दाङको घोराही उपमहानगरपालिका १७ स्थित चौघेरामा रहेको झण्डै तेह्र सय बर्ष पुरानो कुवा धेरैका लागि आकर्षण हुने गरेको छ । स्थानीय पर्यटकदेखि अध्ययरत विद्यार्थीहरुको यसमा आकर्षण देखिएको छ ।
यो कुवा झण्डै तेह्र सय बर्षअघि निर्माण गरिएको अनुमान गरिएको छ । गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठको परिसरमा कुवा रहेको छ । कुवा कहिले निर्माण गरिएको हो मिति उल्लेख नभए पनि मठसँगै कुवा निर्माण गरिएको हुनसक्ने स्थानीयको भनाइ छ । मठको स्थापना भने बिसं ८०९ सालमा भएको हो ।
पानीका अन्य स्रोतका कारण कुवा कम प्रयोग हुँदा कुवामा पानी निकै तल पुगिसकेको छ भने माथिल्लो भागमा घाँस उम्रेका छन् । त्यसो त पहिले कुवामा पानी नै आउँथ्यो तर अहिले पानीको स्रोत सुक्दै जाँदा पनि पानी कम भएको स्थानीयको भनाइ छ ।
नेपालका भन्दा भारतीय तीर्थयात्रुका लागि आकर्षक धार्मिक गन्तव्य चौघेरा मठ ऐतहासिक र धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यसमा पुराना मन्दिर, निर्माणाधीन मन्दिर, चित्रालय र पुस्तकालय रहेका छ ।
मठका योगी देवनाथले यो बिसं ८०९ सालमा स्थापना भएको बताउनुभयो । गोरखनाथबाट दीक्षित भएर सवालाख झारखण्डका राजा रत्न परीक्षकले सम्पूर्ण दरबारलाई मठमा बदलेर सिद्धरत्ननाथ बनेको इतिहास उहाँले सुनाउनुभयो ।
्नेपालका धेरै मन्दिरहरु हिन्दू धर्मका लागि मात्रै खुला भए पनि यो मठ सबै धर्मका लागि खुला रहेको उल्लेख गर्दै उहाँले गोरक्षनाथलाई हिन्दू, मुश्लिम र यहुदिहरुले पनि मान्ने गरेको बताउनुभयो । ‘यो हठ योग साधनको केन्द्र हो’– उहाँले भन्नुभयो– ‘गोरक्ष भनेकै इन्द्रीयको रक्षा हो, त्यो योगबाट मात्रै संभव छ ।’ यति महत्वपूर्ण स्थल भएर पनि यसको आवश्यक विकास हुन नसकेको औल्याउँदै उहाँले यसमा स्थानीय सरकारले बढी ध्यान दिनुपर्ने बताउनुभयो ।
यस्तै योगस्थलहरु भारतमा धेरै विकसित भएको औल्याउँदै उहाँले यसमा पनि दैनिक हजारौंलाई योग साधना गराउन सके पूर्वीय दर्शन र स्थानीयको शारीरिक सवलता एकैसाथ विकास गर्न सकिने धारणा पनि उहाँले राख्नुभयो ।
योगकै कारण सिद्धरत्ननाथ बाबा ६ सय बर्ष जीवित रहेको उल्लेख गर्दै उहाँले आजको तनावपूर्ण जीवन ब्यवस्थापनमा ध्यान र योगको धेरै महत्व रहेको बताउनुभयो । यो मठमा हरेक दिन दिउँसो ३ बजेदेखि विहान सवा ३ बजेसम्म वैदिक र तान्त्रिक बिधिद्वारा पूजा अर्जना हुने गर्दछ ।
राजा रत्नपरीक्षकको दरबार नै मठमा बदलिएकाले लामो समयसम्म यसले स्थानीयवासीका मुद्दा मामिला मिलाउने काम पनि गथ्र्यो । तर, अहिले आवश्यक संरक्षण र विकासको अभावमा यो मठ आकर्षणविहीनजस्तो देखिन थालेको छ । शुरुमा १ हजार २ सय बिघा जमीन रहेको यो मठसँग अहिले मुश्किलले १ सय ७५ बिघा मात्रै जमीन छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।