• १८ असार २०७९, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लेखिएकै छैन कर्णालीको संवेदना





साहित्यकारहरूलाई संसारमा सबैभन्दा बढी कुन प्रसङ्ले लेखनमा आकर्षित गरेको हुन्छ ? यो प्रश्नको जवाफमा धेरैले भन्नेछन्– मानवीय संवेदना । एक जीवनवादी लेखकले सायद मानिसले बिहान उठेदेखि अर्को बिहान ऊ पुनः नउठेसम्मका चटारोहरू आफ्ना कलमबाट ओकल्नुपर्छ ।

हामी नेपालका दुर्गम बस्तीहरूमा मात्रै हैन, सम्पन्न सहरमा पनि बाँच्नकै लागि पटकपटक मर्छौं र बौरिरहन्छौँ । आजको युगमा पनि यातायातको बाहिरी संसारले नछोएको हुम्ली जीवनमा धेरै किसिमका मानवीय कठोरता पढ्न पाइन्छन् । हुम्लीहरू प्राकृतिक सुन्दरताले संसारकै सम्पन्न तर भौतिक संरचनाको आवश्यकताले अत्यन्तै पछाडि पारिएका सम्मानित नेपाली नागरिकको रुपमा बाँचिरहेका छन् । आजको युगमा पनि स्वास्थ्य सेवा अभावमा सुत्केरी ब्यथाले छट्पटाउदै मरिरहेका हुम्ली दिदी–बहिनीप्रति सम्बन्धित निकायहरु गम्भिर बनेको देखिदैन ।

बाह्र वर्षअघि कर्णालीको दुर्गम जिल्ला हुम्लाको एक विकट गाउँको मानवीय आवश्यकतालाई समेटेर यो पंक्तिकारले एक गीत लेखेथ्यो । त्यो गीतमा उठाइएका विकासका पूर्वाधारको प्रसंगलाई वास्तविकतासँग परीक्षण गर्ने चाहनाले यो लेखमा विकासे गीतको वास्तविकता हुम्ली मानवीय सम्वेदनशीलतासँग तुलना गर्ने जमर्को गरिएको छ ।

‘कहिले बन्ला हाम्रो गाउँमा मोटर गुड्ने बाटो ?’ गीतमा कर्णाली प्रदेशका दुर्गम बस्ती र त्यो बस्तीमा बस्ने एक साधारण परिवारको विकासप्रतिको चाहनालाई व्यक्त गरिएको छ । कर्णालीवासीलाई बाटाको आवश्यकता छ । झोलुङ्गे पुलका अभावले विद्यालय जान नसकेर बालबालिकाको पढाइ बिग्रिएको छ । गर्भवती महिलाले समयमा उपचार नपाएर अकालमै ज्यान गुमाएका छन् । गाउँमा बिजुलीबत्ती छैन । नुन र तेलको अभाव छ । पेटभर खाने अन्न छैन । यस्ता गम्भीर समस्यालाई गीतमा समेटिएको थियो ।

हवाइमार्गबाट मात्रै यस जिल्लामा सजिलै आउजाउ गर्न सकिन्छ । हिँडेरै यो जिल्लामा पुग्न खोज्ने हो भने कर्णालीको तिरैतीर हप्तौँ हिँड्नुपर्छ । जिल्लाभित्रका गाउँपालिकाहरूमा जान पनि यातायातको सुविधा छैन । नेपालगञ्जबाट खाद्यान्न ढुवानी गर्न हवाईमार्गको प्रयोग अनिवार्य छ । नेपालगञ्जबाट सिमीकोटमा पुगेको खाद्यान्न पुनः खच्चर, गधा वा भेडाबाट ढुवानी गरी हुम्लीका भान्सासम्म पुग्छ । यसैले पनि हुम्लामा खाना महँगो पर्छ । जसका कारण आय आर्जन राम्रो नभएका अधिकांश हुम्लीहरूका लागि जीवन कष्टकर छ ।

