• १५ मंसिर २०७९, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गीत–सङ्गीतमा परिवर्तनको मर्म




नेपालमा विकासको तीव्र चाहनालाई केन्द्रमा राखेर लेखिएका गीतहरु प्रसस्तै सुन्न पाईन्छ । सामाजिक न्याय, लैङ्गिक समानता, छुवाछुतको विरोध, विकासका अवसरहरुमा समान पहुचजस्ता विषयलाई केन्द्रमा राखेर गीत–सङ्गीतहरु तयार पार्ने क्रम तीब्र छ । उल्लेखित क्षेत्रहरुमा योगदान गर्छु नै भनेर गीतहरु लेखिएका हुन् वा नहुन्, तर गीतले समाजका विसङ्गतिमा दह्रो प्रहार गरेकोमा शङ्का छैन । खास गरी नयाँ पुस्ताका सङ्गीतकर्मीले समाजमा जरो गाडेर बसेका कतिपय कुरीतिलाई गीतका माध्यमबाट समाधान खोजेका छन् ।

छोरीलाई शिक्षाको अवसरबाट टाढा राखेको, घरधन्दामा मात्रै सीमित राखेको, पैतृक सम्पत्तिमा पहुँच नदिएकोजस्ता जटिल सामाजिक विषयमा केन्द्रित अनगिन्ती गीतहरु हामीले वर्षौदेखि सुन्दै आएका छौ । नेपाली राजनीतिले जनताको जुलोमा सहज किसिमले नुन र तेल पु¥याउन नसकेको कथा व्यथा आजका गीतमा भेटिन्छन् ।

लोकगायक पशुपति शर्मा एवम् गायिका टीका पुन आफूले छोरी पाउँदा घरमा लक्ष्मीको प्रवेश भएकाले छोरो पाउने आशा नरहेको कुरा आफ्नो गीतमा व्यक्त गर्नुले नेपालमा छोरा र छोरीबिचको विभेदको घेरा साघुरो हुदै गएको देखाउछ ।

यो लेखको पंक्तिकारको आफ्नो पनि गीत ‘कहिले भन्ला हाम्रो गाउँमा मोटर गुड्ने बाटो ?’ मा देशका विकट बस्तीहरुमा पूर्वाधारको आवश्यकता रहेको देखाइएको छ । यो गीतले हाम्रा दुर्गम बस्तीमा स्वास्थ्य चौकी, प्राथमिक बिद्यालय, कोदो फापर पिस्ने जाँतो, बिजुलीबत्ती र झोलुङ्गेपुलको आवश्यकताबोध गराइएको छ । साथै यो गीतले देशको कानुन निमार्ण गर्ने तहमा महिला र दलितको उपस्थिति प्रभाव पार्नेखालको कहिले होला भन्ने प्रश्न पनि गरेको छ ।

अर्को गीत ‘जननी जन्मभूमिस्च’ मा शान्ति स्थापना गर्ने र सातै प्रदेशमा विकासको अभिभारा लिने काम केवल ‘मेरो‘ नै हो भनिएको छ । समग्रमा नेपाली गीत लेखनमा विकासका चाहना, दलित, पीडित तथा लैङ्गीक विभेद, विकासका अवसरको अभावजस्ता विषयवस्तुलाई प्रसस्त स्थान दिइएको पाइन्छ ।

गीत–सङ्गीतले सामाजीक, राजनीतिक र आर्थिक परिवर्तनका लागि विश्वव्यापी प्रभाव पारेको छर्लङ्ग देखिन्छ । नेपालको सन्दर्भमा पनि नेपाली जनतालाई राजनीतिक व्यवस्था परिवर्तन गर्न, विकासका अवसरको प्राप्तिगर्न र समाजमा झाँगिएका कुसंस्कारलाई उखेलेर जरैदेखि फाल्न सक्ने गीत–सङ्गीतसिर्जना गरिएको प्रष्टै छ । राजनीतिक पार्टीका नेता, कार्यकर्ता र कर्मचारीको समेत चर्को आलोचना गर्ने गीत–सङ्गीत समेत हामीसँग प्रसस्तैछन् । ती गीत–सङ्गीतले वजारमा गतिलो पक्कड राखेको स्रोताहरुमा छर्लङ्गै छ ।

समाज परिवर्तनमा गीत–सङ्गीतलाई लामो समयदेखि ससक्त माध्यम मानिदै आएको तथ्य नयाँ भने हैन । यो तथ्य विश्वब्यापी तथ्य हो । उदाहरणका लागि, सन् १९५० देखि सन् १९६० को दशकमा काला जाती भनिएका अफ्रिकन अमेरिकनहरुले आफ्ना मुद्दा, पीडा, दमन र आकाङ्क्षागीतका माध्यमबाट समाजमा प्रवाह गर्दथे । गोस्पल गीतका माध्यमबाट जातीय उत्पीडनमा दबिएका अफ्रिकन अमेरिकनहरु चर्चमा जम्मा भै स्वतन्त्रताका लागि ‘स्वतन्त्र गीत’ गाउँथे । उनीहरुकासम्वेदनसील गुनासाहरु ब्यक्त गर्न उनीहरु हिपहप गीत–सङ्गीत प्रयोग गर्दथे ।

