कविताः कलमको व्यथा

प्रकाशित मिति :  ५ बैशाख २०७७, शुक्रबार

श्रावणकुमार नेपाली

मसिका थोपा मै पनि किन छ भन्दा मन परि
मठारिन्छन टुप्पा किन कलममै छेद्न गरि

हिजो नाची नाची पल भर नथाक्ने कलम ती
चुली चढ्दै चढ्दै सगर तिर ताक्ने कसम ती

भए टुक्रा टुक्रा अनुज भगिनी कै विमतीले
बने सुख्खा केले कित बिष मिसायो नियतिले

कहाँ राखु पाना सब तिर छुराकै पसल छन
यहाँ कलमभन्दा बम र खुकुरी नै असल छन

जितेका छन बाजि कुमन अनि काला रकमले
कहाँ भरलान आशा विचरा बबुरा ती कलमले

कडा लोहा जस्तै मन पनि पघाल्छन कलमले
दशामा अड्केका बेतित मन टाल्छन कलमले

मसि चुस्तै चुस्तै तर गति थुतिन्छन कलमकै
अचानोमा राखी सह किन लुटिन्छन कलमकै

दुखे माछापुच्छ्रे अनि सगरमाथा कलमका
विलाए पाना मै अमर यस गाथा कलमका

नलेखेरै टारे पनि मन चिथोर्छन कलमले
रछे भिज्छन पाना जनक जननीका रगतले

उठे चम्छे च्वाला शुभ कलमका आश्य जले
कहाँ रोक्ला छेक्ला रगत भल सानो कलमले


घोराही,दाङ।

Facebook Comments