरा हजुरबुबाको मेरा बाले समेत राम्रोसँग अनुहार देख्न पाएनन्, मैले त देख्ने कुरै भएन । तर, मेरी हजुरआमा नाति जन्मेको खुशियालीमा महिनौंदेखि बन्द भएको बुहारी (मेरी आमा) सँग बोलचाललाई तोड्दै ‘खै नातिको अनुहार कस्तो छ हेर्छु’ भन्दै थिइन रे ! ठूली दिदी त सानोमै मावलीमै बस्ने भएकोले खासै खुशी वा दुखी हुन पाउनुभएनछ, किनकिसूचना तथा संचारको अभावले भाइ जन्मेको ढिला मात्रै थाहा पाउनुभयो रे !


सानी दिदी म जन्मदा भर्खर दुइ बर्षको हुनुहुँदो रहेछ । सायद उहाँलाई मेरो जन्म आश्चर्य र अच्चमको हुनुपर्छ र लागेको हुनुपर्छ यहाँ के भैरहेको छ आज । मेरा अन्य सबै नजिकका आफन्तहरु ठूलो बा, ठूली आमा, मामा माइजु, फुपु फुपाजुहरु मेरो जन्म भएको खबरपछि सायद सबैको अनुहार खुशीले टल्केको हुनुपर्छ । जन्मनु, बढ्नु, बृद्धअबस्थामा पुग्नु र मर्नु प्रकृतिको नियम हो । यो हिजोदेखि आजसम्म चलिरहेको छ र भोलि पनि यसरी नै चल्नेछ । भलै कसैको मृत्यु प्राकृतिक प्रकोप, युद्ध, रोगको कारण अल्पायुमै हुनसक्छ यसलाई अपवाद पनि मान्न पाइन्छ होला ।
म पक्कै पनि आफु खुशी र रहरले यो संसारमा आएको होइन । यदि म खुशी, रहर र चाहनाले यस संसारमा आउँदो हुँत आमाको गर्भबाट निस्कदै गर्दा मेरो रुवाइको चिच्याहट हुँदैन थियो होला ।

यदि त्यसो हुन्थ्यो होला त मेरो चिच्याहटमा खुशी र उमंगको हर्षउल्लासमय हाँसोको खित्का हुन्थ्यो होला । तर मेरा बा र आमालगायतसबै आफन्त र नातेदारको खुशी र चाहनामा मेरो जन्म भएको हुनुपर्छ । त्यसैले त म जन्मिदा उहाँहरुको ओठमा हाँसो, मनमा खुशी र हर्षउल्लास हुँदो हो । मेरा लागि सबै आफन्तहरु निकै महत्वपूर्ण, निकै प्रेमिल छन् । तथापि म आज धेरै शब्दको कारखाना खोल्ने पक्षमा छैन । म मात्रै मेरा बा र आमाको मप्रतिको माया, प्रेम, स्नेह, करुणा, त्याग, तपस्या, बलादानी र समर्पणको बारेमा २ शब्द रटान लगाउन गइरहेको छु ।

मेरा बा कहिल्यै पनि नयाँ, सुकिलो र मुकिलो लुगामा हुदैनन् । मेरा बाको शरीरमा सधैं एउटै टोपी, कमिज र पाइन्ट हुन्छ र त्यो पनि सकुशल होइन च्यात्तिएर टालो हालेको । मेरा बाको खुट्टाले कहिल्ये नयाँ र महँगो जुत्ता चप्पल पाएनन् । सायद चप्पल मुनिबाट काठ र ढुङ्गा बिजाउँछन होला । मेरा बा कहिले भोको पेट, कहिले नाङ्गो शरीर, कहिले खाली खुट्टा त कहिले खाली थाप्लोमा भारी बोकिरहेका हुन्छन् । मैले मेरा बाको पसिनाले निथ्रुक्कै भिजेको शरीर देखेको छु । दुख, कष्ट, मेहनत, परिश्रम गर्दागर्दै कामको चापले चाउरी परेको अनुहार देखेको छु ।

मेरा बाको भारी बोक्दाबोक्दा खुइलिएर थाप्लोमा कपाल छैन । मेरा बाका हात र खुट्टा चिराचिरा भएर फाटेका छन् । हिड्न र खाना खान पनि मुस्किल पर्छ । यस्ता थुप्रै कहानी छन् मेरा बाले बोकेका, जो कहिल्यै टेलिभिजनको पर्दा आउँदैनन् । पत्रिकामा छापिदैनन । रेडियोमा बज्दैनन । युटुब र अनलाइनका रहस्यमय कथाहरू र व्यथाहरु बन्दैनन् । यति हुँदाहुँदै पनि मेरा बाले हरेश खाएको मैले कहिल्यै देखेको छैन । मेरा बाले मलाई प्रत्येक बर्ष नयाँ शैक्षिकसत्रमा बिद्यालय पोशाक किन्देकै छन् । मलाई लुगाको अभाव छैन । जब मलाई नयाँ किन्न मन लाग्छ पैसा माग्न थाल्छु भए खल्ती, नभए ऋण मागेर भए पनि मेरा बाले मलाई कपडा किन्न पैसा उपलब्ध गराइहाल्छन ।

