दाङमा एउटा संस्था छ– स्टडी सर्कल अफ दाङ । यसले हल्ला होइन काम गरिरहेको छ । केही सिकौं अनि जीवन र समाज रुपान्तरण गरौं भन्ने उत्साहित युवाहरुले बनाएको यो अनौपचारिक संस्था हो अर्थात अभियान । यसले अहिलेसम्म दर्जन बढी कार्यक्रम गरिसकेको छ तर खासै चर्चा हुँदैन । यस्तै कम चर्चाकै बीच बिजौरीमा दर्शनशास्त्रबारे प्रशिक्षण दिइएको छ ।
प्रशिक्षणमा सहभागी थिए, केही सिकौं र गरौं भन्ने उत्साहित र अध्ययनशील युवाहरु अनि प्रशिक्षक हुनुहुन्थ्यो– डा. अमर गिरी । मुख्य प्रशिक्षक गिरीले केही टाठाबाठा पण्डितहरुले मात्रै दर्शनको अध्यन गर्ने हो भन्ने सनातनी मान्यता भत्काउनुपर्ने बताउनुभयो ।
‘दर्शन पढेलेखेका मान्छेले मात्र पढ्ने हो र यो एकदम जटिल विषय हो भन्ने भ्रम छरिएको छ र हरेकलाइ ज्ञानको गहिराइसम्म जानको लागि यसको अध्यन आवश्यक छ’– उहाँले भन्नुभयो ।
दर्शनले मानिसका शंका, जिज्ञासाहरुलाई मेटाउने, समिक्षा, आलोचनात्मक दृष्टिकोणको बिकास गर्ने, चिन्तन मनन् गर्ने , खुल्लारुपमा तर्क बितर्क गर्ने र अनुभवहरुलाई सही ढङ्गले प्रस्तुत गर्ने सकिने गिरीको भनाई छ ।
प्रशिक्षणमा शरण जिएमले दर्शनशास्त्रका मुख्य दुई सवालहरुका बारेमा र वसन्त रिजालले यसका पद्दति र नियमका बारेमा चर्चा गर्नुभएको थियो ।
अध्यन समूह दाङले युवाहरुमा अध्ययन संस्कृतिको विकास गर्न र दर्शनशास्त्रको प्रारम्भिक तहबाटै अध्यन गराउन शृङ्खलाबद्धरुपमै प्रशिक्षणको ब्यवस्था गर्दै आएको छ । कार्यक्रम संयोजन अध्यन समूहका अभियन्ता दुर्गा बिकले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।