गीत–सङ्गीतले मनभित्र गुम्सिएका तीव्र असन्तुष्टी, आकाङ्क्षार चाहनाहरुलाई समाजका हरेक तह र तप्कामा आसिन शासक वा शासितसम्म पु¥याउथे । नेपालमा पनि यो प्रकृया फरक फरक रुपमा देखिन्छ नै । जस्तै तीजगीत, लोक गीत, रत्यौली गीत, विभिन्न जातजातीका मौलिक गीतहरु यस बर्गका पर्दछन् ।

हिपहप गीत–सङ्गीतधेरै भन्दा धेरै शब्द गाउन सकिने गीतको प्रकार हो । यस शैलीको गीत नेपाली युवा जगतमा पनि लोकप्रिय हुँदै गएको छ ।अर्को तर्फ, उत्पीडनमा परेको वर्गमा आपसी भाइचारा, सामूहिकतार पारस्परिकता स्थापना गर्न गोस्पल गीत सहयोगी भएको थियो । अमेरिकाकै कुरा गर्ने हो भने पनि त्यस्ताकाका चर्चित सङ्गीतकर्मी बब दिलन र जोन बेजहरुका गीत–सङ्गीतले अमेरिकाको सिभिल राइट मुभमेन्टमा मनग्य प्रभाव छोडेका थिए । अमेरिकाको सिभिल राईटस् स्थापना गर्न यस्ता गीत–सङ्गीतले सघाए थिए ।

विभिन्न कालखण्डमाशासन व्यवस्था परिवर्तनका लागि गीत–सङ्गीतले उल्लेख्य भूमिका निर्वाह गरेको देखिँदै आएको छ नेपालमा पनि ।रामेश, रायन, मन्जुल, श्याम टमोटहरुका गीतले नेपालको शासन व्यवस्था परिवर्तनका लागि जनमानसको अभिमत तयार पार्न गहन भूमिका खेलेका थिए ।

माया–प्रेमका मात्रै हैनन् हामीसँग विभिन्न विषयवस्तुमा केन्द्रित भई गीतलेखिएका छन् । जस्तै, बि.सं. २०६२÷०६३ को आन्दोलनताका हरेक चोक–चोक र गल्ली–गल्लीमा शासन व्यवस्ता ढाल्न बजेको गीत ‘गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ’कसैले भुलेका छैनन् । यो गीत सुनेपछि मानिसहरु जुरुक्क उठेर सडकमा आइपुग्थे । आज पनि नेपाली माटोमा श्याम टमोटको रचना एवम् सङ्गीत रहेको यो गीत उत्तिकै सशक्त र सान्दर्भिक छ ।समय खेर फाल्नु हुन्न, हातमा हात जोडेर अगाडि बढ्नुको बिकल्प छैन भन्ने मन्त्र यो गीतमा छ ।

हामीसँग भएको जोस र जागरको अधिकतम प्रयोग गरेर नेपाली समाज समुन्नत बनाउन सकिन्छ – यो गीतले ब्यक्त गर्दछ । साथै यस गीतले एक नेपाली र अर्को नेपालीबीचको एकता र भाइचाराको आवश्यकता देखाएको छ । जुन नेपाली समाजमा युगौ आवश्यक छ ।

समुहगत रुपमा रामेश, रायन र मन्जुलहरुको राल्फा समुहपञ्चायती शासनव्यवस्थाकाविरुद्धमा लडेको साङ्गीतिक समुह हो । रामेश, रायन र मन्जुलहरुले जनताले प्रत्यक्ष भोगेका दुःख र कठिनाइमा आधारीत भएर तयार पारेका गीत–सङ्गीत आज पनि जनताको घर–गोठमा ताजै सुनिन्छन् । परिवर्तनको आवाज बोकाले राल्फा समुहको गीत ‘गाई त बाध्यो ढुङ्ग्रोमा मही छैन’ आउँने पुस्ताका लागि अझै पनि सान्दर्भिक देखिन्छ ।

राल्फा समुहको गीतको प्रभाव आजको परिवर्तनको लागि र भविष्यको प्रगतिका लागि समेत सहयोगी भएको नकार्न सकिदैन ।नेपाली समाजमा गीत–सङ्गीत आन्दोलनको हतियार बनेको छ भन्नेमा कुनै शँका छैन यो तथ्यले देखाएको कुरो हो ।

जीवन शर्माका गीतहरु पनि समाज परिवर्तनकै लागि लक्षित हुन्छन् । रात–दिन काम गर्दा पनि एकपेट खान र एकधरो लगाउँन नपाएका लाखाँै नेपाली श्रमिकको प्रतिनिधि गीतहुन्जीवन शर्माका । लोक लयमा आधारीत शर्माका गीत समाजका कथा बोकेर लाखौ कानहरुमा पुग्छन् । ती गीतहरुले विद्रोहको ज्वाला ओकल्छन् ।