कुनै दशै छुटेको छैनकि मेरा बाले मलाई नयाँ लुगा नल्याइदिएको होस् । कुनै हिउँद छैन, बाले मलाई नयाँ कोट नकिनेको तर मेरा बा मैले एकबर्ष अगाडि लगाएको कोट लगाउँदै पुस माघ धकेलिहाल्छन । बरु मलाई तन्नेरी मान्छेले नयाँ कोट किन भन्छन् । मेरो खुट्टामा जुत्ता र चप्पल पातलो हुन दिदैनन्, आफ्ना लागि नयाँ किनेका छन् भने मेरो पुरानो जुत्ता र चप्पल लगाउँदै भन्छन्– तन्नेरीले नयाँ लगा । मेरा बाले यति मात्रै होइन मेरा लागि धेरै त्याग, समर्पण र बलिदानी गरेका छन् । जब म जन्मे उनले त्यही दिनबाट आफू र आफ्ना सपनाहरूलाई तिलान्जली दिएर मेरो र मेरा सपनाहरूको बारेमा सोच्न थाले । आज पनि यो कोरोनाको कहरका बीच मेरा बा परदेशमा रगत र पसिना बेचिरहेका छन् । सन्तानको निम्ति आफ्नो रगत र पसिनासँग भारु साटिरहेका छन् । त्यसैले मेरा बा संसारको सबैभन्दा उत्कृष्ट बा हुन् ।


मेरी आमा पनि मेरा म जन्मेदेखि आफूलाई बिर्सिइन, आफ्ना सपनाहरूलाई बिर्सिइन र माइतीघर मेरो जन्मपपछि त चटक्कै बिर्सिइन । मेरी आमाले आफ्नो सबै कुरा ममा समाहित गरिसकेकी थिइन् । मेरी आमाले मलाई नौ महिना गर्भमा राखिन, दूध चुसाइन, माया र ममता दिइन । तपाईहरुलाई अचम्म लाग्नसक्छ मेरी आमालाई आफ्नो नाम समेत लेख्न आउदैन । उनी अ, आ, क, ख, समेत जान्दिनन् । तर मेरी आमा शिक्षक हुन्, जसले मलाई तातेताते गराउँदै हिडडुल गर्न, बोल्न, खान, लगाउन, रितिरिवाज, परम्परा, संस्कार र संस्कृति, न्याय र अन्याय, सही र गलत, सत्य र असत्य आदि जीवनमा सबैभन्दा बढी र पहिला सिकाउने मेरी आमा नै हुन् ।


मेरी आमा मेरी नर्स पनि हुन् उनले बच्चामा मलाई अलिकति ज्वरो आयो, टाउको दुख्यो भने तातोपानी तताएर खुवाउने गर्थिन । मेरो हातखुट्टा काट्यो भने झारपात (घाउ सुकाउने) मिचेर लगाइदिने गर्थिन । धेरैपटक बिरामी हुँदा आमाको काख र तातोपानीले निको भएका उदाहरण पनि मसँग छन् । मेरी आमा होटेल म्यानेजमेन्ट पढेकी त छैनन् तर पाँचतारे होटलको खानाभन्दा मीठो लाग्छ मलाई उनले पकाएको खाना ।


एउटा किस्सा म सानोमा अबेरसम्म पढ्दा मेरी आमाले मलाई भन्थिन ‘सुत् अब कति पढ्छस ? भोलि पढ्लास, फेरि विरामी बिरामी हुनुपर्ला ।’ बिरामी भएको बेला ‘जान्ने’ कहाँ गएर अक्षता हेराएका दिनहरु पनि याद छन, झारफुक गरेका दिनहरु पनि याद छन्, तथापि बच्चामै एउटा गुण चाही म सँग थियो, मलाई अक्षता हेराउदा, झारफुक गर्दा सन्चो भइन्छ भन्ने विश्वास लाग्दैन्थ्यो । कहिलेकाहीँ आमासँग भन्थें भने कहिलेकाहीँ मौन बिद्रोह गरेर बस्थे ।


मलाई यति धेरै माया गर्ने संसारकै उत्कृष्ट मेरी आमाका पनि हातमा ठेला उठेका छन् । पैतलाहरु फाटेका छन् । अब त बुढी हुन् थालिन क्यारे, कताकता कपाल पनि फुल्न थालेको छ ।छाला चाउरी पर्न लागेको छ । लवाइखवाइमा मेरा बाको जस्तै किस्सा छ मेरी आमाको पनि । बर्षौंसम्म पुरानै कुर्ता र सुरुवाल लगाउँछिन । गुन्यु र चोला लगाउँदा चोलो टालटुल पारेकी हुन्छिन् ।


