नेकपा प्रभावशाली नेता एवं सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले आज नेपालका पाएका सबै उपलब्धि जनयुद्धकै उपलब्धि भएको बताउनुभएको छ ।
संसद बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले माओवादीको हिंसात्मक द्धन्द्धका कारण नेपाली युवाहरु विदेश जान बाध्य भएको धारणा राखेपछि त्यसको प्रतिकार गर्दै उहाँले जनयुद्धका कारण अहिलेका उपलब्धि आएकाले कांग्रेसले पनि राजनीति गर्न पाइरहेको बताउनुभयो ।
उहााले संविधान निर्माण लगायत उपलब्धिको श्रेय मात्रै नलिएर सबै कमी कमजोरीको सबैले सामुहिक जिम्मेवारी लिनुपर्ने बताउनुभयो । सत्तामा बसेर निरन्तर नेतृत्व लिएकाहरुले राम्रा कामका जस मात्रै नभई गल्तीहरुको पनि जिम्मेवारी लिनुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘परिर्वतनलाई, संघीयतालाई, संविधानसभालाई, अहिलेको अधिकारलाई बडो गर्वका साथ फलानोको पालामा यसो गर्यौ भन्ने ? अनि त्यसपछि आएर जनयुद्ध, जंगल पसेर सब विनाश गरे भनेर भन्ने ? म जिम्मा लिन चाहन्छु । जनयुद्ध गरेर यो देशको परिर्वतन गर्नेको एउटा कमाण्डर म पनि हुँ । त्यसकारण म पूर्ण रुपमा जिम्मा लिन चाहन्छु । त्यसले दिएको उपलब्धि , परिवर्तनका पक्षहरु, राजतन्त्र अन्त्य गरेको कुराहरु आज विर्सन मिल्छ ? त्यसकारण गल्तीहरु पनि सामुहिक रुपमा लिउँ । त्यहा भएका कमीकमजोरीहरु लिन म तयार छु । र त्यतिबेलाको माओवादी लिन तयार छ । कमरेड प्रचण्ड लिन तयार हुनुहुन्छ ।’
सांसद भुसालले २०४८ साल देखिको मुलुकको आर्थिक अवस्थाको फेयरिस्त प्रस्तुत गर्दे नेपाली काँग्रेसले लिएको नीजिकरणलाई तत्कालीन कम्युनिष्ट पार्टीले पनि सहयोग गरेको तथा २०५० सालमा एक बर्षको अवधिमा ९० हजारको रोजगारी श्रृजना भएको दाबी गर्नुभएको थियो । सोही क्रममम उनले तात्कालीन माओवादी द्धन्द्धका कारण युवाहरु विदेशिन बाध्य भएको उहाँको दाबी थिाये ।
प्रगतिशील उत्पादक शक्तिको विकास गरि समाजवाद उन्मुख अर्थतन्त्रमा पुग्ने वहस नै अहिलेको वहसको विषय भएको भन्दै सांसद शर्माले प्रगतिशील उत्पादक शक्तिको विकास गर्दै उत्पादनको साधन र स्रोतमा जनताको सहभागिता विस्तारमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले बजेटले समृद्ध मुलुक बनाउने सरकारको नारालाई आत्मसात गरेको, राष्ट्रिय पूँजी निर्माण लगायत विषयहरुमा प्राथमिकता दिएको पनि बताउनुभयो । गतबर्ष हराएको कर्णाली अहिलेको बजेटमा सम्बोधन भएकोमा उहाँले अर्थमन्त्रीलाइृ धन्यवाद पनि दिनुभयो ।
उहाँले ञजेटमा संघीयतको मर्म बोध नभएको ,कृषिमा आत्मनिर्भरका आयोजना प्रभावकारी हुन नसकेको, चालू खर्च बढ्दै जाने र पूँजीगत खर्च घट्दै जानु चिन्ताको विषय भएको, तलबबृद्धि प्रतिशतमा नभई एकमुष्ट तोकिनुपर्ने, बजेट खर्चका लागि ठोस विधि बनाउन नसकिएको टिप्पणी गर्नुभयो । विगतका सबै उद्योगलाई स्थापित गरि नयाँ उद्योग स्थापना बढाउनुपर्नेमा जोड दिंदै उहाँले अर्थमन्त्रीलाई प्रश्न गर्नुभयो– ‘हिजो बेचिएका उद्योगहरुलाई आज फिर्ता ल्याएर, हिजो लिलाम गरेका उद्योगहरुलाई आज फिर्ता लिएर फेरि जनतासहितको सरकारको सहभागितामा अगाडि बढाउने प्रष्ट नीति तथा कार्यक्रम खै ? किन त्यो गर्नुभएन ? विगतका अर्थमन्त्रीहरुले गरेका गल्तीहरुलाई तपाईहरुले किन सच्याउन चाहनुहुन्न् ?’


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।