• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुममा मदिरामा कडाइः कुनाखेत मेलामा जुवा तास निषेध





यही मंसिर २३ देखि २८ गते सम्म लाग्ने कुनाखेत मेलामामा जुवातास तथा मदिराजन्य पदार्थ निषेध गरिएको छ ।

बाँफिकोट गाउँपालिका २, पिपल कुनाखेतमा लाग्ने मेलाको चार किल्ला तोकी उक्त चार किल्ला भित्र जुवातास तथा मदिरा, सेवन र विक्री वितरण गर्न नपाइने निर्णय मेला व्यवस्थापन समितिले गरेको हो । सोमबार बसेको मेला व्यवस्थापन समितिको बैठकले मेलाको तयारीलाई तीब्र बनाउने निर्णय गरेको छ ।

मेलाको पूर्वतिर रुनेपानी खोला, पश्चिमतिर रिठाखोला, दक्षिणतिर सानीभेरी नदी र उत्तरतिर रातापहर, पातिहाल्न भित्र जुवातास र मदिरा विक्री वितरण तथा सेवन गर्न नपाइने गरी रोक लगाइएको छ ।
मेला व्यवस्थापन समितिको बैठकले २२ गतेदेखि मेला लाग्ने स्थानमा व्यवस्थापन समितिको टोली खटिने र आवश्यक काम गर्ने निर्णय गरेको छ । खेलकुद विभाग संयोजक डिलबहादुर नाथ सदस्य लालबहादुर केसी, लोकेन्द्र पुन, हस्त गुरुङ, उर्मिला ओलीलाई भलिबल र व्याटमिन्टन कोर्ट निर्माण तथा अरु व्यवस्थापनका लागि खटाउने निर्णय गरेको हो ।

मंसिर २३ गते खुला महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गरिने र प्रतियोगिताको उद्घाटन गाउँपालिका उपाध्यक्ष मनकला पुनबाट गराउने निर्णय भएको मेला व्यवस्थापन समितिका संयोजक कर्णबहादुर खत्रीले जानकारी दिनुभयो । मेलालाई भव्य र व्यवस्थित बनाउनका लागि सबै लागिपर्ने गरी निर्णय भएको उहाँले बताउनुभयो ।


यो वर्ष कुनाखेत मेला मंसिर २७ गते लाग्दै छ । २७ गते दिउँसोदेखि २८ गते विहानसम्म मुख्य मेला लाग्ने भएपनि खेलकुद प्रतियोगिता भने २३ गतेबाट सुरु हुन लागेको हो । मेलामा खुला वडा स्तरीय महिला तथा पुरुष भलिबल र बाँफिकोट गाउँपालिका स्तरीय डबल व्याटमिन्टन प्रतियोगिता आयोजना गरिएको छ ।

मंसिर २३ गते महिला तथा पुरुष भलिबल प्रतियोगिता उद्घाटन हुने प्रचार प्रसार विभाग संयोजक अर्जुन खत्रीले जानकारी दिनुभयो । उहाँ अनुसार पुरुष तर्फको भलिवल विजेताले मेडल प्रमाण पत्रको साथमा नगद ६० हजार, उपविजेताले ४० हजार र सेमिफाइनलसम्म पुगेका दुई समूहले १०÷१० हजार नगद पुरस्कार पाउनेछन् ।

महिला तर्फको विजेताले मेडल प्रमाण पत्रको साथमा नगद ३० हजार, उपविजेताले २० हजार र सेमिफाइनल पुग्ने २ समूहले ७/७ हजार नगद पुरस्कार पाउनेछन् । यसैगरी मेलामा पहिलो पटक आयोजना गरिएको बाँफिकोट गाउँपालिका स्तरीय डबल व्याटमिन्टन प्रतियोगिताका विजेताले मेडल, प्रमाण पत्रको साथमा नगद ५ हजार, उपविजेताले ४ र सेमी फाइनल पुग्ने २ समूहले दुई÷दुई हजार नगद प्राप्त गर्नेछन् । यो मेला जिल्लाको पुरानो मध्यको मेलामा पर्दछ । हरेक मंसिरे पूर्णिमाको अवसर पारी कुनाखेतमा मेला लाग्छ भने मेला लाग्ने ठाउँमा रहेको मन्दिरमा पूजाअर्चना गर्नाले सोचेको पूरा हुने जन विश्वास रहि आएको छ ।

मेलामा रुकुम पश्चिमका साथै जाजरकोट, सुर्खेत, रुकुम पूर्वबाट समेत सर्वसाधारणहरु आउने गर्दछन् । मेलामा परम्परागत झाँकीहरु, नाचगान सहित, सिंगारु, मयुर, पैसेरु, दमाहा नाच, महिला पञ्चेबाजा, महिलाको मात्रै सिंगारु नाच देखाइने छ । यसको साथै अरु नाच तथा गीत प्रस्तुत गरिने मेला व्यवस्थापन समितिले जनाएको छ ।

Facebook Comments