मेरा बा र आमाले आफ्ना सपनाहरू तिलान्जली दिएर जब मबाट सपना देख्न थालेका थिए । सबैका बा आमाझैँ मेरा बा र आमाको पनि सपना थियो र छ । छोराले राम्रोसँग पढोस, लेखोस र जागीर खाओस र यो बुढेसकालमा हामी बुढाबुढीको हेरचाह गरोस् । तर बा र आमाले सोचेभन्दा अलि फरक सोच, विचार, चिन्तन मनन र विवेचना गर्दै जाँदा मैले क्रान्तिको मार्ग रोज्न पुगेको छु । तथापि आज म यो बिषयमा लेख्न चाहान्न, अन्य कुनै दिनमा यो बिषयमा पनि कलम चलाउने नै छु ।


सायद यही कारण अभिव्यक्त नगरे पनि मेरा बा र आमा मसँग असन्तुष्ट हुनुहुन्छ । सायद देख्नुहुन्छ कसैको छोराले जागिर खाएको, कसैको छोरा बिदेश गएर पैसा कमाएर पठाएको र कसैले व्यापार गरिरहेको तर आफ्नो जेठो छोरा भने क्रान्ति गर्छु भन्दै क्रान्ति मार्गमा लम्किरहेको, हजारौं कठिन, चुनौतीपूर्ण, संगीन, भीषण र आदिमय क्षणको सामना गरिरहेको । र, सम्झनुहुन्छ जनयुद्धमा थुप्रै निर्दोष, इमानदार र जनपक्षीय युवाहरूको तत्कालीन तानाशाही, निरंकुश र आततायी सत्ताले अमानवीय तवरले निर्मम हत्याका श्रृखंला मच्चाएको । त्यसैले झस्काउँछ मेरा बा र आमालाई क्रान्तिको शब्दले ।


लाग्छ होला, छोरा कतै मर्छ कि । लामो समय जेल बस्छ कि ? मलाई आज पनि राम्रोसँग याद छ आज भन्दा तीन बर्ष अगाडि १६ बर्षको ठिटोलाई तत्कालीन प्रहरी, प्रशासन र भर्खरै निर्वाचित भएका केही कथित जनप्रतिनिधिहरुको राजनीतिक तुष र पूर्वाग्रहको कारण झुठो मुद्दामा हिरासत राखी अनुसन्धानको नाममा गैरन्यायिक तवरले २९ दिनमा हिरासतमा राखेको । जब हिरासतमा मेरी आमा मलाई भेट्न गइन, त्यतिबेला आमाको आँखाबाट तपतप आँसु चुइरहेका थिए । त्योबेला मैले पनि आफ्ना आँसुलाई थाम्न सकिनँ । जब म २९ औं दिनपछि धरौटीमा निस्कें र बालाई फोन गरें । बाले रोदनपूर्ण स्वरमा भन्नुभयो– राजनीति साजनीति नगर, खुरुखुरु पढ्न जा, म घरजग्गा बेचेर पनि पढाउँछु । त्योबेला पनि मेरो आँखाबाट आँसु रसाइरहेका थिए र जीवनमा बा र आमाको चिन्तासहितको रोदनबाट भावुक भएको दिन, जुन दिन मेरो जीवनभर अविस्मरणीय बन्ने छ ।


त्यो भन्दा पछाडि पनि पटकपटक राजनीतिक आस्था र विचार अभिव्यक्तिका कारण हिरासत जीवन जिउनु पर्यो । पछिल्ला हिरासतका बसाई मेरा बा र आमालाई पनि सामान्य भएको । राज्यले बिनाकारण आफ्नो छोरा र उसको पार्टीका नेताकार्यकर्तालाई गिरफ्तार गरेको, झुट्ठा मुद्दा लगाएको भन्ने कुरामा विश्वस्त हुँदै जानुभयो ।


र, सबैभन्दा गजबको कुरा बा र आमालाई मैले र मेरो पार्टीले उठाएका एजेन्डा सही भएको बुझ्दै जानुभएको छ । आज उहाँको जेठा छोरा यानेकी म जन्मेको दिनमा एउटा कुरा बा र आमा दुबलाई आग्रह गर्छु कि ए बा ! ए आमा ! यदि न्याय, सच्याइ, रुपान्तरण, शान्ति, समानता, स्वाधीनता, समृद्धि र अग्रगमनको पक्षमा आवाज उठाउने तपाईंका छोराहरू (सबै क्रान्तिकारी) सहिद नै भए पनि त्यो परिस्थितिको सजिलै सामना गर्नुहोला ।

आमा ! बा तपाईंको छोरा संधै बा ! आमाको कर्तव्यनिष्ठ छोरा र यो देशको कर्तव्यनिष्ठ नागरिक बन्ने छ । मलाई यो धरतिमा पाइला टेकाउने तपाई आमा ! बाप्रती हार्दिक नमन । उच्च सम्मान र सम्झना ।

Facebook Comments