हुम्ला विकासको पर्खाइमा सिमीकोट विमानस्थलमै लम्पसार छ । बाहिरबाट महँगो भाडा तिरेर ल्याइएको चामल सानासाना नानीहरूका मुखमा भातको रूपमा पु¥याउन साँच्चै कठिन छ । हुम्ली अँगेनाहरू भात छड्केको गुदुगुदु आवाज सुन्न यहाँका बालबालिका साँच्चै लालायित छन् । आम्दानीको स्रोत जडीबुटी र हिल्सापारी चीनको ज्याला मजदुरीमात्रै रहेका हुम्लीहरूको स्वास्थ्य सेवाप्रतिको पहुँच राम्रो छैन नै । जिल्लाभित्रका अधिकांश गाउँबाट सदरमुकाम आउन कहिले चिसो फाँट, कहिले कर्णालीको तीरैतीर त कहिले कहालीलाग्दो पखेराको साँघुरो बाटो हिँड्नुपर्छ ।

यस अवस्थामा जटिल प्रकारको रोग लागेका बिरामीलाई उपचारका लागि नेपालगञ्ज पु¥याउन कि निकै ठूलो रकम खर्चेर हेलिकप्टर रिजर्भ गर्नुपर्यो कि त मानिसले बोकेर सदरमुकामसम्म ल्याउनुपर्यो । त्यसपछि नेपालगञ्जका लागि हवाइजहाजको टिकटको चाँजोपाँजो मिलाउन केही दिन सिमकोटमै अल्मलिनु पर्यो । यसैले, औषधि उपचारका लागि नेपालगञ्जको यात्रा सामान्य हुम्लीलाई पटक्कै सहज छैन । यति लामो समयसम्म जटिल प्रकारको रोग लागेका बिरामीले उपचार नपाउँदा स्थिति नाजुक हुने नै भयो । जसले गर्दा धेरै बिरामीको अकालमै मृत्यु हुनु हुम्लामा सामान्यझैँ लाग्छ । यसैले सुत्केरी हुन नसकेका महिला, एपेन्डिसाइटिसका बिरामीहरू, हृदयघातका बिरामीहरू, र गम्भीर घाउचोटपटक लागेका बिरामीहरूको जीवन ज्यादै जोखिमपूर्ण हुन्छ ।

हुम्लीले स्वास्थ्य चौकीको आवश्यकता बोध गर्नु ठूलो कुरा हैन तर ज्वरो आउँदा सिटामोल चक्की पाउन पनि निक्कै गाह्रो छ यहाँ । जीवन–मरणको दोसाँधमा रहेका बालबच्चा, महिला र वृद्धवृद्धालाई बचाउनका लागि एउटा राम्रो अस्पताल तुरुन्तै सञ्चालनमा आउन जरुरी छ । साथै प्रत्येक वडामा स्वास्थ्य चौकी प्रभावकारीरुपमा सञ्चालन हुन जरुरी देखिन्छ । त्यसो त दुर्गमक्षेत्रको सरकारी कोटामा काठमाण्डौँमा पढेका डाक्टर साहेबहरूले हुम्लामा बसेर बिरामीहरूको सेवा गर्नुपर्ने हो । यसलाई बाध्यकारी नबनाइकाले कुनै डाक्टर अहिलेसम्म हुम्लामा बसेका छैनन् ।

हुम्लामा विकास निर्माणका सामग्रीहरूको ढुवानी पनि सहज छैन । झोलुङ्गे पुलका फलामे सामग्रीहरू, लठ्ठा, सिमेन्ट, जलविद्युत्का पेनस्ट्रक पाइप, जेनेरेटर, खम्बा तथा तार, मोटरबाटोका लागि चाहिने तारजाली, औजार तथा अन्य मेसिनरी सामानहरू, खानेपानीका पाइप, पाठ्यपुस्तक, औषधिमूलो लगायत अन्य सामान ढुवानी गर्न हुम्लामा निकै कठिन अवस्था छ । अप्ठेरो भूगोल, हिउँले ढाकेका पहाडी साँघुरा बाटाले निर्माण सामग्री बोकाएर खच्चरहरू हिँडाउन कठिन छ । मानिसहरूले बोक्न पनि त्योभन्दा कठिन छ ।

हुम्लाको लागि नजिकको मोटरबाटो कि त बाजुराको कोल्टी हो, कि त मुगुको गमगढी नै हो । तर यी स्थानसम्म पनि नियमित रूपमा मालबाहक गाडीहरू चलेका छैनन् । त्यसो त चीनको मोटरबाटो प्रयोग गर्दै हुम्लाको हिल्सासम्म सामान ढुवानी गर्न सकिन्छ ।

