• ११ असार २०७९, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
परीक्षार्थीले ख्याल गर्नुपर्ने कुराहरू




‘इच्छा’ आधारपदमा ‘परि’ उपसर्ग गाँसिएर निर्मित ‘परीक्षा’ शब्दको शाब्दिक अर्थ ‘परि’ भन्नाले चारैतिर अर्थात पूर्ण र ‘ईक्षा’ भन्नाले चाहना भन्ने बुझिन्छ । यसरी हेर्दा चाहना गरिएको लक्ष्य प्राप्तिका लागि पूर्णता प्रदान गर्न अङ्गालिने लेख्य एवम् कथ्य प्रक्रिया नै परीक्षा हो । जब परीक्षा नजिकिदै जान्छ तब अधिकांश विद्यार्थीमा एकप्रकारको तनाव उत्पन्न हुन्छ । तनाव उत्पन्न हुनु स्वभाविक प्रक्रिया हो किन कि परीक्षाको सिधा सम्बन्ध विद्यार्थीको भविष्यसँग गाँसिएको हुन्छ ।

वर्षौ लगाएर गरिएको मानसिक चिन्तन, खचिएको लगानी र खप्नुपरेका सास्तीहरू एवम् सहनुपरेका ठेंसहरू विर्सने आधार परीक्षा पस्चात उपलब्ध हुने उपलब्धी नै हो । जीवनमा जे जति ज्ञान विज्ञानका कुरा सिकिन्छ, र सिर्जनात्मक क्षमतालाई तिखारिन्छ त्यसको लेखाजोखा गरिने तराजुको रुपमा परीक्षालाई लिइन्छ । केवल तिन घण्टाको समयावधिमा वषौंको ज्ञानराशीलाई शिलशिला मिलाएर विलक्ष्यण प्रतिभा देखाई भावी दिनको बाटो तय गर्नु चानचुने कुरा होइन । व्यक्तिमा जे जति ज्ञान भए पनि त्यसलाई परीक्षाको मापदण्डभित्र रही सम्यक ढङ्गले उत्तर दिन सकिएन भने राम्रो परिणाम निस्कदैंन । अनपेक्षित परिणामले व्यक्तिलाई अग्रगतिमा होइन अधोगतिमा धकेल्छ । यस्ता उदाहरण समाजमा प्रशस्तै भेटिन्छन् । परीक्षा विग्रनुमा सामाजिक, मानसिक, शारीरिक, पारिवारिक आदि विविध कुराहरुले प्रभाव पारेका हुन्छन् । यस्ता कारक तत्वबाट बच्न केही आधारभूत कुराहरुमा ख्याल गर्नु जरुरी छ ।

परीक्षार्थीको मन स्थिर हुनुपर्छ । हरेक प्राणीका लागि मन त्यस्तो संवेदनशील कुरा हो, जस्को विचलनले सन्तुलन विग्रन गई तनाव उत्पन्न हुन्छ । मन नै तनाव ग्रस्त भएपछि परीक्षा राम्रो हुने कुरै भएन । त्यसैले परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि नै परीक्षार्थी परीक्षा हलभित्र प्रवेश गरिसक्नुपर्छ । परीक्षा दिनुभन्दा आधा घण्टा अगाडि नै साथीहरुसँग विषयवस्तुका बारेमा छलफन गर्न छाड्नु राम्रो हुन्छ । किनकि छलफलका क्रममा द्विविधा उत्पन्न भई मानसिक तनाव उत्पन्न हुनसक्छ । परीक्षार्थीले उछृङ्खल र चकचके व्यवहार देखाउदै बाहिर भित्र गरिरहनु हुँदैन । बरु गम्भीर, शालीन एवम् धीर भएर एकाग्र मनले आत्मबल बढाई रहनुपर्छ । आत्मबल त्यस्तो अजेय शक्ति हो जसले प्रशस्त उर्जा प्रदान गर्दछ ।

