• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लकडाउनमा विद्यार्थीलाई रेडियोबाटै शिक्षण




विश्वमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) रोकथामका लागि मुलुक लकडाउनमा छ । देशभर गत चैत ६ गतेबाट हुन लागेको एसईई परीक्षा समेत स्थगन भएपछि अन्यौलमा रहेका विद्याथीलाई जिल्लाको भूमे गाउँपालिकाले लकडाउनको समयमा रेडियो तथा युटुब च्यानलबाट पढाई गर्ने भएको छ ।

गाउँपालिकाले शिक्षण सामाग्री अर्थात कार्यक्रम उत्पादन गरेर जिल्लाको रेडियो पूर्वी रुकुम एफएम १०२.३ मेगाहर्ज र आवश्यक्ता भएमा युटुब च्यानल मार्फत विषयगत शिक्षकबाट तयारी कक्षा सञ्चालन गरिने भएको हो ।


कोरोना संक्रमण रोकथामका लागि मुलुक लकडाउनमा रहेको र एसईई परीक्षा दिन नपाएर विद्यार्थी तनावमा रहेका बेला उनीहरूको ध्यानकेन्द्रीत गर्न गाउँपालिकाले एसईई परीक्षा दिन तयारीमा रहेका विद्यार्थीका लागि रेडियो एवं युटुब मार्फत गाउँपालिकाको शिक्षा नियामवली २०७४ को नियम २५ (ग) मा व्यवस्था गरिएको बमोजिम अनौपचारिक दूर शिक्षा कार्यक्रम मार्फत पढाई सञ्चालन गर्न लागिएको गाउँ शिक्षा समितिका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो ।


‘एसईई दिन नपाएर लकडाउनको मारमा भौतारिएका विद्यार्थीको मनोवल बलियो हुनुका साथै थप विद्यार्थीमा शिक्षण अभ्यासको विकासमा टेवा पुग्नेछ’ अध्यक्ष बुढा मगरले भन्नुभयो –‘हप्ताको पाँच दिन कक्षा आरम्भमा विद्यार्थीले गरेको अभ्यास रुजु हुने, त्यसपछि स्टुडियोबाट शिक्षकले तयार गर्नु भएको शिक्षण सामाग्री प्रशारण एवं विश्लेषण गर्नु हुनेछ, र प्रत्येक दिनको पढाईको अन्तिममा विद्यार्थीलाई भोलिको अभ्यासको लागि प्रश्न दिइनेछ ।’


बाँकी हप्ताको दुई दिन स्टुडियोबाट विद्यार्थीलाई ज्ञानमुलक जानकारी प्रदान गर्ने र विद्यार्थीले सामाजिक संजाल वा टेलिफोनमार्फत जिज्ञासा राख्न सक्ने व्यवस्था मिलाउने अध्यक्ष बुढा मगरले जानकारी दिनुभयो ।


पढाई व्यवस्थाको लागि चालु वर्षको शिक्षा कार्यक्रम तर्फको कार्यक्रम हुन नसकेको शैक्षिक भ्रमण तर्फ विनियोजितमा रहेको तीन लाख ८५ हजार रुपैयाँ र शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी कार्यक्रमको तीन लाख रुपैयाँ गरी ६ लाख ८५ हजार रुपैयाँको व्यवस्था गरिएको छ । तत्कालका लागि गणित, विज्ञान, अंग्रेजी, त्यसैगरी नेपाली र अंग्रेजी व्याकरणका साथै सबैका लागि जनचेतामुलक नैतिक शिक्षाको पढाई गरिने गाउँपालिकाले जनाएको छ ।


रेडियोबाट प्रशारण हुने उक्त कार्यक्रमबाट रुकुमपूर्वका तीन वटै स्थानीय तहका विद्यार्थीको साथै छिमेकि जिल्ला रुकुम (पश्चिम), रोल्पा, जाजरकोट र सल्यानका विद्यार्थी लाभान्वित हुने छन् ।
जिल्लाका दुई सिस्ने र पुथाउत्तरगंगा गाउँपालिकासँग संयुक्त लगानीमा पढाई सञ्चालन गर्नका लागि आज छलफल गरिने बताइको छ ।

यदि दुई गाउँपालिका पनि सहमत भएमा त्यही अनुसार व्यवस्थापन गरिने र सहमत नभएमा भूमे गाउँपालिकाले मात्र पनि पढाई सञ्चालन गर्ने अध्यक्ष बुढा मगरको भनाई रहेको छ । यहि हप्ता भित्रमै पढाई सञ्चालन गरी एसईईको परीक्षा नहुँदा सम्म पढाई सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

Facebook Comments