यसरी चीनको भूमि प्रयोग गरी सामान लाँदा हुम्लाको नाम्खा गाउँपालिका र बाजुराको उत्तरी भेग लगायतका क्षेत्रमा सामान ढुवानी गर्न सकिन्छ । तर चीनको भू–भागबाट सामान ढुवानी गर्न कानुनी प्रक्रियाले गर्दा त्यति सहज हुँदैन । यसैकारण हुम्लामा विकास–निर्माणका कामहरू महँगो, गुणस्तरहीन, भ्रष्टाचारयुक्त र लथालिङ्ग हुने गरेका उदाहरण प्रशस्तै भेटिन्छन् ।

हुम्ला जिल्ला अन्य जिल्लाभन्दा प्रति वर्ग्किलोमिटर जनसङ्ख्या कम भएको जिल्ला हो । जनसङ्ख्या न्यून हुँदा आर्थिक गतिविधिहरू कम हुन्छन्, आर्थिक गतिविधि नै नगन्य भएपछि आर्थिक अवसरहरूको उपभोग गर्न सकिने कुरै भएन । बस्ती पातलो भएपछि खानेपानी, विद्युत्, र मोटरबाटो पुर्याउन असहज छ । बाटोघाटो बनाइहाले पनि कि त वर्षा, कि त हिउँले राम्रोसँग सञ्चालनमा आउन दिँदैनन् ।

त्यसो त हुम्लामा विकासका प्रयासहरू नभएका भने होइनन् । गाउँपालिकाहरू जोड्न हुम्लाभित्र मोटरबाटो खनिँदैछन् । सिमकोट–हिल्सा सडक खन्ने काम पनि भइरहेको छ । यो बाटो तयार भइसकेपछि हुम्ला मोटरबाटोबाटै चीनसँग जोडिनेछ । यसपछि हिल्सा नाकाबाट नेपाललाई चीनसँगको व्यापार बिस्तारमा सघाउ पुग्नेछ । अर्कोतर्फ, कर्णाली करिडोरको निर्माण द्रुतगतिमा हुँदैछ । हुम्ला मोटरबाटाको राष्ट्रिय सञ्जालमा तीन वर्ष्भित्र जोडिने हुम्लाका नेताहरू बताउँछन् ।

सानास्तरका जलविद्युत् उत्पादन पनि भइरहेको देखिन्छ । जनतालाई एक घण्टाको फेरो लाउन नपर्ने गरी झोलुङ्गे पुलहरू बनिरहेका छन् । खानेपानीका पाइपहरू बिछ्याई खानेपानीको सुविधा पुर्याउन प्रयासहरू गरिएका देखिन्छन् । तर विकासका यस्ता काममा अलमल भने देखिरहेकै छ ।

हुम्लामा साना–ठूला क्षमताका जलविद्युत् उत्पादन गर्न सकिने नदी तथा खोलाहरू प्रशस्तै छन् । हिउँले भरिएका पहाडबाट उद्गम भई बग्ने यी नदीमा नियमित जलप्रवाह हुन्छ । यस किसिमका नदी तथा खोलाहरू जलविद्युत् तथा सिँचाइका लागि उपयुक्त मानिन्छन् । नियमितरूपमा बग्ने चिसो पानी जापानी ट्राउट माछा उत्पादनका लागि अत्यन्तै उपयोगी हुन्छ । यसैले हुम्लाले कुनै दिन विश्व बजारलाई ट्राउट माछा दिन सक्ने सम्भावना धेरै टाढा छैन ।

हुम्ला आफैँमा स्वर्गकै टुक्रा हो । नेपालगञ्ज वा सुर्खेतबाट हवाइयात्रा सुरु भएदेखि नै पर्यटकलाई हुम्लाले आफ्नो सुन्दरताको जादुले कैद गर्दछ । सिमकोटमा पाइला पर्दै हिउँदमास हो भने हिउँले पूरै भरिएका हिमाली शृङ्खलाहरू तीनसय साठी डिग्रीको फेरोमा देखिन्छन् । पवित्र धार्मिकस्थल मानसरोवरको ढोका सिमकोट नै हो । हिल्सातर्फ पैदलयात्रामा हिड्नेलाई रोमाञ्चकारी अनुभव हुने गर्छ । बाटामा बस्न र खानका लागि साधारण स्तरका भए पनि होटल छन् ।