मानसिक हिनताबोध परीक्षार्थीका लागि अत्यन्त घातक छ । व्यक्ति जे जस्तो अवस्थामा किन नहोस् उसले सदैव म पनि केही हूँ, मसँग केही शक्ति र सामथ्र्य छ, मैले यसलाई सार्थकरुपमा देखाएरै छाड्छु भन्ने अहंबोध हुनुपर्दछ । अहंताबोध र सुन्दर सपना नै प्रगतिका भ¥याङ्ग हुन् । जब मान्छेले आफूलाई खोक्रोरुपमै भए पनि अगाडि सार्छ तब मात्र मूल्य दिने प्रयास गर्दछ । त्यही मूल्यवान् जीवनले नै केही सपनाको निर्माण गर्दछ । सपना त्यस्तो वस्तु हो जुन विन्दुमा सपना देख्न छाडिन्छ, त्यही विन्दुमा प्रगतिका ढोका पनि बन्द हुन्छन् ।

परीक्षा सकिएपछि साथीहरुसँग कुन प्रश्नको उत्तर कस्तो गरियो भनी छलफल गर्नु पनि लगन पछिको पोते हुन जान्छ । यस्तो छलफलले प्रायः मध्यम र निम्न क्षमता भएका विद्यार्थीमा निरासा प्रदान गर्दछ । अझ कतिपय विद्यार्थीले त अर्काको मनस्थिति खसाउनका लागि खोक्रो आडम्बर समेत देखाइदिन्छन् । आफू समानका वा आफुभन्दा कमजोर शैक्षिक क्षमता भएका साथीहरूको राम्रो जाँच भएको तर आफ्नो जाँच बिग्रिएको महसुस भएमा मानसिक तनाव एवम् चिन्ता उत्पन्न भई अन्य विषयको जाँच समेत विग्रने सम्भावना हुन्छ । मानिस स्वाभावतः प्रतिस्पर्धी गुणले युक्त हुने भएकाले वितेको कुनै परीक्षाको खोजिनीति परीक्षा अवधिभर नगरेकै वेश हुन्छ ।

परीक्षार्थीले पेन्सील, क्याल्कुलेटर, स्केल, इरेजर जस्ता सामग्रीहरू आफैं लगेर जानुपर्दछ । अर्काले लगेकोबाट मागेर काम चलाउने मनसाय कहिल्यै राख्नुहुँदैन । आवश्यक परेका बेलामा यी सामग्री उपलब्ध नहुँदा समय खेर जाने हुँदा पनि परीक्षा बिग्रने सम्भावना हुन्छ । परीक्षामा सकभर कालो रङ्गको मसी प्रयोग गर्नु राम्रो हुन्छ । हुन त मसी बदल्न नपाइने होइन तथापि निरीक्षकसँग मसी बदलेकोमा दस्तखत गराइरहनु,अनि कतै परीक्षकले सङ्का गर्छ कि भनेर डराइरहनु राम्रो होइन ।

फेरि कहिलेकाहिं त दोहो¥याएर हेर्दा अगाडि थपिएका कुरामा केही वाक्य वा शब्द थप्नुपर्ने आकस्मिक अवस्था पनि आउन सक्छ । यस्तो अवस्थामा एउटा पेजमा अरु सबै कालो मसीमा तर एउटा शब्द वा वाक्यमा नीलो मसीमा भएमा त्यो उत्तर विद्यार्थी आफैंको क्षमताबाट लेखिएको हो वा होइन भन्ने सङ्का पर्न सक्छ । त्यसैले राम्रो लेख्ने र सरर चल्ने खालका दुई तिनवटा एउटै रङ्का मसी भएका कलम लिएर जानु राम्रो हुन्छ । परीक्षा भनेको जीवनको निर्धारण गर्ने कसी हो । त्यसैले यस्तो बेलामा महङ्गो नै भए पनि राम्रो खालको कलम प्रयोग गर्नु वेश हुन्छ ।

