मुद्दा जितेपछि पहिलोपटक दाङ आएका पूर्वसभामुख कृष्णबहादुर महरालाई पश्चिम दाङमा आज भव्य स्वागत गरिएको छ ।
पश्चिम दाङको जनभेटघाटमा जाने क्रममा उहाँलाई बिजौरी, तुलसीपुरहुँदै पश्चिम हापुरेसम्मका जनताले ठाउँठाउँमा भव्य स्वागत गरेका हुन् ।
सो क्रममा बोल्दै पूर्वसभामुख एवं दाङ २ का सांसद महराले दाङवासीले दिएको यो अपार प्रेमले आफू भावविह्वल भएको बताउनुभयो । यसले दाङलाई एकताबद्ध गरेर जिल्लाको विकासका लागि अघि बढ्न थप दायित्व थपिएको महसुस आफूले गरेको उहाँले बताउनुभयो ।
जिल्ला प्रवेशसँगै धानखोलादेखि हापुरेसम्मका जनताबाट पाएको मायाँले आफूलाई निकै उत्साहित बनाएको उल्लेख गर्दै पूर्वसभामुख महराले आफू क्षेत्र नम्बर २ बाट निर्वाचित भए पनि समग्र दाङको जनप्रतिनिधिको रुपमा दाङवासीले आफूलाई उभ्याएको महसुस गरेको बताउनुभयो । साथै उहाँले ले जनताको तागतका अगाडि कसैको केही नलाग्ने बताउनुभयो ।
‘‘म तीन महिरा भूमरीमा परें। अहिले छुट्कारा पाएको छु। कसैले षड्यन्त्र गर्दैमा गलत कुरा सही हुन सक्दैन,’ उहाँले भन्नुभयो– ‘अन्तमा मैले न्याय पाएको छु। यो मेरो जीत होइन, तपाईं जनताहरुको हो।’
आफू जनताको बीचमा आएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘जनताको तागतको अगाडि कसैको केही लाग्दैन। मलाई जनताको साथ छ। यही नै ठूलो कुरा हो।’
पूर्वसभामुख महरा शान्तिवार्तास्थल हापुरे पनि पुग्नुभएको छ । सरकार र माओवादीबीच भएका वार्तामा उहाँ वार्ता टोली सदस्य रहनुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।