रुकुमपूर्वमा मुहान भएको उत्तरगंगा नदीलाई बाग्लुङको ढोरपाटनतर्फ बगाएर जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्ने चलखेल बढेको भन्दै संसदमा बिरोध भएको छ ।
रुकुमपूर्वबाट निर्वाचित प्रतिनिधिसभा सदस्य कमला रोकाले उत्तरगंगा जलविद्युत आयोजना नदी बगिरहेको क्षेत्र रुकुमतिर जान दिएर उतै उत्पादन गर्न र ढोरपाटनको सभ्यता बनाउन माग गर्नुभयो । उत्तरगंगालाई ढोरपाटनतर्फ डाइभर्सन गर्दा ढोरपाटन उपत्यका र त्यहाँको सभ्यता नै समाप्त हुने उहाँले चेतावनी दिनुभयो ।
‘राज्यले चाहेको खण्डमा जलविद्युत आयोजना त जुनसुकै थठाउँमा पनि निर्माण गर्न सक्छ तर यस्तो सुन्दर ढोरपाटन भ्याली राज्यले चाहेर पनि निर्माण गर्न सक्दैन’– उहाँले प्रतिनिधिसभा बैठकमा भन्नुभयो– ‘जनताको सांस्कृतिक सम्बन्ध रहेको उत्तरगंगा, ढोरपाटन भ्याली डुबानमा पर्दा जनताको सांस्कृतिक भावनामाथि ठूलो ठेस लाग्ने छ ।’
विकास निर्माण गर्दा स्थानीय जनताको संस्कृतिको संरक्षण गर्नुपर्ने विश्वब्यापी मान्यता सम्झाउँदै उहाँले उत्तरगंगा नदी डाइभर्सन गर्दा ढोरपाटन उपत्यका डुबानमा पर्ने, ढोरपाटन सभ्यता नष्ट हुने र नदीको वहाव कम हुँदा रुकुमपूर्व र रुकुमपश्चिमका जनतालाई पनि प्रत्यक्ष असर पुग्ने बताउनुभयो ।
भेरी नदीको मुहान उत्तरगंगा नदी हो । यो रुकुममा सानीभेरी नदीको नामले प्रख्यात छ भने रिम्नामा पुगेर ठूली भेरीसँग मिसिन्छ ।
उत्तरगंगा डाइभर्सनको बिरुद्ध स्थानीय मगर, दलित समुदाय संगठित भइरहेको र यो ठूलो बिद्रोहको रुपमा बिष्फोट हुने चेतावनी पनि उहाँले बताउनुभयो । आइएलो १६९ अनुसार विकास गर्दा स्थानीय समुदायको हितलाई अग्राधिकारमा राख्नुपर्ने मान्यतामा नेपाल पक्षराष्ट्र भएको पनि उहाँले सम्झानुभयो ।
‘विकासले आदिवासी जनजातिको थातथलो र संस्कृतिलाई बिथोल्नु हुँदैन भन्ने अन्तर्राष्ट्रिय मान्यताप्रति हाम्रो दृढ अडान छ’– उहाँले भन्नुभयो– ‘परियोजना जबरजस्ती सञ्चालन भएमा स्थानीय समुदाय प्रतिरोधमा उत्रन बाध्य हुनेछन् । यस्तो प्रतिरोधको स्थिति नआओस् र शान्तिपूर्णरुपमा समस्या समाधान होस् भन्ने हाम्रो चाहना छ ।’
गत भदौ ६ गते ढोरपाटन बचाऔं अभियानका अगुमाथि सांघातिक हमला भएको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । यसअघि नै ६ सय ६५ जना स्थानीयवासीले हस्ताक्षर गरी संयुक्त ज्ञापनपत्र गत वैशाख १५ गते उर्जामन्त्री बर्षमान पुनलाई बुझाएको उल्लेख गर्दै उहाँले असार १५ गते विद्युत प्राधिकरणलाई पनि स्थानीयवासीका मागबारे जानकारी गराइसकेकाले एकतर्फीरुपमा सरकार अघि बढे जनताले प्रतिरोध गर्ने चेतावनी दिनुभयो ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।