परीक्षा दिंदा प्रश्नको अङ्कभारलाई विशेष ख्याल गर्नु पर्दछ । बढी अङ्भार भएकालाई बढी समय तथा श्रम खर्चिनु पर्दछ । यसका लागि कुन प्रश्नमा के कति समय खर्चिनुपर्ने हो त्यसको राम्रो हेक्का हनुपर्दछ । परीक्षाको निर्धारित समय र पूर्णाङ्कलाई हेरेर कुन प्रश्नमा के कति समय दिंदा उपयुक्त हुन्छ भन्ने ख्याल गर्नु पर्दछ । राम्रोसँग जानेर होस् या नजानेर नै किन नहोस् सबै प्रश्नको उत्तर समान तवरले गर्नुपर्दछ । नजानेको प्रश्नमा कमसलखालको गनथन नै किन नहोस्, त्यसका लागि छुट्यायको समय त्यही प्रश्नमै प्रयोग गर्नुपर्दछ ।

विद्यार्थी असफल हुने र कम नम्बर ल्याउने प्रमुख कारण समयको व्यबस्थापन सही तरिकाले गर्न नसक्नु, जानेको प्रश्नलाई धेरै समय दिनु तर नजानेको प्रश्नलाई छाड्नु वा थोरै समय दिनु, सबै प्रश्नको उत्तर नदिनु प्रमुख कारण हुन् । कमसल खालको भए पनि सबै प्रश्न हल गर्ने विद्यार्थी असफल हुने सम्भावना कम हुन्छ । परीक्षामा थपेको कापीमा सिम्बोल नं. अनिवार्यरुपमा लेख्नुपर्दछ । यसो गरेमा कापी कहिं कतै भुलचुकमा फेरबदल हँुदैन र भएमा पनि सजिलै पत्ता लाग्छ । जे जति कापी थपिन्छ तिनलाई क्रम मिलाएर स्टिज गरेर वा डोरीले बाँधेरमात्र बुझाउनुपर्छ । त्यतिकै बुझाएका कहिं कतै भुलचुक हुनपनि सक्छ भन्ने कुरामा सतर्क हुनुपर्दछ ।

परीक्षार्थी मानसिकरुपमा स्वस्थ हुनु जरुरी छ । त्यसैले दुई तिन घण्टाको अध्ययन पश्चात् गीत सङ्गीत सुनेर, बगैचामा घुमेर, परिवारका सदस्यहरूसँग गफगाफ गरेर, योगसाधना गरेर, सञ्चारका विविध माध्यमहरू हेरेर मनोरञ्जन पनि लिनुपर्दछ । मानसिक तनाव हुनेखालका फिल्महरू हेर्ने, मेला जात्रा एवम् भोजभतेरमा सहभागी हुने जस्ता काम परीक्षाको समयमा नगरेकै वेश हुन्छ । यसका साथै समयमै सुत्ने र समयमै उठ्ने नियमित रुटिन हुनुपर्र्र्दछ । परीक्षाका समयमा गरिष्ठ खानेकुरा खानुहँुदैन ।

नपच्ने तथा बढी क्यालोरी भएका खाने कुराले शरीर अस्वस्थ हुन सक्छ र त्यसले परीक्षामा प्रभाव पार्न सक्छ । त्यसैले परीक्षाको तयारीमा रहेका विद्यार्थीले सादा र हल्का खाना खानुपर्दछ । साँझको समयमा भातको सट्टा रोटी खाने गरेमा चाँडै निद्रा लाग्दैन । यस्तो समयमा फलफूल, हरिया सागसब्जी तथा दूध सेवन गर्नु स्वास्थ्यका लागि पनि हितकर हुन्छ । जे होस् समयको तालमेल, दृढ आत्मविश्वास, भोजनमा सन्तुलन तथा प्रचुर सिर्जनात्मक क्षमतको उपयोग गरेर मानसिक तनावबाट मुक्त रही परीक्षा दिएमा अपेक्षित नतिजा प्राप्त गर्न कठिन छैन ।
प्रकाशित मिति २०७६। असार २६ गते युगबोध

Facebook Comments