• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शिक्षिकाको कुटाइबाट १४ विद्यार्थी घाइतेः शिक्षिकामाथि यस्तो हुनसक्छ कारवाही




रोल्पाको एक विद्यालयमा शिशिक्षाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् ।

दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी घाइते भएका हुन् । कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी घाइते भएका छन् । उनीहरुमध्ये पाँच जनाको दाङमा उपचार भइरहेको छ । घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोकाको हातमा गम्भीर चोट लागेको छ । उनीहरुको हातको आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लाष्टर गरिएको छ ।

उनीहरुको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको उपचारमा संकलगन चिकित्सक डा. घनश्याम शर्माले जानकारी दिनुभयो । घाइतेहरुको अनुहार पनिसुन्निएको छ । जोर्नीमा दबाब देखिएकाले सुधार आउन केही दिन लाग्ने डा. शर्माले बताउनुभयो ।

शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै लट्ठीले अन्धाधुन्ध हिर्काउँदा विद्यार्थी घाइते भएका थिए । आफूहरु लाइन लाग्दै गरेको बेला शिक्षिक पुनले अन्धाधुन्ध लट्ठी चलाउन शुरु गरेको बालिका भीमकुमारी बाँठाले बताउनुभयो । ‘हामी लाइन लाग्दै थियौं, मिसले किन ढिलो आयौ भनेर हामीमाथि अन्धाधुन्ध लट्ठी प्रहार गर्नुभयो । विद्यार्थी रोइकराइ गर्न थालेपछि हेर्न नसकेर अरु सर मिसहरु अफिसतर्फ दौडिनुभयो ।’

शिक्षिकाको कुटाइबाट सामान्य घाइते हुनेहरु प्रेम पुन, सन्तोष बुढामगर, दिपा बाँठा, वीरबहादुर घर्ती, अरुणा पुन, सुशिला विक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली घर्ती रहेका छन् । शिक्षिकाको कुटाईबाट कक्षा ३ मा पढ्ने नरबहादुर घर्तीको कानको जाली फुटेर सुन्न छोडेको विद्यार्थीहरुले बताएका छन् ।

घटना गएको जेठ १२ गते भए पनि वडा नम्बर ८ का अध्यक्ष भीमबहादुर घर्तीको रोहबारमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र गरेको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक मेघनाथ चापागाइले जानकारी दिनुभयो । विद्यार्थीको अवस्था गम्भीर बन्न थालेपछि झण्डै एक सातापछि दाङ उपचारमा ल्याइएको छ । दुखाईका कारण रातदिन सताउने र लेख्नपढ्न समेत नसकेपछि उपचारका लागि ल्याएको अभिभावक प्रताप घर्तीले बताउनुभयो ।

यस्तो हुनसक्छ शिक्षिकामाथि कारवाही
संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासन्धि १९८९ मा बालबालिकामाथि कुनै भेदभाव गर्न नपाइने उल्लेख छ। महासन्धिले बालबालिकामाथि हुने कुनै पनि खालका प्रताडना गर्न नपाइने उल्लेख गरेको सिविनका कार्यकारी निर्देशक सुम्निमा तुलाधर बताउनुहुन्छ।

दक्षिण एसियामा नेपालले पहिलोपटक बाल अधिकारका बारेमा कडा कानुन बनाएको पनि तुलाधर बताउनुहुन्छ। बालबालिकासम्बन्धी ऐनमा कुनै पनि बहानामा बालबालिकामाथि शारीरिक तथा मानसिक यातना दिनु दण्डनीय भएको उल्लेख गरेको पाइन्छ।

नेपालमा बालबालिकालाई अनुशासनमा ल्याउन चाहे बाबुआमा हुन् चाहे शिक्षकशिक्षिका हुन् सबैले बल प्रयोग गर्ने गरेको पाइएको छ।

कार्यकारी निर्देशक तुलाधरले भन्नुभयो– ‘यस्ता कार्यमा संलग्नमाथि कारवाही नगरेसम्म घटना दोहोरी रहन्छन्।’

बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका संयोजक तिलोतम पौडेलले बालबालिकामाथि हुने कुनै पनि हिंसालाई नेपालको कानुनले निषेध गरेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो बालबालिकामाथि हुने शारीरिक हिंसालाई निषेध गर्दै त्यस्ता अपराधमा संलग्न हुने जुनसुकै व्यक्तिलाई ५० हजारदेखि १ लाखसम्म जरिवाना र ५ वर्षसम्म कैदको व्यवस्था गरेको छ।
तस्विरः ओपेन्द्र बस्नेत

Facebook Comments