त्यसैगरी,समाजमा व्याप्त असमानता, गरिबी, बेरोजगारीका गीतहरु लिएर प्रशिद्ध गीतकार दिनेश अधिकारी बलियो रुपमा उठ्नुभएको छ । भरिया, रिक्सावाला, लगायत रक्सी र मासु–चिउराभन्दा पनि जवानीको हाँसो बेच्न बाध्य महिलाका अनगिन्ती गीतमार्फत अधिकारी समाजलाई नयाँ दिशातिर लैजान अनुरोध गर्नुहुन्छ । तराई, पहाड र हिमालबीच सुमधुर सम्बन्धका लागि पनि अधिकारीका गीत प्रभावकारी छन् ।

बाह्रबर्षे युद्धताका तत्कालीननेपाल कम्युनिष्ट पार्टी माओवादीको सशक्त सांस्कृतिक विभागनै थियो । यसले जनवादी गीत–सङ्गीतजनतासम्म पु¥याउथ्यो । नेपथ्य साङ्गीतिक समुहले देशव्यापी शान्ति–यात्रा चलाउदै तत्कालिन युद्धरत पक्षलाई आपसमा मिली काटमारको श्रीङ्खला बन्द गर्न आह्वान गर्दै हिडेको पनि हामीसँग साङ्गीतिक ईतिहास छ ।सर्वसाधारण नागरिकको हताहतीलाई नस्वीकार्ने कर्णदाशका गीत पनि हरेक दिन सुन्दै छौ । यसका आधारमा भन्नुपर्दा गीत–सङ्गीतले समाज परिवर्तन गर्न र सर्वसाधारणका दैनिक जीवनका चुनौती समाधान गर्न महत्वपूर्ण आवाज उठाएको जगजाहेर छ ।

नेपालमा लोकतन्त्र स्थापनापश्चात् पनि जनताका आवश्यकता र चाहना पूरा गन राजनीतिले नसकेको गुनासो प्रश्स्तै छन् । प्रायः राजनीतिप्रति असन्तुष्टि व्यक्त गरिएका गीतले नेताको आचरण, जरो गाडेर मौलाएको भ्रष्टाचार, अकासिँदो महँगी, लाजमर्दो ढिलासुस्ती र लापरबाहीलाई नै विषयबस्तु बनाएको पाइन्छ । जे हुनुथियो त्यो नभएको र जे नहुनुपर्ने हो त्यही भएको गुनासा आजका गीतमा पाइन्छन् ।

तीखो व्यङ्ग्य गरेका गीत–सङ्गीत हामीसँग धेरै नै छन् । ‘छोडेर काम सारा’एक यस्तै गीत हो जसले कुशल नेता पाउन नसके र देश बिग्रेको गुनासो गर्छ । शिशिर योगीबाट स्वरवद्ध यस गीतमा आफ्नोभन्दा देशको हित चिताउने, देशको स्वार्थलाई सबैभन्दा माथि राख्ने एक कुशल नेता देशले नपाएको गुनासो बडो शालीन ढङ्गले प्रस्तुत गरिएकोछ । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले यस्तै व्यङ्ग्यात्मक गीत ‘ईश्वर तिमीले जगत बनायौ’ तयार पार्नुभएको छ ।

मह यस गीतको माध्यमबाट हामीले कुशल नेता पाउन नसकेर मानवविकासको सुचकाङ्कमा तल पर्नुपरेको छ भन्नुहुन्छ । त्यस्तै सरकारले रोजगारीका अवसरसिर्जना गर्न नसकेको गुनासो गीतमा भेटिन्छ ।

हजारौ युवा विदेश पलायन हुन परेको तर वैदेशिक रोजगारीबाट जीवनस्तर उठ्न नसकेको कथा गीतमा भेटिन्छन् । आशा लिएर बिदेशिएका नेपालीश्रमिक काठको बाकसमा बन्द भएर फर्कनुपरेको कथा पनि गीतमा भेटिन्छन् । यसरी हेर्दा वर्तमान नेपाली गीत–सङ्गीतमा हाम्रो देशको राजनीतिले समाजमा उल्लेख्य योगदान पु¥याउन नसकेको आक्रोश बढेको प्रष्ट सुनिन्छ ।

अन्तमा, गीत–सङ्गीतले सामाजीक, राजनीतिक र आर्थिक परिवर्तनका लागि विश्वव्यापी प्रभाव पारेको छर्लङ्ग देखिन्छ । नेपालको सन्दर्भमा हेर्दा नेपाली जनतालाई राजनीतिक व्यवस्था परिवर्तन गर्न, विकासका अवसरको प्राप्तिगर्न र समाजमा झाँगिएका कुसंस्कारलाई उखेलेर जरैदेखि फाल्न सक्ने गीत–सङ्गीतसिर्जना गरिएको प्रष्ट देखिन्छ ।
जनताका असीमित चाहनालाई व्यवस्थापन गर्न अपेक्षाकृत नसकेको हँुदा राजनीतिक पार्टीका नेता, कार्यकर्ता र कर्मचारीको समेत चर्को आलोचना गर्ने गीत–सङ्गीतहामीसँग प्रसस्तैगुञ्जिरहेका छन् ।
(लेखक गीतकार हुन्)
[email protected]

Facebook Comments