थारु समुदायहरुमा यतिबेला माघी पर्वको रौनकता छाएको छ । थारुहरुले माघी पर्व वा माघे संक्रान्तिलाई आफुहरुको नयाँ वर्षको रुपमा मनाउदै आएका छन ।
माघी पर्वलाई परापुर्व कालदेखि नै मनाउदै आएको पर्वलाई झनै तामझामका साथ मनाउन थारु समुदायका मान्छेहरु आ–आफ्नै काम व्यस्त रहेका छन ।
कतिपय मान्छे खानाका परिकारको व्यवस्थामा जुटेका छन, त केही मान्छे दुना टपरी बनाउँन देखि लिएर आफ्नो कला र संस्कृतिलाई कसरी जोगाउने भन्नेमा ब्यस्त रहेका छन । तर, परम्परागत रुपमा मनाउदै आएको माघी पर्वमा भने विस्तारै केही खानाका परिकार, कला र संस्कृतिहरु लोप हुदै गएको पाइन्छ । यसो हुनु मुलतः पछिल्लो पुत्ताहरुले चासो नदिएको भन्ने सोझै आकलन गर्न पनि सकिन्छ ।
तर घोराही उपमहानगरपालिका १७ नं. वडा क्बाडीमा बस्ने ६७ वर्षकी कौघी चौधरीले बाबा की स घर गै नुहा मै मारिया लाहन टिकुली छुटल पानी घाट सखिया हो…. गीत गाउँदै पहिलेका मान्छेहरु नहुँदा ढुङ्ग्रु गीत लोप भएको बताईन । पहिले माघी पर्वको दिन बिहानै मादल बजाउँदै, गीत गाउँदै खोलामा नुहाउँन जाने र घरमा आएर मान्यजनलाई ढोक गर्ने, खाना खाने र नाचगान गर्ने चलन थियो ।
तर, अहिले ती पहिलेका मान्छेहरु सबै मरेर गएपछि त्यो चलन विस्तारै हराएर गएको र पहिलेको जति अहिले रमाइलो नहुने पनि उनले बताइन । माघीको दोस्रो दिन आफ्ना चेलिबेटीहरुको घरमा पुगेर निस्राउँ दिने गरेको पनि बताईन ।
‘पहिले चेलीबेटीहरुलाई ढकिया भरी चामल तथा तरकारीहरु दिइन्थ्यो’, उनले भनिन‘ तर, अहिले सर समानको रुपमा पैसा दिइन्छ ।’ माघी पर्बमा खानाको रुपमा विशेष गरेर सुंगुरको मासु, आलु, घुइयाँ, तरुल, साग, मुला, सिन्की, रोटी, सुकेको माछा, ढिग्री आदि परिकारहरु बनाईने गरेको उनको भनाई थियो ।
त्यसैगरी सोही निबासीका ७२ वर्षिया बेचन चौधरीले पनि पुराना पुस्ताहरु नहुँदा माघीको दिन मादल बजाउँदै, गीत गाउँदै नुहाउन जाने चलन बिस्तारै हराउँदै गएकोप्रति दुःख ब्यक्त गरे ।
पछिल्ला पुस्ताका मान्छेहरु आफ्नो कला र संस्कृतिप्रति खासै चासो नदिएकै कारणले हाम्रा गीतहरु लोप हुदैं गएको बताए । अहिले माघी पर्वको दिन खाली नुहान गएर घरमा आएर आफू भन्दा ठुलालाई ढोक गर्ने चलन समेत कता कता हराउँदै गएको समेत बताए ।
माघी पर्वमा मुख्य परिकारका रुपमा लिइने श्याम जिरा, सेता धान, गक्या, तिल्की धान, मसुली, सिमचारो धान आदि देखिन्छ छोडेको र अहिले प्राय हाइब्रेड धाम मात्र पाइने भएकाले खानामा खासै राम्रै नहुने समेत उनको भनाई थियो । माघीको दोस्रो दिन निस्र कारेको ठाउँमा गएर चेलीबेटीलाई निस्राउ दिने चलन भएको पनि उनले बताए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।