• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहिदलाई बहिनीको खुलापत्रः तपाइँलाई गुमाउन तयार भयौं दाइ तर सपना गुमाउन तयार छैनौं





आदरणीय दाजु डिल्लीरमण खडका (क.उपहार )
हृदयदेखि नै अपार माया तथा हार्दिक श्रद्धाञ्जली !


दाजु हामी परिवार, आफन्त, सुभचिन्तक सबै तपाइँकै विचार र आदर्श आत्मसाथ गर्दै बिचाराधीन अबस्थामा सञ्चै छौं । झन पछि झन् अभिभावकत्वको अभाव खट्किदो छ । तपाइँको सम्झनामा पीडाले सताइरहदा पीडालाई बिसाउनको लागि खुल्लापत्र लेख्दैछु । दाज,ु तपाइँको भौतिक शरीर त हाम्रोसामु छैन, साँच्ची आत्मा जीबित नै हुन्छ भन्छ्न नि, त्यो तपाइँको आत्मा अझै जनयुद्धको रणमैदानमै होला भन्ने मान्य हो भने सकुशल र पबित्र आत्मा देश जनताकै आशा, भरोसा र इमान इज्जतको लागि सधै जीबित होस भन्ने कामना गर्दछु ।


दाजु त्योे तपाइँको सहादत भएको धेरै बर्ष बितिसक्यो तर हामीलाई त्यो कालो दिन साच्चै आज पनि पीडा दिन आइरहन्छ । अझै त्यो पीडाको घाउमा खत बस्नुको साटो देशको अबस्था र व्यबहारले हामीलाई झनै बिषाएर चहराएको महसुस हुन्छ । हामी र हामीजस्तै त्याग तपस्या रगत पसिना बलिदानी दिने परिवारलाई हर सहिदको रगतले यसरी नै झस्काइरहेको होला ।

लेखक रामकुमारी खड्का


दाजु, तपाइँले देशमा शोषित, पीडित जनताको न्यायको लागि, बर्ग, लिंलगायत सबैखाले विभेदको अन्त्यका लागि मुक्ति या मृत्युको यात्रारत रहदैगर्दा यो धर्तीबाट सहादत प्राप्त गर्नुभयो । बर्षले तपाइँ हामीबाट हराएको १७ बर्ष पुगे पनि हरेक बर्षको मंसिर २७ सँधै कालो दिन बनेर हामीमाझ आइपुग्छ । २०५९ मंसिर २७ गते बाँकेको बैरियामा सहादत भएको दिन सम्झन्छौं, रुन्छौं र शोकलाई शक्तिमा बदल्ने प्रण गर्छौं ।


कति कठोर र निर्मम थियो समय, हामीले तपाइँको पार्थिक शरीरमा एक थुंगा फूल पनि चढाउन पाएनौं । १३ दिनपछि ‘हजुरको छोरा जनयुद्धको रणमैदानमा सहिद हुनुभयो’ भन्ने रातो मसीले लेखेको पत्र पाउँदा हाम्रो परिवारमा आएको भूँइचालो २०७२ बैशाख १२ को भन्दा किनै बेगवान थियो । बहत्तरको भूइँचालोले घर ढलाए, वस्ती उजाडिए तर २०५९ बैशाख २७ को भूइँचालोले हिमाल ढलेको थियो, त्यो हाम्रो आस्था र विश्वासको सगरमाथा ।


१६ बर्षको कलिलो उमेरमा जनमुक्ति सेनाको मोर्चा समालेर तपाइँले देखाएको त्यो बहादुरी र साहसप्रति हामीलाई गर्व छ र भइररहने छ दाई । तर, हाम्रो गम्भीरु गुनासो पनि छ, तपाइँको त्यो बाल मस्तिष्कमा आदर्शरुपी बारुद भरेर समाजवाद र साम्यवादको यात्रा अघि बढाउने तपाइँका कमाण्डरहरुले नै कतै समाजवाद र साम्यवाद त छाडेनन् ? तपाइँको रगत बगेकोमा हामी गर्व गर्छौं दाइ तर तपाइँका कमाण्डरले तपाइँको जस्तै त्याग र बलिदानको बाटो नसमातेकोमा घोर आपत्ति छ हाम्रो ।


