• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेश पाँचमा नयाँ पर्यटकीय गन्तव्यः रुकुमपूर्वमा एकै ठाउँ भेटिए तीन अनौठा गुफा




रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका १२ कोलमा एकैठाउँ तीन ठूला गुफा भेटिएका छन् । पोखराको महेन्द्र गुफा बिर्साउने गरी तीन ठूला गुफा भेटिएका छन् ।

हरेक गुफाका छुट्टाछुट्टै बिशेष रहेका छन् । स्थानीयले तीनवटै गुफालाई मगर खाम भाषामा नामाकरण गरेका छन् । एउटा सबैभन्दा ठूलो एकैपटक ५० जना जति मान्छे अटाउने गुफा भेटिएको छ, जसमा मान्छेका जस्ता आकृति छन् ।

त्यसैले यो गुफालाई ‘मि कुङ’ नाकाकरण गरिएको छ । मगर खाम भाषामा ‘मि’ भनेको मान्छे र ‘कुङ’ भनेको ओडार, प्वाल वा गुफा भन्ने बुझिन्छ ।

जमीन सतहबाट २५ मिटर भित्र पसेपछि यो गुफाको सतह भेटिने र यसमा मान्छेका विभिन्न आकृति देख्न सकिने पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १२ अध्यक्ष गंगा पुनले जानकारी दिनुभयो ।

आफू पोखराको महेन्द्र गुफा र रुकुमकोटकोट देउराली गुफामा गएको जानकारी दिंदै अध्यक्ष पुनले ती सबै गुफाभन्दा कोलमा भेटिएका गुफा आकार प्रकारले पनि ठूला र सबै बिशेषतायुक्त रहेको बताउनुभयो ।

त्यस्तै नजिकै रहको अर्को गुफाभित्र सुनङका जस्ता आकृति भेटिएका छन् । जसलाई स्थानीयले ‘सुनरी कुङ’ अर्थात सुनपानी गुफा नाम दिएका छन् ।

त्यस्तै अर्को गुफाभित्र चाँदीका जस्ता आकृति देख्न सकिन्छ । जसलाई स्थानीयले ‘चाँदी कुङ’ नाम दिएको अध्यक्ष पुनले जानकारी दिनुभयो । मान्छेको आकृति भएको ठूलो गुफा एक साइडमा छ भने सुन र चाँदीका आकृति देखिने गुफा अर्को साइडमा छन् । यी गुफा पुग्न १५ मिनेटको पैदल यात्रा गरे पुग्छ ।

गुफाभित्र हात्तीको सुँडजस्ता आकृति छन् भने कतै गाइका थुनजस्ता आकृति भेटिएका छन् । यी गुफाको नयाँ बिशेषता त के छ भने गुफाभित्र कुनै वस्तु राखियो भने केही बर्षभित्रै ती वस्तुलाई चट्टानले छोपिदिन्छ । ‘केही बर्षअघि काठको लट्ठी छाडिएको रहेछ, अहिले त्यही लटठ्ी नै चट्टान प्लास्टेड भएको छ’– अध्यक्ष पुनले भन्नुभयो– ‘गुफाभित्र चाहेको जस्तो चट्टान नै बनाउन सकिने पनि संभावना देखिएको छ ।’

स्थानीय भन्छन्– दुइ किलोमिटर लामो सुरुङ थियो

स्थानीयले पहिलेदेखि देखेको भए पनि स्थानीय युवाले चासो दिएपछि गत बर्षदेखि यी गुफाप्रति चासो बढ्न थालेको छ । गाउँभन्दा तल गुफाहरु भेटिए पनि यी गुफासम्म पुग्न गाउँभन्दा माथिबाटै सुरुङमार्ग रहेको स्थानीयको दावी छ ।

धेरै बर्षअघि गुफाभन्दा दुइ किलोमिटर माथि रहेका अन्य गुफाबाट छिरेको कुकुर अहिले भेटिएका नयाँ गुफाबाट निस्केको स्थानीयको भनाइ छ । गाउँभन्दा माथि स्थानीय मगर खाम भाषामा ‘निम कुङ’ भनिने अर्को गुफा रहेको छ, मगर खाम भाषामा निम भनेको भालु हो । भालु लुक्ने गुफा भएकाले यसलाई स्थानीयले ‘निमकुङ’ भनेका हुन् ।

यो गुफामा पनि जमीन सतहबाट उज्यालाको सहायताले २५ मिटर जति भित्र जान सकिन्छ ।

धेरै बषृअघि शिकारीले लखेको मृग यही गुफाबाट भित्र छिरेको र त्यसलाई लखट्दै गएको कुकुर एक हप्तापछि दुइ किलोमिटर तल अहिले भेटिएका गुफाबाट निस्केको स्थानीयको भनाइ छ ।

‘अहिले त भूकम्पलगायतका विभिन्न कारणले यो संभव नहोला तर पहिले माथिबाट छिरेको सुरुङ दुइ किलोमिटर तलसम्म निस्केको रहेछ भन्ने देखिन्छ’– वडा अध्यक्ष पुनले भन्नुभयो ।

जनयुद्धकालमा गुरिल्ला लुक्ने गुफा

यी गुफा जनयुद्धकालमा माओवादी जनसेनाले पनि प्रयोग गरेको भेटिएको छ । गुफाको अनुसन्धानमा भित्र छिरेका स्थानीय युवाले जनसेनाले प्रयोग गरेका लालटीन, पार्टीका ब्यानर र पोष्टर फेला पारेका छन् । दुइ बर्षअघि अर्को गुफामा स्थानीयले लुकाइरहेको बन्दुकसमेत फेला पारेका थिए ।

प्रदेशको पनि चासो

यस क्षेत्रबाट नेतृत्व गर्ने रुकुमपूर्व प्रदेशसभा सदस्य तेजबहादुर ओलीले पनि आजसम्म आफूले देखेका गुफामा यी गुफा फरक बिशेषतासहित भेटिएको बताउनुभयो । आवश्यक प्रचार प्रचार र पूर्वाधार विकास गर्न सकिने पर्यटन प्रबर्धनको राम्रो संभावना रहेको उहाँले बताउनुभयो ।

प्रदेश सरकारबाट बजेट व्यवस्था गरेर यसलाई रुकुमपूर्वको पर्यटकीय गन्तव्य बनाउने गरी आफूले स्थानीयवासी र स्थानीय सरकारसँग छलफल गरेको भन्दै उहाँले त्यसका लागि लाग्ने बताउनुभयो । गाउँदेखि गुफासम्म पुग्ने सिढी र गुफा प्रवेशस्थलमा सिढीको व्यवस्था गर्न प्रदेश सरकारबाट पहल गरिने उहाँले जानकारी दिनुभयो ।

Facebook Comments