पीडाहरुको बीचमा एउटा पृथक पीडासँगको साक्षात्कार

प्रकाशित मिति :  २ चैत्र २०७६, आईतवार

नरेन्द्र केसी


कक्षामा पढाउँदै थिएँ, अगाडिको दोस्रो बेञ्चमा बसकी एक छात्रा निकै उदास भएको देखें । उनको अनुहारले केही भन्न खोजिरहेको थियो । आँखामा नजानिंदो गरी आँशु टल्पलाइरहेको थियो । मैले उनीतिर हेर्दा सम्हालिन खोज्थिन् तर मैले नदेखेजस्तो गर्दा उनको अनुहारले मलाई केही भनिरहेजस्तो लाग्थ्यो ।

कक्षामा धेरै दुःखीपीडतका कथा, गरीबीले सिर्जना गरेका विवशता, केही गर्न चाहेर पनि नससकेकाहरुका कहानी सुनाउने भएकाले पनि होला, उनले आफ्नो पीडा मेरो प्रस्तुतिमा भेट्दो रहिछन् । एक दिन मैले उनलाई तिम्रो अनुहार किन यति मलिन छ, केही समस्या छ भनेर सोंधे । शुरुमा जवाफ दिन अन्कनाए पनि केहीबेरमा भनिन्– समस्या धेरै छ सर, म एकान्तमा सुनाउन चाहन्छु । कक्षा सकिएपछि बाहिर बाटोमा बोलाएपछि उनले बेलीविस्तार लगाइन् ।

उनी त परिवारको पीडाले थिचिएकी रहिछन् । बुवा बाह्र बर्षअघि नै कान्छी श्रीमती लगेर परिवारबाट बेपत्ता भएको, मुटु रोगले थलिएकी आमाले ज्याला मजदूरी गरेर औषधि खाने र परिवार पाल्ने काम गरिरहेको, विगत तीन बर्षदेखि कान्छी बहिनी मानसिक सन्तुलन गुमाएर सडकमा निस्केको ।

अरु सबै त जेनतेन सम्हाले पनि बहिनी सम्हाल्न नसकेको पीडाले आक्रान्त रहेछन् आमाछोरी । घर छाडेर कयौं दिनसम्म सडकमै बस्ने बहिनी १८ बर्षकी भइन् । उमेर पुगेको किशोरी सडकमा निस्केको देख्दा दुःख चाही आमा र दिदीको मन सम्हालिन्छन् होला र ?

कतै मान्छे मरेको खबर सुन्दा पनि आफ्नै बहिनी पनि पो कि भन्ने सन्त्रास । बहिनीको महिनाबारी रोकिंदा पनि केही भयो कि भन्ने डर । घरमै राखौं भने या साङ्लोले बाँध्नुपर्ने, या त शौचालयमै थुनेर राख्नुपर्ने । आमाछोरी कामको खोजीमा बजार निस्कनै पर्ने । यस्तै यस्तै पीडा सुनेपछि मेरै आँखा पनि ओभाना रहन सकेनन् ।

‘केही सकेछु भनें गरौंला’ यति भनेर उनीबाट छुटिएँ म । घरमा पुगेपछि सहयोगी मनका धनी स्वास्थ्यकर्मी दीपेन्द्र न्यौपानेसँग सम्पर्क गरें । शनिवार (१ चैत) मनोचिकित्सक डा. मोहन बेलबासे कालिका मेडिकल घोराहीमा आउने र त्यही देखाउनुपर्ने सुझाव दिनुभयो । यसका लागि अर्का सहयोगी मनका धनी फोटो पत्रकार कुलदीप न्यौपानेसँग शनिवार दिउँसोभरि खटियौं ।

विरामीलाई जाँचका लागि ल्याए पनि पटकपटक भागेर सडकमा निस्कँदा समातेर ल्याउनु सकसपूर्ण हुँदो रहेछ, जुन सकस यो परिवारले तीन बर्षदेखि ब्यहोरिरहेको छ । न्यौपाने बन्धुको सहजीकरणमा निशुल्क स्वास्थ्य जाँच भयो तर परिवारका लागि यतिले मात्र पुग्ने भएन । औषधि नखाइदिने र घरमा नबस्ने समस्याबाट आजित आमाछोरीको राहतका लागि केही त गर्नपथ्र्यो । त्यसपछि लागियो घोराही उपमहानरतर्फ ।

