रुकुमपूर्व भूमे गाउँपालिकामा दोस्रो वृहत् सांस्कृतिक प्रतियोगिता हुँदै छ । असार २ गते देखि ५ गते सम्म दोस्रो वृहत् सांस्कृतिक प्रतियोगिता कार्यक्रम २०७६ आयोजना गरिएको हो ।
भूमे गाउँपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्र नेपाल रुकुम पश्चिमको आयोजना र सह–आयोजक मौलिक सांसकृतिक कला केन्द्र र खाम मल्टी शोसल अर्गनाईजेशन रुकुमपूर्वको रहेको छ । प्रतियोगितामा भूम्या, नचारु, मयूर, पैसेरु, फाँक र झोरेल्नी नाचको आयोजना गरिएको छ । साथै स्थानीय मौलिकता बोकेको झाँक्री नाच र धनुषवाण प्रर्दशनी गराइने आयोजकले जनाएको छ ।
पुरस्कार राशी भूम्या नाचमा पहिलो हुनेले नगत १ लाख, द्वितीयले नगत ७५ हजार, तृतीयले नगत ५० हजार र सान्त्वना स्थान हासिल गर्नेले नगत २० हजारको रहेको छ । त्यसैगरी नचारु नाचका लागि पहिलो, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगत ७५ हजार, ५० हजार, ३० हजार र १५ हजार रहेको छ ।
मयूर नाचमा पनि क्रमशः नगत ५० हजार, ३० हजार, २० हजार र १० हजारको रहेमा पैसेरु, फाँक र झोरेल्नी नाचका लागि समान पहिलो, द्वितीय, तृतीय र सान्त्वना हुनेले नगत ३० हजार, २० हजार, १० हजार र ५ हजारको साथमा सबै नाचका लागि कप प्रमाण पत्रको व्यवस्था रहेको आयोजकले जनाएको छ । कार्यक्रमको लागि पालिकाले १५ लाख रकम छुताएको छ । कार्यक्रम भूमे २ खाबाङ बगरमा सञ्चालन गरिने छ ।
भूम्या नाचमा मगर समुदायमा प्रचलित भेषभूषामा महिलाले गुन्यू, चोली, पछ्यारी, गाडा, गरगहनामा र पुरुषले धाका टोपी, गाडा, पटुका, चौवबन्दी लगाएत परमपरागत पोसाकमा सजिएर पहिलो घेरामा पुरुष र पछिल्लो घेरामा महिलाको लामबद्ध तरिकामा नाच्ने गर्दछन् । पैसेरु, नचारु, फाँक र झोरेल्नीको पनि छुताछुटै परम्परागत पोसाकमा नाच्ने गर्दछन् ।
अठार मगरात क्षेत्रको सबै भन्दा ठूलो भूम्या पर्वको अवसरमा उक्त कार्यक्रम गर्न लागिएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो । ‘स्थानीय परम्परागत कला संस्कृतिलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले पालिकाले वार्षिक कार्यक्रम राखेर कार्यक्रमको लागि बजेट वियोजन गर्ने गरेका छाँै’ अध्यक्ष बुढाले भन्नुभयो, ‘हाम्रा सांस्कृतिक जनविश्वासमा आधारित छन् यसलार्ई संरक्षण गर्ने र भूमेमा पर्यटकलाई भित्र्याउने तथा चिनाउनेमा उक्त कार्यक्रमले सहयोग पु¥याइराखेको छ ।’
उहाँका अनुसार ‘आफ्नो भूमि र भूमि देउताप्रतिको श्रद्धा गर्नु हो, यसरी बल पूजा गर्दा देउता खुसी हुने र हानि हुनबाट जोगिने जनविश्वास छ ।’
‘स्थानीय परम्परागत कला संस्कृति हाम्रो पहिचान, मौलिक संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो शान’ भन्ने मूल नाराकोे साथमा दोस्रो सांस्कृतिक प्रवद्र्धन कार्यक्रम तय गरिएको छ । खासगरी रुकुम रोल्पाका मगर खाम भाषीयको बाहुल्यता भएको ठाउँहरुमा भूम्या पर्व मान्ने गर्दछाँै भूमे २ काँक्रीका स्थानीय मदन रोका मगरले जानकारी गराउनुभयो ।
‘हाल रुकुम पश्चिम सदरमुकाम खलंगा, दाङको घोराही तथा काठमाडौँ लगाएत मुख्या शहरमा समेत यो पर्व मान्ने गरेका छन् ।’ भूम्या पर्व अठार मगरात क्षेत्रका मगर समुदायको सबैभन्दा ठूलो चाड हो । हिउँदेबाली भित्र्याएको खुसीयालीमा र बर्खेबालीमा कुनै हानी नहोस् भनेर भूम्या पूजा गरिन्छ । साथै बाढीपहिरो जस्ता दैवी प्रकोप नआओस् भनेर भूम्या थानमा बली चढाइन्छ ।
खासगरी जेठ १ गते देखि गाउँका आ–आफ्नो ठाउँको चलन अनुसार भूम्या नाच सुरु गरेका छन् । भूम्या नाचको नामलाई ठाउँ अनुसारका नाम उच्चारण गर्ने गर्दछन् । जस्तैः बल्क, झ्यामकुटरी, नाम्को आदि नामले स्थानीय भाषामा प्रयोग गरेर नाम राखेको पाइन्छ । सुरु भएको मान्यता भूम्या पर्व अर्थात बल पूजा जेठ महिना लागेसँगै सुरु गरिएको पाइन्छ ।
प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ मनाइने भूम्या पर्वमा पूजापाठसँगै २२ चाल नाचिन्छ । परम्परागत भेषभुषाका युवक–युवती बुकी फूल टिप्न अग्ला पहाडमा जान्छन्न् । अर्नीपानी सगुन बोकेर लेक जानेहरूले ल्याएको रंगीविरंगी फूल सबैलाई शिरमा लगाइदिएर अग्रजको आशीर्वाद थाप्छन् । उनीहरूले ल्याएको बुकी फूल गाउँको सबै घरमा पुर्याइन्छ । लेकबाट पूजापात गरेर जरेपछि गाउँमा महिलाहरूले ध्वाँसो, खरानी, दशैंमा ढोकामा राखिएको टीका–जमरा जस्ता घर लिपपोत गरेर निस्किएको फोहारलाई घरबाहिर फाल्छन् ।
त्यसैलाई नै बल हाल्ने बन्दछन् । त्यसपछि विधिगत रुपमा बल पूजा अर्थात भूम्या पर्व सुरु भएको अगुवाले बताउछन् । बल हाल्दा वर्षभरिको ग्रहदशा र विपत्ति भूम्याले लैजाने विश्वास छ । पालिकाको नाम समेत यसै भूम्या पर्वबाट नै नामकरण गरिएको हो । भूमे गाउँपालिकाले अहिले भूम्या पर्वको अवसरमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेर यस पर्वको साथै अरु मौलिक नाचलाई पनि थप संरक्षण र प्रवद्र्धन गर्नमा ऊर्जा मिलेको स्थानीयले बताएका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।