सदा झैँ
सूर्यले लाइट बाल्नु अघि
चटपटेको ठेला घुर्काएर
सहर निस्किएको चटपटे माइलो
फर्किएको छैन अझैँ
थाहा छैन भरे आउँदा ल्याउँछ ल्याउँदैन उसले
सुत्केरी स्वास्नीका लागि एकमुठी ज्वानो
सातुको कुटुरो बोकेर
ताल भाट्न सहर हिँड्को असारे कान्छे
फर्किएको छैन अझैँ
थाहा छैन भरे आउँदा ल्याउँछ ल्याउँदैन उसले
बिरामी बा का लागि एक गोली सिटामोल
पटुुकामा मकै फाँचो पारेर
अभावको ढिकीमा ढुङ्गा कुट्न
खोला किनार गएकी राम साहिँली
फर्किएकी छैन अझैँ
थाहा छैन भरे आउँदा ल्याउँछे ल्याउँदैने उसले
केटाकेटीका लागि– पेन्सिल, कटर र इलेजर
यिनी आउनु पहिल्यै
धेरै पटक आएर गइसके
बैँकको म्यानेर
स्कुलको लेखापाल
बजारको व्यापारी
सदा झँैँ
पढाउन नपरेपछि
टोपीभित्र लुकाएर टुपी
एकाबिहानै शहर निस्केको मास्टर
भर्खरै आएको छ– तासघरबाट निस्केर
बोकी ल्याएको छ–
कान्छीको दोकानबाट फुस्यानो गन्ध
भुलेको छ बन्द गर्न दोकानतिरै खोलेको दरबाजा
जिभ्रामा रोपी ल्याएको छ तिखा काँडा
सहर निस्कनुअघि भनेको थियो घरको हलीलाई
राम साहिँला जोतेर सक्नु टारीखेत
उतैबाट बजार गएर ल्याउनु
विदेशी ब्राण्डको रक्सी र बङ्गुरको सुकुटी
ल्याउनु गन्ध नआउने सिगरेट र तासका बण्डल
रातभर मनाउनु छ–मजदुर दिवस
केटाकेटी पढाउँदा धेरै पटक सुनेको थियो साहिँलाले
क्लारा र पिटरको जीवनी
थाहा पाएको थियो
सरकारी क्यालेण्डरमा छापिने
राता अक्षरको परिभाषा
किनेर ल्यायो केही थान गत्ता र काठमा सेप्टी
बनायो प्लेकार्ड
र लेख्यो मजदुर एकता जिन्दावाद
त्यसैले त राम साहिँलो
हातमा बोकेर निस्किएको छ बिदाई पत्र
कतै यो पनि
गणतन्त्रको नयाँ उपहार पो हो कि ?
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।