घोराही उपमहानगरपालिका प्रेस संयोजक सहकर्मी निमुसंगम घर्ती भएपछि केही काम गर्न निकै सहज हुने गरेको छ । अब मैले उहाँलाई सम्झें । चैत १ गते शनिवार परेकाले आज आइवार हामी यो कामका लागि १० बजेदेखि नै लाग्यौं ।

घोराही ३ कुहिरेपानीमा प्रेरणाका लागि अभियानले भर्खरै स्थापना भएको आश्रममा लैजाने हाम्रो उद्देश्य हो तर वडा र घोराही उपमहानरको सिफारिसपछि मात्र त्यसका लागि प्रक्रिया अघि बढ्ने थाहा पाएपछि हामी घोराही १८ को कार्यालयमा पुग्यौं । प्रेस सल्लाहकार घर्ती वडादेखि नै खट्नुभयो भने वडा र नगरको सिफारिस बनेपछि हामी विरामीलाई उद्धार गर्न हिड्यौं ।

विहानै घर छाडेर भाग्ने नानीलाई आज घरमै राख्नु भनिएको थियो । जसले गर्दा आज विहानैदेखि शौचालयमा थुनेर राखेका रहेछन् । कुलदीप न्यौपाने सरलाई गाडी लिएर आउन अनुरोध गर्यौं र उहाँसँगै हामी घरमा पुग्यौं । उसको अभिभावकको रुपमा दिदी (मेरो विद्यार्थी)लाई समेत विरामीलाई आज दिउँसो कुहिरेपानीको आश्रममा लगेर राखियो ।

आश्रम सञ्चालक संस्था प्रेररणाका लागि अभियानले हाम्रो अनुरोध स्वीकार गरेर विरामी राखिदिएको छ । विरामीको आगामी यात्रा के हुन्छ, अपडेट गराउने नै छु तर यो पीडाले फेरि पनि नराम्ररी घोचेको छ । विरामी आफ्नो नाम, बुवाको नाम र बुवा काठमाडौंमा रहेको बताउने पनि गर्छिन् ।

उमेर बढ्दै जाँदा परिवारबाट भनेजस्तो वातावरण नपाएको र बाह्र बर्षअघि छाडेका बुवाको मायाँले उनी बिक्षिप्त भएको हाम्रो गैरचिकित्सकीय अध्ययनले देखाउँछ । उनी हमेशा बुवाकै कुरा निकाल्छिन् र बुवालाई भेट्न काठमाडौं जाने भन्दै दौडिरहन्छिन् ।

गैरजिम्मेवार बुवा, आमा र अर्की छोरीले भोगेको पीडाबारे फेरि कुनै प्रसंगमा चर्चा गरौंला नै, आज मलाई लागेको के भने यस्ता समाजका अलपत्र र बेवारिसेहरुको जीवन बचाउनु हामी एक दुइ कुरा जानेका सचेत भनिनेहरुको दायित्व हो ।

केही समयदेखि नीलसागर आश्रमले दाङमा एउटा पृथक अभियान चलाइरहेको छ । उसलाई मात्रै सबै विरामी पठाउँदा बोझको भारी मात्र होला भनेर हामीले कुहिरेपानीमा राखेका हौं तर यो आश्रम एकदमै प्रारम्भिक अवस्थामा छ । जंगलको छेउ, एकान्त कुनामा राम्रो संरचना बनेको छ तर यसमा अझ धेरै गर्न बाँकी छ ।

तपाइँ हामी लाग्यौं भने यसलाई राम्रो बनाउन सकिन्छ र दिमागको तार चुडिएर अलपत्र जीवन बिताइरहेकाहरुलाई नयाँ जीवन दिन सकिन्छ । अब हामीले स्थानीय तहहरुलाई सडकमानवमुक्त घोषणा पनि गरिरहेका छौं, त्यसैले यस्ता अभियान र अभियानमा जुटेका संस्थाहरुलाई प्रोत्साहन गर्ने गरी स्थानीय सरकारले अझै लगानी बढाउनुपर्ने आज मलाई थप आवश्यकताबोध भएको छ ।

तस्विरहरुः कुलदीप न्यौपाने

Facebook Comments