• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुख्यमन्त्रीको प्रश्न– अरुको शुद्धिकरण खोज्ने मिडियाको शुद्धिकरण हुनु पर्दैन ?




प्रदेश ५ का मुख्यमन्त्री शंकर पोेख्रेलले अरु क्षेत्रको शुद्धिकरण लागि आवाज उठाउने मिडिया स्वयं भने शुद्धिकरणको बहसमा डराउने गरेको आरोप लगाउनुभएको छ ।

दाङको घोराहीमा रहेको रेडियो मध्यपश्चिमको १३ औं स्थापना दिवसलाई सम्वोधन गर्दै उहाँले मिडियाको नियमन र शुद्धिकरण जरुरी रहेको बताउनुभयो । कार्यक्रमका सहभागीले मिडिया काउन्सिल बिधेयकको बिरोध गरेपछि उहाँले यस्ताधारणा राख्नुभएको हो ।

‘विधेयकका बिषयमा त बहस गर्न सकिएला तर मिडियामाथि नियमन हुनु हुँदैन भन्ने कुरा सही छैन’– उहाँले भन्नुभयो– ‘मिडियामा भाइरस पसेको छ, यसलाई हटाउन कानून जरुरी छ ।’

राजनीतिक क्षेत्रमा शुद्धिकरण हुनुपर्छ भन्ने माग राख्ने मिडियाले आफूभित्रको शुद्धिकरण हटाउन तयार नहुनु बिडम्बना भएको पनि उहाँले बताउनुभयो । ‘मिडिया काउन्सिलमा मिडियाकै मान्छे राख्ने हो, बाहिरबाट ल्याउने होइन तर मिडियाहरुलाई आफ्नै मान्छेप्रति यति डर किन ?’– उहाँले प्रश्न गर्नुभयो । मुलुकले समाजवादउन्मुख अर्थनीति अंगिकार गरेकाले अब नेपाल मिडियाले पनि कुन बाटो लिने भनेर बहस हुनु अस्वाभाविक नभएको उहाँले बताउनुभयो ।

राजनीतिक क्षेत्रको नियमन अख्तियार, अदालतलगायतले गर्ने गरेको र अदालतकै पनि नियमन गर्न न्यायपरिषद् रहने गरेको औल्याउँदै उहाँले मिडियाको नियमनका लागि नै प्रेस काउन्सिलको जरुरत भएको बताउनुभयो ।

भारतमै पनि राष्ट्रियताको मुद्दामा मिडियाले एकताबद्ध गराउने गरेको औल्याउँदै उहाँले नेपालमा भने त्यस्तो नभएकाले अब मिडिया अधिकारमा मात्र होइन कर्तव्यमा पनि एक ठाउँमा आउनुपर्ने बताउनुभयो ।

रेडियो मध्यपश्चिमका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्मा, प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीलगायतले बोल्नुभएको थियो ।

Facebook Comments