• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अष्ट्रियामा सगरमाथा दिवस, उपराष्ट्रपति मुख्य अतिथि




अष्ट्रियामा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को उपस्थितिमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ । भियनास्थित नेपाली राजदूतावासको आयोजनामा चारैतिर हिमालले घेरिएको इन्सब्रुक शहरमा स्थानीय समयअनुसार बुधबार राति विशेष समारोह गरेर सगरमाथा दिवस मनाइएको हो ।

समारोहलाई संबोधन गर्नुहुँदै उपराष्ट्रपति पुनले नेपालका हिमाल आरोहीहरु आफ्नो पाहुनामात्रै नभएर नेपाललाई संसारभर चिनाउने हिमाली दूतहरु भएको बताउनुभएको छ । उहाँले नेपालको हिमालहरुको देश भएको र पर्वतारोहण नेपालको पहिचान भएको बताउनुभयो ।

‘सगरमाथा सहित ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ शिखरमध्ये ८ वटा नेपालमै हुनुका कारण पर्वतारोहण नेपालको पहिचान पनि हो’, उपराष्ट्रपति पुनले भन्नुभयो, ‘त्यसैले सगरमाथा तथा हाम्रा अन्य हिमालहरु आरोहण गर्नुहुने विश्वभरका आरोहीहरुलाई हामीले केवल विदेशी पाहुनामात्र होइन नेपाललाई संसारभर चिनाउन सहयोग गर्ने हिमाली दूतहरुको रुपमा लिन्छौँ ।’

उहाँले अष्ट्रियाली आरोहीहरुले नेपाल र अष्ट्रियाबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न भूमिका खेलेको बताउनुभयो । विश्वको सर्वोच्च शिखर सगरमाथा र दुबै देशका उच्च पर्वतमालाहरु नेपाल र अष्ट्रियाबीच आत्मीयता तथा सुमधुर सम्बन्ध विकास गर्ने प्रमुख कडी भएको उहाँको भनाई छ ।

‘अष्ट्रियाको समाजमा सगरमाथा आरोहीहरुको विशेष सम्मान तथा ख्याति रहेको थाहा पाउँदा मलाई निकै खुसी लागेको छ’, उहाँले भन्नुभयो, ‘सगरमाथा आरोहण गरी ख्याति प्राप्त गर्नुभएका अष्ट्रियाली आरोहीहरुले नेपाल र अष्ट्रियाबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।’

उपराष्ट्रपति पुनले नेपाल‘समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित सहित समृद्धिको मार्गमा अगाडि बढिरहेको बताउँदै नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको योगदानलाई वृद्धि गर्दै नेपालको पहिचानलाई विश्वमाझ अझै फैलाउनका नेपालले भ्रमण वर्ष सन् २०२० मनाउन लागेको जानकारी दिंदै नेपाल भ्रमणका लागि अष्ट्रियाली नागरिकलाई अपील गर्नुभयो ।

‘हिमाल आरोहण र पदयात्रामात्र नभई विभिन्न खालका साहसिक खेलकुदहरु, वन्यजन्तु तथा पर्यावरणीय पर्यटनका साथै सम्पदा र संस्कृतिमा रुची राख्नेहरुका लागि समेत नेपाल विश्वमै उत्कृष्ट गन्तव्यको रुपमा रहेको छ’, उहाँले भन्नुभयो, ‘अतः प्रकृति र संस्कृतिसँग एकसाथ साक्षात्कार गर्नका लागि नेपालको भ्रमण गर्न यहाँहरु सबैलाई म आग्रह गर्न चाहन्छु ।’

उपराष्ट्रपति पुनले ६० वर्ष पुग्न लागेको नेपाल र अष्ट्रियाबीचको कूटनीतिक सम्बन्ध र सगरमाथा र सम्पदाका कारण जोडिएको जनस्तरको सम्बन्ध आगामी दिनमा अझै समुधुर हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अष्ट्रियाका राष्ट्रपति अलेक्जान्डर भान देर बेलेनले अग्रसरता लिनुभएको जलवायु सम्बन्धी शिखर सम्मेलनमा नेपाललाई पनि जोडिने अवसर मिलेको बताउनुभयो ।

उहाँले वातावरण तथा जलवायू परिवर्तनका कुरा गर्दा हाम्रा हिमाल तथा पर्वतमाला माथि परेको प्रतिकूल पर्यावरणीय असरलाई पनि बिर्सन नहुने बताउनुभयो ।

अष्ट्रियाली नागरिकले सगरमाथा आरोहण गरेको ४० वर्ष पूरा
भूपरिवेष्ठित मुलुक अष्ट्रियाका धेरै नागरिकले सगरमाथा लगायत नेपालका हिमालहरु आरोहण गरेका छन् । अष्ट्रियाली पर्वतारोहीले पहिलो पटक सगरमाथा आरोहण गरेको समेत ४० वर्ष पुगेको छ ।

टिरोल प्रान्तको शहरमा आयोजित कार्यक्रममा सगरमाथाको कीर्तिमानी आरोहणका नेता उल्फगाङ्ग नायर्ज लगायत सगरमाथा आरोहीहरु र नेपाली समुदाय तथा अष्ट्रियाली नागरिक गरी करिब पाँच सय जनाको उपस्थिति थियो । नेपाली राजदूतावासबाट आयोजित कार्यक्रममा नेपालका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुवेदीले अष्ट्रियालीले नेपाललाई अत्यन्त माया गर्ने गरेको भन्दै नेपालको भ्रमण वर्ष २०२० मा बढी भन्दा बढी नेपालको भ्रमण गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पर्यटन वोर्डका वरिष्ठ निर्देशक आदित्य बरालले नेपालको पर्यटन गन्तव्य र सम्भावनाका बारेमा जानकारी गराउनु हुँदै नेपाल घुम्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पहिलो पटक अक्सिजन विना सगरमाथाको आरोहण गर्ने पेटेर हेबेलर, सगरमाथाको किर्तिमानी आरोही उल्फगाङ नायर्ज र अर्का सगरमाथा आरोही जोसेफ इन्वाल्नेरले आफ्नो अनुभूति राख्दै अष्ट्रियाली नागरिकलाई नेपाल भ्रमण गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सगमाराथा आरोही हष्ट्रियालीहरुलाई नेपालको तर्फबाट उपराष्ट्रपति पुन र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सम्मान गर्नुभयो ।

Facebook Comments