उपराष्ट्रपति नन्दबहादुर पुनले माओवादी जनयुद्धका कारण मुलुकमा राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भएको बताउनुभएको छ।
माओवादी जनयुद्धको उद्गम थलो रोल्पाको थवाङस्थित आफैंले विद्यालय तहको अध्ययन गरेको वीर बलभद्र माविलाई नमुना विद्यालय घोषणा गर्न आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले जनयुद्ध सम्झिनुभयो। मुलुकका अन्य भेगमा गणतन्त्रको नारा शिथिल भइसकेका बेला थबाङ र रोल्पाले उक्त नारा सशक्त रुपमा उठाएर मुलुकभर नै जागरण पैदा गरेको उहाँको भनाइ थियो।
सिंगो मुलुकका जनतालाई राजनीतिक अधिकारप्रति सचेत गराउन थबाङले खेलेको भूमिका अन्तर्राष्ट्रियकरण भइसकेको उहाँले उल्लेख गर्नुभयो। अब भने थबाङले राजनीतिक मूलप्रवाहमा समाहित भएर समृद्धि र विकासको अभियानमा सामेल हुनुपर्ने उपराष्ट्रपतिले बताउनुभयो । ‘इतिहासमा थबाङ र रोल्पा सधैं राज्यसत्ताको विरुद्ध उभियो।
जनयुद्धमार्फत् गणतन्त्रको झण्डा उठायो’, उपराष्ट्रपति पुनले भन्नुभयो, ‘जनयुद्धकै कारण राजतन्त्रको अन्त्य भएको छ। नेपालबाट सामान्तवादको अन्त्य भएको छ। गणतन्त्र र संविधान हाम्रो बच्चा हो। बाबुआमाले माया गरेर बालबच्चा हुर्काएजस्तै हामीले संविधानको संरक्षण गर्नुपर्छ, यसलाई हुर्काउनुपर्छ।’ संविधानले नागरिकलाई कुनै पनि अधिकारबाट वञ्चित नगराएको भन्दै उहाँले संविधान निर्माणको स्वामित्व थबाङ र रोल्पाले लिने स्पष्ट गर्नुभयो।
‘सधैं एउटै बाटोमा मात्र हिडिरहँदा परिस्थितिले लात हान्न सक्छ, थुक्न सक्छ’, उहाँले भन्नुभयो, ‘पहिल्यैदेखि राज्यसत्ताका विरुद्ध उभिएका हामी अब स्थानीय तह, प्रदेश र संघीय सरकारमा छौं। अब जनतालाई माग राख्न मात्र सिकाएर हुँदैन। हामीले माग पूरा गर्नुपर्छ।’
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।