आज हामी नजिकबाट हेरिरहेका छौं, देखिरहेका छौं– रक्तमुछेल क्रान्तिको यात्रालाई बीच बाटोमै टुंग्याउने प्रयास मात्रै हुँदैछैन, तपाइँको रगतलाई पद, पैसा, प्रतिष्ठा र पहुँचका लागि प्रदूषित गर्ने अपराध पनि हुँदैछ । तपाइँको शरीरमा साम्यवादको बारुद भर्ने कमाण्डरहरु आलिसान भूत बङगलामा निदाउन खोज्दैछन्, चिल्लो कारमा हुइकिदैछन् । हामी भौतिवादमा विश्वास गर्छौं तर पनि बिम्बात्मकरुपमा तपाइँको आत्मा कतै जीवित छन् भने ती भूतबंगलामा भूत बनेर तर्सादिनुस् दाइ, ती चिल्ला कारमुनि एम्बुस बनेर पड्किदिनुस् ।

तपाइँको साम्यवादको सपना थियो । साम्यवादमा सबै बराबर हुन्छन् भन्ने भावना हुन्छ तर मुट्ठीभर नेता कार्यकर्ताका सपना पूरा हुँदैमा सहिदका सपना पूरा भएको मानिने छैन दाई । तपाइँ वर्ग संघर्ष भन्दै वर्गीय मुक्ति जिन्दावादको नारामा शरीर उडाउन तयार हुनुभयो तर आज वर्ग होइन, नातेदारी हावी हुँदैछ दाइ, त्यो पनि निहित स्वार्थका लागि ।


हामी गर्व गर्छौं, यो गणतन्त्र हाम्रा दाइहरुको रगतको बीजबाट उम्रेको हो । तर, हाम्रो खेद पनि छ, गणतन्त्रका लागि बगेको रगतलाई हिलो सरी कुच्ने काम हुँदैछ । हामीलाई ठूलै कुरा चाहिएको होइन दाइ, तपाइँहरुले जुन सपनामा रगत बगाउनुभयो, तपाइँका कमाण्डरहरुले कम्तीमा त्यो सपना नभुलिदिउन् । निच नाता र परिवारको घेराभित्र हराएका तपाइँका कमाण्डरहरु वर्गीय घेरासम्म आइदिउन् ।

सहिद डिल्लीरमण खड्का ‘उपहार’

हाम्रो एउटै मात्र प्रश्न हो दाइ– तपाइँले जुन सपना देखेर रगत बगाउनुभयो– त्यो समाजवाद र साम्यवादको गन्तव्य कति टाढा छ । हिजोको जस्तै जनतालाई मायाँ गर्ने पार्टी कहिले बन्छ ? जनताकै घरदैलोमा पुगेर साग सिस्नू खाँदै वर्गीय नाता गाँस्ने नेताहरु कहिले भेटिन्छन् । सबैखाले मुक्ति वर्गीय मुक्तिबाटै संभव छ भन्दै वर्ग संघर्षमा गोलबन्द भएका वर्गीय संगठनहरु गाउँटोलमा कहिले देख्न पाइन्छ ?


हिजो एउटै मनपेट गरेर लडेका नेताहरु अहिले शिशाजस्तै कहिल्यै नगाँसिने गरी किन फूटे ? उनीहरु फेरि जुट्छन् कि जुट्दैनन् ? हिजो संगठन नेतृत्वबीच हुने बिश्वास, दया, माया, सहयोग, सहानुभूति, सामिप्यता र गोपनीयताको ‘कमरेड्ली’ भावना फेरि फर्कन्छ कि फर्कदैन ? समय फेरिएको छ, यात्रामा नयाँ यात्री थपिएका छन् तर नयाँ यात्रीले पुराना सहयात्रीलाई सम्मान गर्लान् कि नगर्लान् ? बढी केही चाहिएन, कम्तीमा सहिद, बेपत्ता र घाइते यौद्धाहरुको घाउमा मलम लगाउन नयाँ यात्रीहरु तयार हुन्छन् कि हुँदैनन् ?