पैदल हिँड्न नसक्नेहरू र धन हुनेहरु सिमकोटबाट हेलिकप्टरमा पनि हिल्सा र अझ परको मानसरोवरसम्मै आउजाउ गर्न सक्छन् । भौगोलिक विकटता र यातायात सर्वसुलभ नभएका कारणले आन्तरिक पर्यटनको विकास उल्लेख्य नभए तापनि मानसरोवर जाने तीर्थायात्री तथा भारतीय पर्यटकले सिमकोट क्षेत्र भरिभराउ हुन्छ ।

तिब्बती मूलका हुम्लीहरूमाझ सदिँयौदेखि चलेको बहुपति प्रथाको अवशेष अझै पनि कतैकतै बाँकी रहेको स्थानीयहरू बताउँछन् । तर नयाँ पुस्ताका युवामा भने यो प्रचलनप्रति आकर्षण नरहेको बताइन्छ । यस्ता किसिमका साँस्कृतिक प्रचलनहरू पर्यटकलाई अनौठो सन्दर्भ मात्रै नभएर अनुसन्धानको विषय पनि हुने गरेको छ ।

वास्तवमा हुम्लाको द्रुत विकास गर्न पर्यटन, जलविद्युत् र जडीबुटी तथा स्याउ उत्पादनबाट मात्रै सम्भव छ । कर्णाली प्रदेशमा काम गर्दै आएको विकासे अनुभवको आधारमा भन्नुपर्दा निष्कर्ष यही नै हो । काठमाडौँको सिंहदरबारमा सीमित शक्ति गाउँगाउँमा पुर्याइयो भनिएको छ तर गाउँपालिकाका जनप्रतिनिधिहरू भेट्न काठमाडौँको बौद्ध वा सुन्धाराका लजहरुमा जानुपर्छ । पालिका भवनमा ताला लगाइएका र महिनौँ कुर्दा पनि काम बन्न नसकेको गुनासो हुम्लीहरूको छ । यसैले यस जिल्लाको आमूल विकासका लागि स्थानीय सरकारका प्रतिनिधिहरू जनताका कामहरूप्रति संवेदनशील हुन जरुरी छ ।
हुम्लाको विकासका लागि कम्तीमा यातायातको सुविधा पुग्नु अत्यन्तै जरुरी छ । सबै गाउँपालिकाहरू जुटेर हुम्लालाई सडकमार्गको राष्ट्रिय सञ्जालमा जोड्नेतर्फ ऐकबद्घता देखाउन अपरिहार्य । पर्यटकलाई आकर्षित गर्न भौतिक संरचना बन्नुपर्यो । उनीहरुलाई बस्न र खान उनीहरुले चाहे अनुसारका होटल वा होमस्टे विकास गर्न जरुरी छ । वातावरणमा नकारात्मक प्रभाव नपर्ने गरी जडीबुटी उत्पादन गर्नुपर्यो । विकास निर्माणमा भएका अनियमिततालाई रोक्नेतर्फ प्रदेश सरकारले पहलकदमी देखाएमा हुम्लाको माटो सुन बराबर हुनेमा ढुक्क हुन सकिन्छ ।

लेखकहरूले समाजमा देखिएका ज्वलन्त समस्यालाई निर्धक्क भएर लेख्नु नै उसको लेखकीय धर्म हो । स्रष्टाका कलम र कुचीबाट जम्मा गरिएका समस्यालाई सरोकारवालाहरुले बुझेर समाधानका लागि अगाडि बढ्न सकेमा हुम्लाका साथै मुगु र डोल्पालाई पनि छिटोभन्दा छिटो प्रगतिपथमा लम्किन सजिलो हुन्छ । उनीहरुको कष्टकर जीवनलाई नियालेर रमाउने होइन, उनीहरुको जीवनको गहिराइमा पुगेर संवेदनाको झिल्कालाई लेखकले आमपाठकसम्म पुर्याउन सक्नुपर्छ ।
(लेखक गीतकार हुनुहुन्छ)
साभारः नयाँ युगबोध दैनिक । २०७६ असार ३० गते सोमवार

Facebook Comments