• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पत्रकार महासंघको आन्दोलन सहमतिको दिशामा, सरकारलाई सहमतिमा ल्याउन नेकपा तयार




नेपाल कम्युनिष्ट पार्टीका संघीय संसदीय दलका उपनेता तथा तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकमा जनाएका विमति र राखेका मागहरुलाई पार्टीले सम्बोधन गर्ने बताएका छन् ।

महासंघका पदाधिकारीहरुसँग छलफलका क्रममा बोल्दै नेम्बाङले भने, ‘बुझाबुझको अभाव भयो । यहाँहरुको आन्दोलनकै सम्मान गरेर मिडिया काउन्सिल विधेयक ‘होल्ड’मा छ । यो कुरा यहाँहरुसम्म लैजान सकिएन छ । होल्ड भनेको स्थगित हो । संशोधनमार्फत तपाईंहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि राखेका मागहरुलाई सम्बोधन गर्न म प्रतिवद्धता व्यक्त गर्दछु ।’

नेता नेम्बाङले आवश्यकताअनुसार छलफलबाट महासंघकै सुझाव र चाहनाअनुसार मिडिया काउन्सिल विधेयकमा संशोधन गरी पारित गरिने भन्दै त्यसका लागि आफूले पूर्ण भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे । उनले महासंघलाई पूर्णरुपमा आश्वस्त हुन र आन्दोलन फिर्ता लिन आग्रह गरे । ‘कथंकदाचित त्यसो हुन सकेन भने फेरि डण्डा लिएर तपाईंहरु बसेकै हुनुहुन्छ ।’

त्यसअघि बोल्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघले मिडिया काउन्सिल र सूचना प्रविधिसम्बन्धी विधेयकमा धारा, उपधाराहरुमा असहमतिका बुँदाहरु पहिले नै पेश गरिसकेको बताउँदै यी दुई विधेयक सैद्धान्तिकरुपमै नेकपाको राजनीतिक प्रतिवेदन, चुनावी घोषणापत्रमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र प्रचलित विश्वव्यापी मान्यता र प्रचलनकै विरुद्धमा रहेको बताए ।

उपाध्यक्ष विपुल पोख्रेलले सत्तापक्ष, प्रतिपक्ष तथा प्रमुख सबै पार्टीहरु संविधानप्रति प्रतिवद्ध रहेको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति समान नीति रहेको उल्लेख गर्दै यी दुई विधेयकहरु नेकपाको घोषित नीतिकै पनि विरुद्धमा भएको बताए ।

महासचिव रमेश विष्टले महासंघको आन्दोलन व्यवस्था उल्टाउने, सरकार फाल्ने र कुनै व्यक्तिप्रति लक्ष्यित नभएको भन्दै संविधानले नै प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न नहुनेतर्फ आफूहरुको आन्दोलन केन्द्रित रहेको स्पष्ट पारे ।

सैद्धान्तिकरुपमा सहमति भए तापनि महासंघले लिखित प्रतिवद्धताको माग गरेको थियो । त्यसपछि थप गृहकार्यसहित आइतबार पुनः छलफल गर्ने सहमति भएको छ ।

Facebook Comments