तपाइँ भौतिकरुपमा त छाडेर जानुभयो दाइ तर तपाइँको आस्थाको धरोहर बाँकी रहन्छ कि रहँदैन ? यत्ति हो हाम्रो प्रश्न । तपाइँले जुन घरमा रहेर बलिदान गर्नुभयो, त्यो घर रहन्छ कि रहँदैन भन्ने पनि हाम्रो चिन्ता होइन । हिजो जसलाई आदर्श मानेर तपाईले सहादत प्राप्त गर्नुुभयो, ती पात्र बाँकी रहन्छन् कि रहँदैनन्, त्यो पनि हाम्रो चिन्ता होइन । मात्र हाम्रो चिन्ता यति हो– तपाइँको पहिचान बाँकी रहन्छ कि रहँदैन ?


साँच्चिकै दाई, हिजोको आदर्श, विचार र वर्गको कुरा अहिले पूरै बालुवामा पानीजस्तो भएको छ । हिजो बिकृति बिसंगति, कुसंस्कार कुलतका विरुद्धमा नैतिकताको पाठ सिकाउने तपाइँका कमाण्डरहरु आज ज्यूदै मृत अवस्थामा भेटिदा भक्कानिएर रुन मन लाग्छ । सबैतिर सत्ता र शक्तिको दम्भ, पद र प्रतिष्ठाको लोभ अनि बिलासिताको भोग, तपाइँको सपनालाई यही भूतले लखेटिरहेको छ निरन्तर, त्यसैले त हामी पीडामा तपाइँको सपनालाई यही भूतले लखेटिरहेको छ निरन्तर, त्यसैले त हामी पीडामा छौं । तपाइँलाई १७ बर्षअघि एकपटक गुमायौं तर तपाइँका सपना गुमाउनुपर्दा पटकपटक पीडा ब्यहोरिरहेका छौं ।


दाइ, यहाँ स्वाभिमान। अस्तित्व र आदर्शभन्दा ठूलो पद, प्रतिष्ठा र पहुँचको लागि राजनीति गर्नेहरुको बोलवाला बढ्दैछ । स्वाभिमानी, इमान्दार र आदर्शवादीहरु अल्पमतमा पर्दैछन् । हामीले दाइ गुमायौं, बुवाआमाले छोरा गुमाउनुभयो । यस्तै १७ हजार बढीका आफन्त परिवारको सदस्य गुमाउनुको पीडामा छौं ।

हामीले तपाइँहरुको भौतिक शरीर त गुमायौं दाइ, अब जति रोइकराइ गरे पनि पाउने छैनौं तर तपाइँहरुले देखेका सपना पनि गुमाउँदै गएकोमा हामीलाइ बढी पीडा छ । हामी दाइको मलामी जान पाएनौं तर सपनाको मलाली जान बाध्य पारिदैछ, जो हामीलाई कदापि स्वीकार्य छैन । हामी निरन्तर तपाइँहरुको सपनाको यात्रामा हिडिरहने छौं दाइ, जतिसुकै दुःखकष्ट झेल्नुपरे पनि !

हार्दिक श्रद्धाञ्जली दाजु
सम्पूर्ण वीर सहिदहरु अमर रहुन ।

उही तपाइँकी प्यारी बहिनी रामकुमारी खडका (कुसुम)
तुलसीपुर उपमहानगरपालिका १९ दाङ
हालः कपिलवस्तु नपा १ तौलिहवा

Facebook Comments